यी हुन् चितवनमा काँग्रेस र एमालेले सिफारिस गरेका उम्मेदवारहरु

यी हुन् चितवनमा काँग्रेस र एमालेले सिफारिस गरेका उम्मेदवारहरु

काठमाडौं, असोज २० ।  मंसीर महिनामा हुने प्रतिनिधासभा र प्रदेशसभाका लागि चितवनबाट राजनीतिक दलहरुले धमाधम उम्मेदवारको नाम सिफारिस गरेका छन् ।

नेपाली काँग्रेस, एमालेले नाम सिफारिस गरेको छ । माओवादी केन्द्रले भने केन्द्रमा केही दिनमा वस्ने पोलिटव्यूरो वैठकपछि मात्र नाम सार्वजनिक गर्ने जनाएको छ । ‘हाइ प्रोफाइल’ माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड चितवनको ३ नम्बर क्षेत्रबाट उठ्ने चर्चा र एमालेसँगको राष्ट्रिय समीकरणले चितवनको चुनावी सरगर्मी निकै तातेको छ ।

एमालेबाट को को शिफारिस ?

एमाले चितवनको विहीबार वसेको जिल्ला कमिटिको वैठकले प्रदेश र प्रतिनिधि सभाका लागि उम्मेदवारहरुको नाम प्रदेश कमिटिमा सिफारिस गरेको छ । आगामी प्रदेश सभाको निर्वाचनका लागि चितवनमा ६ वटा क्षेत्र र प्रतिनिधि सभाका लागि भने ३ वटा क्षेत्र निर्धारण गरिएको छ । जस अनुसार प्रतिनिधि सभा क्षेत्र नम्बर १ बाट पूर्व अर्थमन्त्री एवंम एमालेका नेता सुरेन्द्र पाण्डे सर्वसम्मत रुपमा सिफारिस भएका छन् ।

यसै क्षेत्र अन्तर्गत प्रदेश सभा क्षेत्र (क) बाट दावा दोर्जे लामा र डा. कृष्ण पन्तको नाम सिफारिस भएको छ । प्र्रदेश सभा क्षेत्र (ख) बाट भने पार्टीका वैकल्पिक केन्द्रीय सदस्य कृष्ण खनाल सर्वसम्मत सिफारिस भएका छन् । हालै सम्पन्न स्थानीय निकायको चुनावमा आफ्नो क्षेत्रका स्थानीय तहहरुमा प्रमुख र उपप्रमुख पदहरुमा सवै उम्मेदवार विजयी गराउन नेता पाण्डे र खनाल सफल भएका थिए । क्षेत्र १ लाई एमालेको बलियो क्षेत्रको रुपमा लिइन्छ । दोस्रो संविधानसभा निर्वाचनमा पनि यसै क्षेत्रबाट नेता पाण्डे विजयी भएका थिए ।

त्यस्तै प्रतिनिधिसभा २ नम्बरबाट पार्टी अध्यक्ष एवम् साँसद कृष्णभक्त पोखरेलको नाम सर्वसम्मत भएको छ । यस क्षेत्रको प्रदेश सभा (क)बाट पार्टीका पूर्व सचिव समेत रहेका विजय सुवेदी र (ख) बाट हालका पार्टी उपाध्यक्ष तेजेन्द्र खड्का सर्वसम्मत सिफारिसमा परेका छन् । प्रदेश २ मा यस अघिको संविधान सभा क्षेत्र नम्बर ३ को अधिकाश भाग पर्छ । जहाँबाट अध्यक्ष पोखरेल भारी मतका साथ विजयी भएका थिए ।

प्रतिनिधिसभा ३ नम्बर क्षेत्रबाट भने सर्वसम्मत हुन नसकेको पार्टीका प्रचार विभाग प्रमुख खोमकान्त रेग्मीले बताए । यस क्षेत्रमा युवा नेता घनश्याम भट्टराई, शंकर थपलिया, सूर्यप्रसाद जमरकट्टेल, रविकिरण पौडेल र विना तिमिल्सीनाको नाम सिफारिस भएको छ ।

यस क्षेत्रको प्रदेश चुनाव (क) बाट भने जिल्ला नेता कृष्ण भूर्तेलको नाम सर्वसम्मत भएको प्रचार विभाग प्रमुख रेग्मीले बताए । (ख)बाट रामप्रसाद न्यौपाने, श्रीमान थिङ, श्याम विष्ट, लिलाधर आचार्य, प्रकाश ढुंगाना, सुदिप रेग्मी, विजय घले, प्रेमराज तिमिल्सीना, शान्तराज आचार्य र कल्पना सापकोटाको नाम सिफारिस भएको छ । त्यस्तै पार्टीले केशवलाल श्रेष्ठ, जेएन थपलियालगायतका नेताहरुको नाम भने समानुपातिकतर्फ सिफारिस गरेको छ ।

कांग्रेसबाट को को ?

