राम कार्की भन्छन्- विश्वप्रकाश खाली झापाका हुन्

राम कार्की भन्छन्- विश्वप्रकाश खाली झापाका हुन्

काठमाडौं, कात्तिक १९ । झापा क्षेत्र नम्बर १ मा हुने दुई ‘बौद्धिक’ नेताबीचको प्रतिस्पर्धालाई विशेष चासोका साथ हेरिएको छ । कांग्रेसका युवा नेता विश्वप्रकाश शर्मा र वाम गठबन्धनबाट माओवादी नेता राम कार्कीबीच झापा १ मा प्रतिस्पर्धा हुने भएपछि यो क्षेत्र अहिले चर्चामा छ ।

राजनीतिक वृत्तमा दुरदृष्टि र बौद्धिक नेताका रुपमा परिचय भएका यी दुई नेताबीचको चुनावी भिडन्त अत्यन्त रोचक हुने अनुमान गरिएको छ ।

केही दिनअघि पूर्वसञ्चारमन्त्री कार्की झापा २ मा उठ्ने चर्चा चलेको थियो । तर, पछि फेरि उनी झापा १ बाट उठे ।

शर्माले पनि झापा ५ मा एमाले अध्यक्ष केपी ओलीसँग प्रतिस्पर्धा गर्ने बताइएको थियो । तर, कांग्रेसले त्यहाँ डा खगेन्द्र अधिकारीलाई उठायो र विश्वप्रकाशलाई क्षेत्र नम्बर १ मा पठायो ।

स्थानीय चुनावको अंकगणितमा कांग्रेस पछाडि
झापा क्षेत्र नं. १ मा मेचीनगर नगरपालिकासहित भद्रपुरको वडा नं. ९, १० र बुद्धशान्ति गाउँपालिकाको वडा नं. ४, ५, ६ र ८ पर्छ । यहाँको जम्मा मतदाता सङ्ख्या १ लाख ९ हजार ६ सय ७६ छ ।

स्थानीय तहको निर्वाचनको मत परिणामलाई आधार मान्दा यहाँ नेपाली कांग्रेसको २५ हजार ५ सय १ मत छ भने एमालेको २५ हजार ६३ मत छ । त्यसैगरी माओवादी केन्द्रको ९ हजार ८ सय ८८ मत छ ।

यो मतलाई आधार मान्ने हो भने झापा(१ मा बाम गठबन्धनको ३४ हजार ९ सय ५१ मत पुग्छ । राप्रपाको १ हजार ३ सय ३३ र संघीय समाजवादी फोरमको ४ सय ७० मत छ ।

यो परिणामलाई आधार मान्दा यहाँ वाम गठबन्धन ९ हजार ४ सय ५० मतले कांग्रेसभन्दा अगाडि छ ।

विश्वप्रकाशः ‘टुरिष्ट’देखि लोकलसम्म
कांग्रेस नेता विश्वप्रकाश शर्मा युवा पुस्तामाझ लोकप्रिय छन् । नेता शर्मा धुलाबारीका स्थायी बासिन्दा हुन् ।

उनी ०७० सालको निर्वाचनमा एमालेका उम्मेदवार रविन कोइरालासँग ६ सय ८९ मतान्तरले पराजित भएका थिए ।

‘त्यतिवेला कांग्रेस र राप्रपाको मात्रै १ हजार १ सय ४४ मत बदर भएको थियो’, उनले भने, ‘प्राविधिक रुपमा मात्र मेरो पराजय हो ।’

त्यसवेला विश्वप्रकाशलाई अधिकत्तर समय काठमाडौं बसेको भन्दै स्थानीयले ‘टुरिष्ट’ उम्मेदवारको संज्ञा दिएका थिए । त्यसपछि उनले जिल्लामा आफ्नो सक्रियतालाई बढाए । र, गाउँमा विकासका गतिविधिहरुलाई अघि बढाए ।

यद्यपि, ०७० सालमा कांग्रेस नेता शर्मालाई भिराइएको ‘टुरिष्ट’ उम्मेदवारको उपमा अहिले स्थानीयले माओवादी उम्मेदवार कार्कीलाई भिराउने सम्भावना छ ।

झापासँग भावनात्मकरुपमा जोडिएको छुः कार्की
वाम गठबन्धनबाट उम्मेदवार बनेका सुरेन्द्र कार्की अर्थात राम कार्की ०७० सालमा समानुपातिकतर्फबाट संसदमा निर्वाचित भएका थिए । त्यसअघि उनी ०६४ सालको निर्वाचनमा ताप्लेजुङ क्षेत्र नं. १ बाट पराजित भएका थिए ।

ओखलढुंगा पुख्र्यौली थलो भएका कार्की भूमिगतकालमा झापामा बसेका थिए । त्यसयता पनि उनको झापा आगमन बाक्लै भइरह्यो ।

