रोल्पामा शिक्षकले टिपी ट्यापको प्रयोग सिके

रोल्पामा शिक्षकले टिपी ट्यापको प्रयोग सिके

रोल्पा, वैशाख २० । पानीको अभाव भएको ठाउँमा साबुनपानीले हात धुनका लागि उपयोगी हुने टिपी ट्याप (तिर्तिरे धारो) प्रविधिबारे लिबाङमा शिक्षकलाई तीन दिनसम्म अभ्यास गराइएको छ ।

जिल्ला समन्वय समितिअन्तर्गत सञ्चालित पश्चिम नेपाल ग्रामीण खानेपानी तथा सरसफाइ परियोजनाको सहयोगमा लिबाङ स्रोत केन्द्रस्तरका प्राथमिक तहका शिक्षकका लागि आयोजना गरिएको पूर्ण सरसफाइ अभिमुखीकरण कार्यक्रममा शुक्रबारदेखि आइतबारसम्म सो अभ्यास गराइएको जिल्ला समन्वय समिति रोल्पाका सरसफाइ फोकल पर्सन दामोदरप्रसाद सुवेदीले आज जानकारी दिनुभयो ।

उहाँका अनुसार जिल्ला खुला दिसामुक्त भइसकेपछि पूर्ण सरसफाइ गतिविधि सञ्चालन गर्न जिल्लामा विभिन्न किसिमका कार्यक्रम आयोजना भइरहेका छन् । यसअन्तर्गत विभिन्न क्षेत्रमा अभिमुखीकरण, अध्ययन अवलोकन भ्रमण, बहस पैरवी, बैठक छलफललगायत क्रियाकलापअन्तर्गत पूर्ण सरसफाइमा विद्यालयको महत्वपूर्ण भूमिका हुने भएकाले शिक्षकका लागि अभिमुखीकरण कार्यक्रमको आयोजना गरिएको हो ।

विद्यालयले नेतृत्व गरेर सञ्चालन गर्ने सरसफाइ क्रियाकलाप अत्यन्त प्रभावकारी हुने भएकाले प्रावि तहका शिक्षकका लागि यो अभिमुखीकरण थालिएको थियो । कार्यक्रममा जिल्लाको पूर्ण सरसफाइ रणनीतिक योजना, नेपालको सरसफाइ गुरुयोजना, पूर्ण सरसफाइका विभिन्न सूचक, चर्पी प्रयोग र त्यसमा सुधार गर्नुपर्ने पक्ष, पानी र यसको सदुपयोगलगायत विभिन्न विषयमा जानकारी गराइएको जिल्ला परियोजना अधिकृत भोलानाथ आचार्यले जानकारी दिनुभयो ।

कूल ४८ जनाभन्दा बढीको सहभागिता भएको कार्यक्रममा शौचालयको प्रयोगमा प्रयोगकर्ता मैत्रीलगायत पानीको अभाव भएको ठाउँमा कसरी प्रयोग गर्ने भन्ने विषयमा प्रयोगात्मक अभ्यास गराइएको थियो ।

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी डा डिजन भट्टराई, स्थानीय विकास अधिकारी सुशील वैद्य, जिल्ला शिक्षा अधिकारी चिरञ्जीवी पौडेल, खानेपानी तथा सरसफाइ सबडिभिजन प्रमुख भोलाप्रसाद थापा, जिविसका वास फोकल पर्सन सुवेदी, परियोजनाका जिल्ला परियोजना अधिकृत भोलानाथ आचार्य, जिससका दीपक डिसी, खानेपानी कार्यालयका डिल्लीराज न्यौपानेलगायतले तीन दिनसम्म प्रशिक्षण दिनुभएको आयोजकले जनाएका छन् ।