प्रदेश र संघको निर्वाचनका लागि काग्रेस चितवनले प्रत्यक्ष र समानुपातिक गरि २७७ जनाको नाम काग्रेस चितवनले केन्द्रीय समितिलाई सिफारिस गरेको हो ।
नगर र क्षेत्रवाट आएका सिफारिसलाई आफ्नो राय सहित काग्रेसले केन्द्रमा सिफारिस गरेको काग्रेस चितवनका सभापति जीतनारायण श्रेष्ठले जानकारी दिए । उनी प्रतिनिधिसभा २ को प्रदेश सभा (क) बाट सफारिसमा परेका छन् । काँग्रेस केन्द्रीय समितिले भने जिल्लाबाट ५४ जनाको नाम मात्रै सिफारिस गर्न निर्देशन दिएको थियो ।

प्रतिनिधिसभा क्षेत्र २ मा क्षेत्रमा शिक्षा राज्यमन्त्री शेषनाथ अधिकारी प्रत्यक्ष तर्फ सिफारिसमा परेका छन् । अधिकारीसगै काग्रेसले अन्य ७ जनाको प्रत्यक्ष तर्फ र १० जनाको समानुपातिक तर्फ उमेदवारका लागि सिफारिस गरेको छ । यो क्षेत्रवाट प्रदेश सभाका लागि १७ जना प्रत्यक्ष र ५० जना समानुपातिक तर्फका उमेदवारको नाम सिफारिस भएको हो ।

क्षेत्र नम्वर ३ मा हालका संसद रामकृष्ण घिमिरे, अन्जनी श्रेष्ठ र उमेश श्रेष्ठ यो क्षेत्रमा टिकटका लागि सिफारिसमा परेका छन् । सगै अन्य २१ जनाको नाम पनि यो क्षेत्रवाट सिफारिसमा परेको छ ।

यो क्षेत्र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड चुनाव लड्ने घोषणाले पनि काग्रेसका लागि अलिवढी पेचिलो वनेको छ । यो क्षेत्रको प्रदेश तर्फ भने क मा १३ जना प्रत्यक्षमा र ३५ जना समानुपातिकमा, ख बाट प्रत्यक्षमा ७ जना र समानुपातिकमा २८ जनाको नाम सिफारिसमा परेको छ ।

एमालेको पकट क्षेत्रका रुपमा रहेको चितवन क्षेत्र नम्मर १ मा कांग्रेसले ५ जना प्रत्यक्ष र ८ जना समानुपातिक उमेदवारको नाम सिफारिस गरेको छ । यो क्षेत्रको प्रदेश सभा तर्फ क बाट प्रत्यक्षमा ७ जना, समानुपातिकमा ११ जना, ख बाट ३१ जना प्रत्यक्ष र २८ जनाको नाम समानुपातिकमा काग्रेसले सिफारिस गरेको छ ।

प्रचण्डकै कारण चितवन ‘हट’

माओवादी केन्द्रबाट पार्टीका अध्यक्ष चितवन क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभामा चुनाव लड्ने विषयले निकै चर्चा पाएको छ । अध्यक्ष प्रचण्डले चितवनको ३ नम्बर क्षेत्रबाटै आफ्नो उम्मेदवारी रहने बताइसकेका छन् । यसबीचमा प्रचण्ड बारम्बार चितवन आएका छन् । संघ र प्रदेशको चुनाव तयारी अनुसार भरतपुर महानगरपालिकाको मेयरमा छोरी रेणुलाई उनले अघि सारेका थिए ।

संविधानसभाको निर्वाचन क्षेत्र ४ मा पर्ने यस भूगोलमा दोस्रो संविधानसभामा तत्कालिन काँग्रेस सभापति सुशिल कोइराला चुनावमा उठेका थिए । दुइ क्षेत्र जितेका कोइरालाले चितवन छाडेका थिए । यसअघिका दुइ चुनवामा कहिलो रोल्पा, काठमाडौं त कहिले सिरहाबाट उठेका प्रचण्ड यसपटक गृह जिल्ला चितवनबाट उठ्ने पक्का भएको छ ।

उनको क्षेत्रमा माडी नगरपालिका पनि पर्छ । सशस्त्र युद्धको समयमा भएको बाँदरमुढे घटना यसै क्षेत्रमा पर्छ । माडी नगरमा स्थानीय चुनावमा प्रमुखमा माओवादीका उम्मेदवार विजयी भएका थिए । एमालेसँग मिलेर चुनाव लड्ने भएकाले उम्मेदवारको विषयमा नाम सर्वसम्मत भएपनि हाल सार्वजनिक गर्न नमिल्ने माओवादी केन्द्रका जिल्ला इन्चार्ज ईश्वरी भट्टराइले बताए ।

कुन क्षेत्र कहाँ पर्छ ?

