लोकतान्त्रिक समाजबाद सहितको सम्वृद्धि बामपन्थीहरुको गन्तब्य : अधिकारि

लोकतान्त्रिक समाजबाद सहितको सम्वृद्धि बामपन्थीहरुको गन्तब्य : अधिकारि

पोखरा, कात्तिक १८ । नेकपा एमालेका युवा नेता तथा कास्की क्षेत्र नम्बर २ का प्रतिनीधि सभाका उम्मेद्वार रविन्द्र अधिकारीले लोकतान्त्रिक समाजबाद सहितको सम्वृद्धि बामपन्थी हरुको गन्तब्य भएको बताएका छन् । नेपाली कांग्रेस र उसको नेतृत्वमा बनेको लोकतान्त्रिक गठबन्धन राजनीतिक उपलब्धीबाट पछि हट्न खोजेको उनको आरोप छ ।

कास्की क्षेत्र नम्बर २ को बाम गठबन्धनको शनिबार पोखरामा आयोजित भेलालाई सम्बोधन गर्दै अधिकारीले पुँजीवादी मान्ने कांग्रेस र उसको नेतृत्वमा रहेको लोकतान्त्रिक गठबन्धन देशमा प्राप्त उपलब्धी जोगाउनु भन्दा त्यसलाई ध्वस्त पार्न लागिपरेको आरोप लगाएका हुन् । काग्रेस र उसको नेतृत्वको लोकतान्त्रिक गठबन्धन दक्षिणपन्थी भएको आरोप लगाउँदै उनले भने,‘पुँजीवादी मान्ने कांग्रेस र उसको नेतृत्वको लोकतान्त्रिक गठबन्धन गणतन्त्र हैन राजतन्त्र ब्यूँताउन खोज्दैछ, धर्म निरपेक्ष हैन हिन्दु राज्य फर्काउन खोज्दैछ अनि अग्रगामी बन्ने हैन पश्चगामीतर्फ फर्कदै दक्षिणपन्थी तिर फर्कदैछ ।’

नेता अधिकारीले नेपालमा बाम गठबन्धन बनेपछि कम्युनिष्टहरुको समाजवादी लोकतन्त्र र कांग्रेससहितको पुँजीवादी प्रजातन्त्रबीच स्पष्ट रुपमा ध्रुविकरण भएको बताए । समाजवाद भन्ने वित्तिकै कांग्रेस आत्तिएको टिप्पणी गर्दै उनले समाजवादी लोकतन्त्र र पुँजीवादी प्रजातन्त्र बिच स्वच्छ प्रतिष्पर्धा गर्नुपर्ने भन्दै त्यसबाट नआत्तिन कांग्रेसलाई आग्रह गरे । उनले लोकतन्त्रसहितको समाजवाद बनाउन चाहेकाले जनतामा भ्रम नपारिदिन कांग्रेसलाई उनले आग्रहसमेत गरे । कुनैपनि दलको स्पष्ट बहुमत नहुँदा सरकारमा गएपछि कम्युनिष्टले समृद्ध नेपाल बनाउने नीति, योजना र काम गर्न खोज्दा कांग्रेसले भाँजो हाल्ने र सरकार गिराईहाल्ने गरेकाले स्थिरता ल्याउँदै समृद्धी र समाजवादमा पुग्न बाम गठबन्धन गरिएको उल्लेख गरे ।

अधिकारीले बाम गठबन्धन हुँदै कम्युनिष्ट केन्द्र बनाएर जनताको मतबाट दशकौंसम्म सरकारमा रहने, समृद्धी ल्याउने र समाजवादमा पुग्ने उद्घोष गरे । समाजवादमा पनि लोकतन्त्र र बहुदलीय प्रतिष्पर्धा रहने बताउँदै उनले भने,‘जनताको मतबाटै समाजवादमा जान्छौं, देशलाई समृद्ध बनाउँछौं, यसमा कोहि बाधक बन्न आउँछ भने त्यो बाधा भत्काएर भएपनि यस चुनावबाट दुई तिहाई ल्याएर समाजवादमा पुग्छौं, पुग्छौं ।’ नेपालमा बाम गठबन्धन बनेपछि संसारका सबै बुर्जुवाहरु आश्चर्यचकित भएको र अब समाजवाद हुँदै देश समृद्ध बन्दा छक्क पर्ने बताए ।