अनेरास्ववियु (क्रान्तिकारी)को राष्ट्रिय सम्मेलनको तयारी पूरा

काठमाडौं । नेकपा (माओवादी केन्द्र) निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) को २३औँ राष्ट्रिय सम्मेलनको तयारी पूरा गरेको छ ।  क्रान्तिकारीका अध्यक्ष पञ्चा सिंहले यही असोज १० देखि १४ गतेसम्म हुने सम्मेलनको तयारी पूरा गरिएको जानकारी दिनुभयो । यसअघि सम्मेलन असोज २ देखि ५ गते तोकिएकामा तीन प्रदेश कमिटीको सम्मेलन बाँकी रहेकाले नयाँ मिति तोकिएको उहाँले बताउनुभयो । सम्मेलनमा दुई हजार तीन सय २३ प्रतिनिधि सहभागी हुने भएका छन् । सम्मेलनले ३३ पदाधिकारीसहित दुई सय ४३ जनाको नयाँ केन्द्रीय कमिटी चयन गर्नेछ ।  उहाँका अनुसार यसपटक सम्मेलनमा सहभागी प्रतिनिधिले नै पदाधिकारी र केन्द्रीय कमिटी चयन गर्ने छन् । वर्तमान केन्द्रीय समितिले सम्मेलनमा सहभागी हुनका लागि आआफ्नो मातहतका कमिटीबाट निर्वाचित भएर आउनुपर्ने नयाँ व्यवस्था गरिएको छ । यसअघि वर्तमान केन्द्रीय कमिटी स्वतः सम्मेलनको प्रतिनिधिका रुपमा रहँदै आएका थिए ।  सम्मेलनको उद्‌घाटन सत्र कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठान र बन्द सत्र किर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको सभाहलमा हुने छ । सम्मेलनको उद्‌घाटन माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गर्नुहुनेछ ।

जलवायु न्यायको माग गर्दै युवाहरु सडकमा

ललितपुर– जलवायु न्यायको माग गर्दै युवायुवतीको समूहले ललितपुरको जावलाखेलमा पिपुल्स क्लाइमेट मार्च २०२४ र्‍याली निकालेका छन् । र्‍यालीमा सहभागीले विभिन्न नारा लेखिएका ब्यानर र प्ला कार्ड बोकेका थिए । उनीहरूले विकसित मुलुकहरूले खनिज, पेट्रोलियम एवं औद्योगिक उत्सर्जनबाट प्रदुषण बढाउन मुख्य जिम्मेवार रहेको र यसको मारमा नेपाल जस्ता राष्ट्रहरू परेको भन्दै विकसित देशले नेपाल जस्ता देशलाई क्षतिपूर्ति दिनुपर्ने माग गरेका छन् । विकसित राष्ट्रहरूले नेपाल जस्तो कम हरितगृह ग्यास उत्सर्जन गर्ने देशलाई तिर्नुपर्ने दायित्व पनि ऋणको रूपमा दिन खोजेको भन्दै यसको विरोध समेत गरेका छन् । नेपालमा भएको यो र्‍याली ‘ग्लोवल विक अफ एक्सन इन साउथ एसिया’को सन्दर्भ पारेर पनि आयोजना गरिएको हो ।

यस वर्ष दसैँको टीकाको उत्तम साइत ११ः३६ बजे

काठमाडौं । यस वर्षको दसैँको टीकाको उत्तम साइत असोज २६ गते बिहान ११ बजेर ३६ मिनेटमा रहेको छ । शुक्रबार नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले सूचना जारी गर्दै  बिहान ८ बजेर ३३ मिनेटमा देवी विसर्जन गरिने जनाइको हो ।  टीका लगाइमाग्ने व्यक्तिले पूर्व फर्किनुपर्ने समितिले जनाएको छ । समितिका अनुसार घटस्थापनाको साइत असोज १७ गते बिहान ९ बजेर १६ मिनेटमा रहेको छ ।  यस्तै असोज २४ गते फूलपाती भित्राउने शुभसाइत बिहान ७ बजेर ११ मिनेटमा रहेको समितिले जनाएको छ । असोज २५ गते महाअष्टमी, कालरात्रि र महानवमी एकै दिन परेको समितिले जनाएको छ । असोज ३० गते कोजाग्रत पूर्णिमादेखि दसैँ पनि सकिने छ ।

एक सय ३५ उपसचिवहरूको सरुवा, करिब तीन दर्जन भुमिकाबिहिन

काठमाडौँ । सरकारले एक सय ३५ जना उपसचिवहरूको सरुवा तथा जिम्मेवारी हेरफेर गरेको छ। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले भदौ ३१ गतेसम्म भन्दै विभिन्न मन्त्रालय, विभाग तथा संघीय निकायमा कार्यरत रहेका उपसचिवहरूको जिम्मेवारी फेरबदल गरेको सूची सार्वजनिक गरेको हो ।  सरुवा सूचीमा रहेका उपसचिवहरूलाई शिक्षा, श्रम तथा रोजगारी, गृह, उद्योग, स्वास्थ्य, वन तथा वातावरण, भूमि व्यवस्था, जलस्रोत तथा सिँचाइ लगायतका विभिन्न मन्त्रालयहरूमा खटाइएको छ भने त्यसमध्ये करीब तीन दर्जनजति उपसचिवहरुलाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको अतिरिक्त समूहमा राखेर भुमिका बिहिन बनाइएको छ ।

लोकप्रिय