‘म लामो समयसम्म पार्टीको मेची अञ्चल इञ्चार्ज भएर रहेँ । जनयुद्धअघि पनि र पछि पनि’, कार्कीले भने, ‘मन्त्री हुनुअघिसम्म पनि म प्रदेश नं. १ को इञ्चार्ज थिएँ ।’

आफूले विवाह गरेर श्रीमती भित्र्याएको ठाउँ पनि झापाको मागुरमाणि भएको भन्दै झापासँग भावनात्मक सम्बन्ध रहेको माओवादी नेता कार्कीले बताए ।

त्यतिबेला आफ्नो मुख्य केन्द्र झापा नै रहेको कार्की बताउँछन् । बुद्धशान्ति गाउँपालिकाको बुधबारेमा कार्कीको अचल सम्पत्तिसमेत छ ।

जित सुनिश्चित भएको आ–आफ्नै दाबी
स्थानीय चुनावको अङ्कगणित र वाम गठबन्धनपछि जनतामा आएको उत्साहले कार्कीको जित निश्चित भएको माओवादी नेताहरु बताउँछन् ।

युवामाझ लोकप्रिय भएकाले विश्वप्रकाशले जित्ने कांग्रेस कार्यकर्ताको दाबी छ । कांग्रेसका नेताहरु झापा १ मा आफूहरुको जीत सहज भएको दाबी गर्छन् ।

मेचीनगर र बुद्धशान्ति गाउँपालिकामा कांग्रेस उम्मेदवार विजयी हुनले पनि आफ्नो पक्षमा लहर सिर्जना गरेको विश्वप्रकाशको दाबी छ ।

‘मेचीनगरमा हाम्रा उम्मेदवार विमल आचार्य र बुद्धशान्तिमा रमेश भुजेलले जित्नुभएको छ’, शर्मा भन्छन्, ‘यो कुनै न कुनै रुपमा विश्वप्रकाश शर्माको जितको आधार नै हो ।’

झापा १ मा साना दलहरुलाई आफ्नो पक्षमा पारेर वाम गठबन्धनलाई उछिन्ने दाउ पनि कांग्रेसको छ ।

घोषितरुपमा नभए पनि संघीय समाजवादी फोरम, लिम्बुवान, राप्रपा प्रजातान्त्रिक लगायतका साना दलले पनि आफूहरुलाई समर्थन गर्ने कांग्रेस नेताहरुको दाबी छ ।

माओवादी केन्द्रबाट प्रतिनिधिसभामा मेची अञ्चलमै आफू एकमात्रै उम्मेदवार भएकाले एमाले कार्यकर्ताका लागि पनि नैतिक परीक्षाको घडी भएको राम कार्कीले बताए ।

स्थानीय चुनावको परिणामका साथै झापा जिल्ला वामपन्थीहरुको किल्ला भएकाले पनि आफ्नो जित निश्चित भएको कार्कीले बताए ।

नेपाली कांग्रेसभित्र विश्वप्रकाश शर्माको परीक्षा हुन बाँकी नै रहेको कार्कीले बताए । ‘पद नपाएको हुनाले उहाँको परीक्षा हुन बाँकी छ’, कार्कीले भने, ‘पार्टीमा पाएको पद पनि सदुपयोग भएको छैन ।’

‘पार्टीभित्र जतिबेला ५० लाख रुपैयाँ एकैचोटि दिने कुरामा होस्, चाहे नीतिमा गडबडी गर्दा होस्, सन्धी सम्झौतामा गर्दा होस्, वा कलकारखानाहरु जिम्मा लगाउँदा होस् या उद्योग धन्दा चौपट गर्दा होस् कतै उनले बोलेको सुनिँदैन’, कार्कीले विश्वप्रकाशको आलोचना गर्दै भने, ‘कांग्रेसलाई प्रजातान्त्रिक समाजवादको धारमा लैजाने भन्ने नै देख्दिनँ म, त्यसैले उनी खाली झापाका हुन् ।’ अनलाइनखबरबाट

बाढी पहिरो अपडेटः मृतकको संख्या १०० पुग्यो, ६५ जना बेपत्ता

काडमाडौं । बाढी पहिरोबाट मृत्यु हुनेको संख्या १०० पुगेको छ। पछिल्लो प्रकोपबाट ४० जना घाइते छन् भने ६५ जना बेपत्ता रहेको गृह मन्त्रालयले जानकारी दिएको छ। मन्त्रालयका अनुसार सबैभन्दा बढी क्षति काठमाडौं उपत्यकामा भएको छ। काठमाडौं, भक्तपुर, ललितपुरमा गरी ४८ जनाको मृत्यु भएको छ। १५ जना घाइते छन्। बिहीबारदेखि परेको अविरल वर्षातका कारण काठमाडौं उपत्यकामा २१ जना बेपत्ता रहेको मन्त्रालयले जनाएको छ। बाढी पहिरोबाट कोशी प्रदेशमा  १३ जनाको मृत्यु, ३ घाइते र ९ जना बेपत्ता छन्। मधेसमा २ जनाको मृत्यु र १ जना बेपत्ता छन्। बागमतीमा ३७ जनाको मृत्यु, २२ घाइते र ३२ बेपत्ता छन्। गण्डकीमा मानवीय क्षति भएको छैन। लुम्बिनी प्रदेशमा दुई जना बेपत्ता छन्। बाढी, पहिरोबाट १९५ वटा घर पूर्ण क्षति भएका छन्। दुई हजार ९०५ जनाको सकुशल उद्धार गरिएको प्रहरीले जानकारी दिएको छ।