प्रतिनिधि सभाको निर्वाचनका लागि चितवनमा क्षेत्र नम्बर १ अन्तरगत हालको राप्ती, खैरहनी र रत्ननगर नगरपालिका तोकिएको छ । प्रदेश सभामा भने क्षेत्र नम्बर (क) मा राप्ती नपा र खैरहनी नपाको वडा नम्बर ३, ६, ७, ८, ९, १० र ११ तोकिएको छ । प्रदेश सभा अन्तरर्गत क्षेत्र ख) मा खैरहनी नपाको वडा नम्बर १, २, ४, ५, १२ र १३ तथा सिंगो रत्ननगर नगरपालिका तोकिएको छ ।

प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर २ अन्तर्गत कालिका नपा, इच्छाकामना गाउँपालिका र भरतपुर महानगरको वडा नम्बर १ , २, ३, ५, ७, १०, ११, १२ र २९ तोकिएको छ । यस क्षेत्र अन्तर्गत प्रदेश सभाको निर्वाचन क्षेत्र नम्बर (क) मा कालिका नपा, इच्छाकामना गापा र भरतपुर महानगरको वडा नम्बर १, ३ र २९ रहेका छन् ।

यस क्षेत्रको प्रदेश क्षेत्र नम्बर (ख) मा भरतपुर महानगरपालिकाको २, ४, ५, ७, १०, ११ र १२ वडा रहेका छन् । प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर ३ अन्तरगत भरतपुर महानगरपालिका वडा नम्बर ६, ८, ९, १३, १४, १५, १६, १७, १८, १९, २०, २१, २२, २३ , २४, २५, २६, २७, २८ वडा र माडी नगरपालिका सिंगो रहेको छ । यस निर्वाचन क्षेत्रको प्रदेश सभा क्षेत्र (क) मा भरतपुर महानगरपालिका वडा नम्बर ६, ८, ९, १५, १६, १७, १८, १९, २०, २६, २७ र २८ नम्बर वडा रहेका छन् । क्षेत्र (ख) मा भरतपुर महानगरको १३, १४, २१, २२, २३, २४ र २५ वडा तथा सिंगो माडी नगरपालिका रहेका छन् । -नयाँ पत्रिकाबाट

अखिल क्रान्तिकारीको बन्दसत्र सुरु

काठमाडौं । नेकपा माओवादी केन्द्रको विद्यार्थी संगठन अखिल क्रान्तिकारीको बन्दसत्र सुरु भएको छ ।  विहान ८ बजेदेखि बन्दसत्र सुरु गर्ने कार्यतालिका निर्धारण गरेको भए पनि प्रतिनिधि टुंगो लाग्न समय लागेको र झरीका कारण साँझ पौने ५ बजे मात्रै बन्दसत्र सुरु भएको हो । बन्दसत्रले अध्यक्ष पञ्चा सिंह नेतृत्वको कार्यसमिति भंग गरी अध्यक्षता मण्डल गठन गरेको छ । बन्दसत्रमा राजनीतिक र सांगठनिक प्रतिवेदन प्रस्तुत गरिएको छ। अब बन्दसत्रको सबै काम बीरबहादुर थापाको अध्यक्षतामा रहेको ७ सदस्यीय अध्यक्ष मण्डलले गर्नेछ भने विधान र प्रतिवेदन पारित भएपछि निर्वाचन समितिले नेतृत्व चयनको प्रक्रिया सुरु गर्ने छ । नेतृत्व सहमतिबाट चयन गर्न पार्टी नेताहरुले प्रयास जारी राखेका छन्, सहमति नभएको खण्डमा प्रत्यक्ष निर्वाचनबाट नै सम्पूर्ण पदाधिकारी र केन्द्रीय सदस्यहरु निर्वाचित हुनेछन् ।   नेतृत्व चयनका लागि पार्टीको केन्द्रीय निर्वाचन आयोगले अधिवक्ता मुक्ति प्रधानको संयोजकत्वमा निर्वाचन समिति खटाएको छ । सम्मेलनमा दुई हजार तीन सय २३ प्रतिनिधिले मतदान गर्नेछन् । प्रतिनिधिहरुले ३३ सदस्यीय पदाधिकारी र २४३ सदस्यीय केन्द्रीय समिति चयन गर्नेछन् । पदाधिकारीमा खुल्लाबाट एक अध्यक्ष, खुल्ला ४, समावेशी ५ सहित ९ जना उपाध्यक्ष, खुल्लाबाट १ महासचिव, ९ उपमहासचिव, १२ सचिव र १ कोषाध्यक्ष रहनेछन् । एकता प्रक्रिया, राष्ट्रिय सम्मेलन आयोजक समिति वा अन्य कुनै विशेष अवस्थामा केन्द्रीय समितिको संख्या थपघट गर्न सकिने प्रस्ताव गरिएको छ । केन्द्रीय कमिटीको एक तिहाइ नबढ्ने गरी ४८ सदस्यीय केन्द्रीय सचिवालयको प्रस्ताव विधानमा गरिएको छ ।