अधिकारीले बाम गठबन्धनको बलमा कांग्रेस हेन अस्थिरतालाई फाल्न खोजेको बताउँदै भने,‘हामीले राजालाई जसरी कांग्रेसलाई फाल्न खोजेका हैनौं, बरु अस्थिरता फाल्न खोजेका हौं ।’ उनले प्रतिष्पर्धाको शुरुवातमै कांग्रेसले वाकओभर दिन खोजेजस्तो गरेर बाम गठबन्धनलाई अधिनायकवादी भन्ने आरोप लगाउँदै रोइकराई र छटपटाहट देखाएको टिप्पणी गरे ।

अधिकारीले कांग्रेसले शिक्षामा ब्यापारीकरण गरिरहेको तर दोष भने अरुलाई लगाउने गरेको बताउँदै उनले भने,‘कांग्रेसले शिक्षालाई ब्यापारीकरण गरिरहेको छ, तर चिकित्सा क्षेत्रको शैक्षिक माफिया बिरुद्ध डा.गोविन्द केसीले आवाज उठाउँदा कांग्रेसले झण्डा उठाउँछ, यो हास्यास्पद लाग्छ ।’ उनले बाम गठबन्धनले बहुमत ल्याएर स्थिर सरकारमार्फत समाजवाद ल्याएपछि देशबाट गरिबी अन्त्य हुने दाबी गरे ।

कास्की–२ को प्रदेश क्षेत्र नम्बर २ का उम्मेद्वार राजकाजी गुरुङ ‘करण’ले कांग्रेसले भनेजस्तो जनतालाई रुवाउन नभई गरिबी हटाउन, विकास र समद्धी ल्याएर जनतालाई खुशी र सुखी पार्न समाजवाद ल्याउन लागेको बताए । समृद्धी र विकासकै लागि समाजवाद भन्दै उनले भने,‘हामी जनतामा गरिबी निम्त्याउन हैन, युवालाई विदेश पठाउन हैन, उनीहरुलाई रुवाउन हैन, बरु विकास र समृद्धी ल्याएर स्वरोजगार बनाउन, आत्मनिर्भर बनाउन, सुखी र खुशी बनाउन समाजवाद ल्याउन चाहन्छौं ।’ उनले आफ्नै पालामा समाजवाद ल्याउन सकिने र ल्याएरै छाड्ने उद्घोष गरे ।

नेकपा माओवादी केन्द्रका पोलिट्ब्यूरो सदस्य तथा कास्की ईञ्चार्जसमेत रहेका करणले अस्थिरताका कारण देश र नेपाली जनता बर्बाद भएकाले स्थिरता, सुशासन, समृद्धी र विकासका लागि बाम गठबन्धन बनाएको स्पष्ट पारे । उनले कास्कीको २ नम्बर क्षेत्रको प्रदेश नम्बर २ कम्युनिष्ट कमजोर भएको ठाउँ भएकाले अहिलेपनि कांग्रेस म्याऊ म्याऊ गरेर बिरालोजस्तो कुर्लनेगरेको टिप्पणी गर्दै अब बाम गठबन्धनको बलमा त्यो कांग्रेसको आधार भत्काईदिने घोषणा गरे । उनले कांग्रेसलाई जनता भ्रमित गर्ने अधिनायकवाद र तानाशाही भनेर रोइकराई गर्नुभन्दा आफ्नो सकारात्मक कुरा जनतामा राख्न आग्रह गर्दै आफूहरुपनि सकारात्मक कुरा र एजेण्डा बोकेर जनतामा जाने बताए । उनले बाम गठबन्धनको जितका लागि आफू चौबिसै घण्टा खट्न तयार रहेको बताए ।