आज यी स्थानमा वर्षा हुने, भोलिदेखि मौसममा सुधार आउने

काठमाडौैं । देशभर आज मौसम आंशिकदेखि साधारणतया बदली रहने छ । आगामी २४ घण्टामा कोशी, मधेश, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानमा वर्षाको सम्भावना रहेको छ । जल तथा मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाका अनुसार बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । मधेश प्रदेशलगायत कोशी र लुम्बिनी प्रदेशको तराई क्षेत्रमा हुरीबतासको पनि सम्भावना रहेको भन्दै महाशाखाले सचेत गराएको छ । ती क्षेत्रमा हुनसक्ने गेग्रान बहाव, बाढी, पहिरो, सहरी तथा तराई क्षेत्रमा डुबानको जोखिम, ठूला तथा साना नदी नाला र खोलामा पानीको सतह बढ्ने जोखिम तथा भूक्षयजस्ता प्रकोपको जोखिम र क्षतिबाट बच्न समेत महाशाखाले सचेत गराएको छ । ती क्षेत्रमा नदी क्षेत्र आसपासका निर्माण कार्य, दैनिक जनजीवनलगायत कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा असर पर्ने सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको छ । महाशाखाका मौसमविद् रोजन लामिछानेले आज राति कोशी, मधेश र वाग्मती प्रदेशमा साधारणतया बदलीदेखि पूर्णतया बदली रहने जानकारी दिएका छन् । उनले बाँकी प्रदेशमा आंशिकदेखि साधारणतया बदली रहने बताए । महाशाखाको मौसम विश्लेषणअनुसार कोशी, मधेश, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानमा वर्षाको सम्भावना रहेको छ । यी पाँच प्रदेशका धेरै स्थानमा तथा बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । मौसमविद लामिछानेका अनुसार सोमबार पनि देशभर आंशिकदेखि साधारणतया बदली रहने छ । सोमबार बिहानदेखि दिउँसोसम्म हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ भने साँझदेखि वर्षा कम भएर जाने सम्भावना रहेको महाशाखाले जनाएको छ ।

अध्यक्ष प्रचण्डले आह्वान गरेको सर्वदीय बैठक स्थगित

काठमाडौं, १३ असोज । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा प्रतिनिधिसभामा प्रमुख प्रतिपक्षी दलका नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आह्वान गरेको सर्वदलीय बैठक स्थगित गरिएको छ ।  अध्यक्ष प्रचण्डले अविरल बर्षा, बाढी पहिरो र त्यसबाट उत्पन्न परिस्थितिबारे छलफल गर्न आज विहान १० बजे बस्ने गरी हिजो राति नै सर्वदलीय बैठकको आव्हान गर्नुभएको थियो । नेपाल सरकारले पहल लिन ढिलाइ गरेको अवस्थामा प्रमुख प्रतिपक्षी दलको नेताको हैसियतले अध्यक्ष प्रचण्डले  हिजो राति नै सर्वदलीय बैठक आह्वान गरेको तर अब सरकारले पनि सर्वदलीय बैठक बोलाएकाले छुट्टै बैठक गरिरहन आवश्यक नदेखेर स्थगित गरिएको प्रचण्डका स्वकीय सचिव रमेश मल्लले जानकारी दिनुभयो । 

अध्यक्ष प्रचण्डको आह्वानमा सर्वदलीय बैठक बस्दै

काठमाडौं, १३ असोज । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा प्रतिनिधिसभामा प्रमुख प्रतिपक्षी दलका नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सर्वदलीय बैठक आह्वान गर्नुभएको छ ।  अविरल बर्षा,बाढी पहिरो र त्यसबाट उत्पन्न परिस्थितिबारे छलफल गर्न सर्वदलीय बैठकको आव्हान गर्नुभएको हो । विहान १० बजे नेकपा माओवादी केन्द्र संसदीय दलको कार्यालय, सिंहदरबारमा बैठक बस्ने छ । यसअघि शनिबार माओवादी केन्द्रले विज्ञप्ति जारी गर्दै बाढी, पहिरो र डुबानमा परेका जनताको उद्धारमा जुट्न पार्टीपंक्ति, मोर्चा र आम नागरिकलाई अपिल गरेको थियो । 

लोकप्रिय