पर्यटन आर्थिक रुपान्तरणको महत्वपूर्ण क्षेत्रः प्रचण्ड

काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालमा आर्थिक रुपान्तरणका लागि पर्यटन महत्वपूर्ण क्षेत्र भएको बताउनुभएको छ । आज परेको ४५औं विश्व पर्यटन दिवसको अवसरमा शुभकामना दिंदै उहाँले यस्तो बताउनुभएको हो । ‘नेपाल प्राकृतिक, सांस्कृतिक र साहसिक सबैखाले पर्यटनका दृष्टिले आकर्षक गन्तव्य हो। पछिल्ला वर्षहरुमा बाह्य पर्यटकको संख्या बढिरहेको छ भने आन्तरिक रुपमा पनि पर्यटन संस्कृति वृद्धि भएको छ’– उहाँले भन्नुभयो– ‘मेरो नेतृत्वको सरकारले पर्यटन क्षेत्रको पुरुत्थानका लागि लिएको नीति, कार्यक्रम र प्रयासको परिणामस्वरुप गत वर्ष सन् २०२३ मा लक्ष्यभन्दा बढी १० लाख १४ हजार पर्यटन भित्रिएका थिए र सन् २०२४ को आठ महिनामै ७ लाख २२ हजार पर्यटक भित्रिएको सुन्दा खुशी लागेको छ।’ चालु आर्थिक वर्षको बजेटका पाँच प्राथमिकताभित्र पर्यटन प्रवर्धनलाई महत्वपूर्ण क्षेत्रको रुपमा राखिएको उल्लेख गर्दै उहाँले यसको कार्यान्वयनमार्फत पर्यटन प्रवर्धनमा उल्लेख्य सुधार आउने र अर्थतन्त्रलाई सबल बनाउन थप योगदान पुग्ने विश्वास व्यक्त गर्नुभएको छ ।

शान्ति प्रक्रियासम्बन्धी बाँकी काम चाँडो पूरा गर्न नेपाल प्रतिबद्ध: प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा आलीले शान्ति प्रक्रियासँग सम्बन्धित बाँकी काम चाँडोभन्दा चाँडो पूरा गर्न नेपाल प्रतिबद्ध रहेको बताउनुभएको छ । संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभालाई सम्बोधन गर्दै उहाँले विसं २०६३ मा बृहत् शान्ति सम्झौतामा हस्ताक्षर भएदेखि नेपाल शान्ति प्रक्रियालाई चाँडो पूरा गर्न दृढ रहेको बताउनुभयो । सङ्घर्षबाट उदाएको राष्ट्रको रूपमा नेपालले शान्ति र राजनीतिक स्थायित्वको महत्व बुझेको बताउँदै उहाँले आफ्नो नेतृत्वमा वर्तमान सरकार गठन भएपछि संसद्ले सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयक पारित गरिसकेको जानकारी दिनुभयो । सङ्क्रमणकालीन न्यायसम्बन्धी सबै मुद्दालाई सधैँका लागि समाधान गर्न आफू प्रतिबद्ध रहेको स्पष्ट गर्दै प्रधानमन्त्री ओलीले भन्नुभयो– ‘हामी कानुन कार्यान्वयन गर्दा सत्य र न्यायसहित पीडितहरूको अधिकारको रक्षालाई प्राथमिकता दिनेछौँ। द्वन्द्वकालका पीडामा मल्हम लगाउने प्रयासस्वरुप क्षतिपूर्ति उपलब्ध गराउनका साथै मेलमिलापमा जोड दिनेछौँ।’ उहाँले नेपालको शान्ति प्रक्रियालाई निष्कर्षमा पुर्याउन संयुक्त राष्ट्रसङ्घसहित अन्तर्राष्ट्रिय समुदायले गरेको सहयोगको प्रशंसा गर्नुभयो ।