कास्की–२ को प्रदेश नम्बर १ का उम्मेद्वार कृष्ण थापाले दाजुभाई मिलेर पाण्डवले कौरवलाई हराएजस्तै बाम गठबन्धनले कांग्रेसलाई हराउने उद्घोष गरे । उनले बाम एकताको पक्षमा जनता उत्साही भएर उर्लिएको बताउँदै अब त्यसलाई भोटमा रुपान्तरण गर्न मात्र बाँकी रहेको बताए । समाजवादसम्म पुग्नको लागि बाम एकता भएको बताउँदै यसलाई सफल बनाउन आगामी निर्वाचन २ तिहाईले जित्नैपर्ने बताए ।

नेकपा एमालेका निर्वाचन कमिटीका केन्द्रीय अध्यक्ष सोमनाथ अधिकारी ‘प्यासी’ले कास्कीका ९ वटै क्षेत्र बाम गठबन्धनले जित्ने दाबी गरे । कम्युनिष्ट फुटाएर शासन गर्न कांग्रेस पल्केको बताउँदै उनले अब कांग्रेसले फुटको राजनीति गर्न नपाउने गरी बाम एकता भएको बताए । समाजवादलाई कांग्रेसले भ्रमित गर्न खोजेको बताउँदै उनले भने,‘हामीले ल्याउने समाजवाद भनेको मौलिक समाजवाद हो, यो समाजवादमा आफ्नै मौलिक लोकतन्त्र हुन्छ, यो समाजवादमा ९० वर्ष भन्दा माथिका बुबाआमाहरुसमेत सम्मानित हुन्छन्, केटाकेटी खुशीले खेल्दै, रमाउँदै शिक्षा लिन पाउँछन्, युवाहरु आफूले रोजेको विषय अध्ययन गर्न पाउँछन् अनि बयस्कहरु गुणात्मक शिक्षा लिएर कमाउन र रमाउन पाउँछन् ।’ उनले माओवादी र एमाले मिल्दा अधिनायकवाद देख्ने कांग्रेसमा चेतनाको अभाव रहेको टिप्पणी गरे ।

कार्यक्रमकी अध्यक्षता गरेकी एमाले कास्कीकी उपसचिव प्रभा कोइरालाले बाम गठबन्धन नदी भएको बताउँदै योसँग पौठेजोरी खोज्न आउने आफै बगेर सिद्धिने चेतावनी दिईन् ।

कार्यक्रम सञ्चालक कृष्ण गिरी ‘विज्ञान’ले बाम एकतालाई जिताएमात्र जनताले जित्ने र देशले स्थिरता, शान्ति, समृद्धी प्राप्त गर्दै समाजवादमा पुगिने बताए ।

बाढी पहिरो अपडेटः मृतकको संख्या १०० पुग्यो, ६५ जना बेपत्ता

काडमाडौं । बाढी पहिरोबाट मृत्यु हुनेको संख्या १०० पुगेको छ। पछिल्लो प्रकोपबाट ४० जना घाइते छन् भने ६५ जना बेपत्ता रहेको गृह मन्त्रालयले जानकारी दिएको छ। मन्त्रालयका अनुसार सबैभन्दा बढी क्षति काठमाडौं उपत्यकामा भएको छ। काठमाडौं, भक्तपुर, ललितपुरमा गरी ४८ जनाको मृत्यु भएको छ। १५ जना घाइते छन्। बिहीबारदेखि परेको अविरल वर्षातका कारण काठमाडौं उपत्यकामा २१ जना बेपत्ता रहेको मन्त्रालयले जनाएको छ। बाढी पहिरोबाट कोशी प्रदेशमा  १३ जनाको मृत्यु, ३ घाइते र ९ जना बेपत्ता छन्। मधेसमा २ जनाको मृत्यु र १ जना बेपत्ता छन्। बागमतीमा ३७ जनाको मृत्यु, २२ घाइते र ३२ बेपत्ता छन्। गण्डकीमा मानवीय क्षति भएको छैन। लुम्बिनी प्रदेशमा दुई जना बेपत्ता छन्। बाढी, पहिरोबाट १९५ वटा घर पूर्ण क्षति भएका छन्। दुई हजार ९०५ जनाको सकुशल उद्धार गरिएको प्रहरीले जानकारी दिएको छ।