देशब्यापी भारी वर्षा सुरु, आज र भोलि रात्री बस नचल्ने

काठमाडौं । पूर्वीकेन्द्रित वर्षा देशभर फैलिएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार आइतबारसम्म देशभर सिमसिमदेखि भीषण वर्षाको सम्भावना छ । केही ठाउँमा त अत्यधिक वर्षाको चेतावनी दिइएको छ । मनसुनी वायु कायमै रहेका वेला बंगालको खाडीमा विकसित न्यून चापीय प्रणालीले देशभर वर्षा हुन थालेपछि सरकारले पहिरोको जोखिम रहेका क्षेत्रमा रात्रिबस चलाउन रोक लगाएको छ । गृह मन्त्रालयको मनसुन पूर्वतयारी तथा प्रतिकार्य कमाण्डले भीषण वर्षाको आकलन भइ रेडअलर्ट (उच्च जोखिम) जारी भएकामध्ये ४२ पहाडी र हिमाली जिल्लामा शुक्रबार र शनिबार रात्रिबस चलाउन रोक लगाएको हो । कोशीका धनकुटा, तेह्रथुम, खोटाङ, ओखलढुंगा, उदयपुर, भोजपुर, इलाम र पाँचथर तथा बागमतीका मकवानपुर, धादिङ, नुवाकोट, रसुवा, काठमाडौं, भक्तपुर, ललितपुर, काभ्रे, सिन्धुपाल्चोक, सिन्धुली र रामेछापमा दुई दिन रात्रिबस चल्न पाउने छैनन् । त्यस्तै, गण्डकीका म्याग्दी, बागलुङ, तनहुँ, स्याङ्जा, कास्की, पर्वत, लमजुङ, गोरखा र मनाङ तथा लुम्बिनीका रुकुम पूर्व, रोल्पा, गुल्मी, प्युठान, अर्घाखाँची, पाल्पा र दाङमा रात्रिबस गुडाउन रोक लगाइएको छ । कर्णालीका जाजरकोट, रुकुम पश्चिम, दैलेख, सुर्खेत र सल्यान तथा सुुदूरपश्चिमका डोटी र अछाममा पनि रात्रीबस चलाउन रोक लगाइएको छ । कोशीदेखि लुम्बिनीसम्मका धेरै स्थानमा वर्षा हुने, राति पश्चिममा पनि मौसम पूर्वानुमान महाशाखाका अनुसार आज शुक्रबार कोशीदेखि पश्चिममा लुम्बिनी प्रदेशका धेरै स्थानमा वर्षा हुनेछ । त्यहाँदेखि पश्चिमी क्षेत्रमा भने केही स्थानमा वर्षाको सम्भावना छ । कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनीका केही तथा सुदूरपश्चिम र  कर्णालीका थोरै स्थानमा भने भीषण वर्षाको चेतावनी दिइएको छ । कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा भने अत्यधिक वर्षाको आकलन छ । तराई हावाहुरी चल्नेछ ।  शुक्रबार राति भने  बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिमका धेरै स्थानमा वर्षाको सम्भावना छ । बाँकी प्रदेशका केही स्थान पानी पर्ने देखिएको छ । बागमती, गण्डकी, लुम्बिनी प्रदेशका केही तथा बाँकी प्रदेशका थोरै स्थानमा भीषण तथा बागमती, गण्डकी, र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा  अत्यधिक वर्षाको पनि सम्भावना छ । शनिबार भने बागमतीदेखि पश्चिममा लुम्बिनी (मधेशबाहेक) का धेरै क्षेत्रमा वर्षाको सम्भावना  छ । तर, बाँकी प्रदेशका भने केही स्थानमा वर्षा हुनेछ । बागमती, गण्डकी र लुम्बिनीका केही तथा बाँकी प्रदेशका एक–दुई स्थानमा भीषण तथा  गण्डकी र लुम्बिनीका एक–दुई स्थानमा अत्यधिक वर्षाको पनि चेतावनी दिइएको छ । राति गण्डकी र लुम्बिनीका धेरै स्थानमा पानी पर्ने देखिन्छ ।  

लोकप्रिय