आज यी स्थानमा वर्षा हुने, भोलिदेखि मौसममा सुधार आउने

काठमाडौैं । देशभर आज मौसम आंशिकदेखि साधारणतया बदली रहने छ । आगामी २४ घण्टामा कोशी, मधेश, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानमा वर्षाको सम्भावना रहेको छ । जल तथा मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाका अनुसार बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । मधेश प्रदेशलगायत कोशी र लुम्बिनी प्रदेशको तराई क्षेत्रमा हुरीबतासको पनि सम्भावना रहेको भन्दै महाशाखाले सचेत गराएको छ । ती क्षेत्रमा हुनसक्ने गेग्रान बहाव, बाढी, पहिरो, सहरी तथा तराई क्षेत्रमा डुबानको जोखिम, ठूला तथा साना नदी नाला र खोलामा पानीको सतह बढ्ने जोखिम तथा भूक्षयजस्ता प्रकोपको जोखिम र क्षतिबाट बच्न समेत महाशाखाले सचेत गराएको छ । ती क्षेत्रमा नदी क्षेत्र आसपासका निर्माण कार्य, दैनिक जनजीवनलगायत कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा असर पर्ने सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको छ । महाशाखाका मौसमविद् रोजन लामिछानेले आज राति कोशी, मधेश र वाग्मती प्रदेशमा साधारणतया बदलीदेखि पूर्णतया बदली रहने जानकारी दिएका छन् । उनले बाँकी प्रदेशमा आंशिकदेखि साधारणतया बदली रहने बताए । महाशाखाको मौसम विश्लेषणअनुसार कोशी, मधेश, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानमा वर्षाको सम्भावना रहेको छ । यी पाँच प्रदेशका धेरै स्थानमा तथा बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । मौसमविद लामिछानेका अनुसार सोमबार पनि देशभर आंशिकदेखि साधारणतया बदली रहने छ । सोमबार बिहानदेखि दिउँसोसम्म हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ भने साँझदेखि वर्षा कम भएर जाने सम्भावना रहेको महाशाखाले जनाएको छ ।

अध्यक्ष प्रचण्डले आह्वान गरेको सर्वदीय बैठक स्थगित

काठमाडौं, १३ असोज । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा प्रतिनिधिसभामा प्रमुख प्रतिपक्षी दलका नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आह्वान गरेको सर्वदलीय बैठक स्थगित गरिएको छ ।  अध्यक्ष प्रचण्डले अविरल बर्षा, बाढी पहिरो र त्यसबाट उत्पन्न परिस्थितिबारे छलफल गर्न आज विहान १० बजे बस्ने गरी हिजो राति नै सर्वदलीय बैठकको आव्हान गर्नुभएको थियो । नेपाल सरकारले पहल लिन ढिलाइ गरेको अवस्थामा प्रमुख प्रतिपक्षी दलको नेताको हैसियतले अध्यक्ष प्रचण्डले  हिजो राति नै सर्वदलीय बैठक आह्वान गरेको तर अब सरकारले पनि सर्वदलीय बैठक बोलाएकाले छुट्टै बैठक गरिरहन आवश्यक नदेखेर स्थगित गरिएको प्रचण्डका स्वकीय सचिव रमेश मल्लले जानकारी दिनुभयो । 

अध्यक्ष प्रचण्डको आह्वानमा सर्वदलीय बैठक बस्दै

काठमाडौं, १३ असोज । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा प्रतिनिधिसभामा प्रमुख प्रतिपक्षी दलका नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सर्वदलीय बैठक आह्वान गर्नुभएको छ ।  अविरल बर्षा,बाढी पहिरो र त्यसबाट उत्पन्न परिस्थितिबारे छलफल गर्न सर्वदलीय बैठकको आव्हान गर्नुभएको हो । विहान १० बजे नेकपा माओवादी केन्द्र संसदीय दलको कार्यालय, सिंहदरबारमा बैठक बस्ने छ । यसअघि शनिबार माओवादी केन्द्रले विज्ञप्ति जारी गर्दै बाढी, पहिरो र डुबानमा परेका जनताको उद्धारमा जुट्न पार्टीपंक्ति, मोर्चा र आम नागरिकलाई अपिल गरेको थियो । 

लोकप्रिय