ल्यारक्याल लामामाथि साढे ९ करोडको भ्रष्टाचार आरोप, ७४ लाख बचतको फैसला

ल्यारक्याल लामामाथि साढे ९ करोडको भ्रष्टाचार आरोप, ७४ लाख बचतको फैसला
काठमाडौं, असोज २० । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको अनुसन्धान र विशेष अदालतको तथ्यांक विश्लेषणमा झण्डैं साढे १० करोड रुपैंयाको अन्तर देखिएको छ ।

आश्विन २०, २०७४-सार्वजनिक पदमा रहँदा ९ करोड ४४ लाख रुपैंया गैरकानुनी रुपमा आर्जन गरेको आरोपमा परेका सांसद ल्यारक्याल लामाले विशेष अदालतबाट सफाइ पाएका छन् । विशेष अदालतले उनलाई सफाई त दियो नै, साथै आम्दानीको तुलनामा खर्च कम भएको भन्दै उनको ७४ लाख रुपैंया बचत हुनुपर्ने फैसला समेत गर्‍यो ।

करिब एक दशकपछि दोस्रो तहका राजनीतिक नेतामाथि गैरकानूनी सम्पत्ति आर्जनको अभियोगमा हात हालेको अख्तियारको अनुसन्धान न्यायिक परिक्षणमा असफल भएको हो । सबभन्दा ठूलो बिगोको गैरकानूनी सम्पत्ति आर्जन मुद्दामा अख्तियार असफल भएपछि लामा रजनीतिक जीवनमा फर्किसकेका छन् । अख्तियारको आरोपपत्र र विशेष अदालतको फैसला हेर्दा तथ्यांक विश्लेषणमा साढे १० करोड रुपैंयाको फरक देखिएको छ । विवादास्पद प्रमुख लोकमानसिंह कार्कीको पालामा लामामाथि मुद्दा दायर भएको थियो ।

माओवादी केन्द्रका सांसद लामाले ९ करोड ४४ लाख रुपैंया गैरकानूनी रुपमा आर्जन गरेको अभियोगमा अख्तियारले २०७२ कार्तिक ३० मा विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको थियो । अख्तियारले २०५८ देखि २०७२ पुस मसान्तसम्म लामाको सम्पत्ति छानविन गरेको थियो । त्यस क्रममा २० करोड ३४ लाख रुपैंया बैध रुपमा आर्जन गरेर २९ करोड ७९ लाख खर्च गरेको अख्तियारको दाबी थियो । आर्जनको तुलनामा खर्च बढी भएको ९ करोड ४४ लाख रुपैंयालाई गैरकानूनी आर्जन भनी अख्तियारले मुद्दा दायर गरेको थियो ।

विशेष अदालतले तयार पारेको फैसलाको पूर्णपाठले अख्तियारको आरोपपत्रलाई अस्विकारमात्रै गरेको छैन, लामाको सम्पत्ति उल्टै बचत हुने भनी तथ्यांक विश्लेषणसमेत गरिएको छ । विशेष अदालतका अध्यक्ष मोहनरमण भट्टराई र सदस्यहरु प्रभा बस्नेत र महेशप्रसाद पुडासैनीको इजलासले गरेको फैसलामा सार्वजनिक पदमा रहँदा लामाले आम्दानीको तुलनामा कम खर्च गरी ७४ लाख ३४ हजार रुपैंया बचत गरेको उल्लेख छ । २९ करोड ९ लाख रुपैंया बैध आम्दानी गरेका लामाले २८ करोड ३५ लाख रुपैंया खर्च गरेको ठहर विशेष अदालतले गरेको छ । लोकमानसिंह कार्कीको पूर्वाग्रही स्वभाव र कार्यशैलीका कारण लामामाथिको अनुसन्धानसमेत विवादमुक्त थिएन ।

अख्तियारको दाबी के थियो ? 

लामाले तलबभत्ता, जग्गा विक्री, ऋण सापटीलगायतबाट आम्दानी देखाएर गैरकानूनी रुपमा आर्जन गरेको अख्तियारको दावी थियो । घर निर्माण, जग्गा खरिद, शेयर, सवारी साधन तथा विभिन्न घरायसी सामान खरिद र बैंक मौज्दात गरेको अख्तियारको दावी थियो । लामाको अत्यधिक जग्गा कारोवार र त्यस क्रममा भएको खरिदबिक्रीको उतारचढावको दरलाई नै शंकास्पद मानेको थियो ।  ३३ लाखमा खरिद भएको जग्गा तीन महिनापछि डेढ करोडमा बिक्री भएको देखाइएको अख्तियारको दाबी थियो । उसले सुरुकै आर्जन बैध नदेखिएकाले त्यसबाट भएका अन्य कारोवारलाई पनि अबैध भनी मागदाबी लिएको थियो ।

-कान्तीपुरबाट

लामा २०५८ सालदेखि दुई पटक गुम्बा विकास समितीको अध्यक्ष बने । संघिय मामिला तथा स्थानीय विकास मन्त्रीले गर्ने राजनीतिक नियुक्तिमा उनले लगातार दुई कार्यकाल अनवरत रुपमा काम गरे । त्यसक्रममा केही रकम गैरकानूनी आर्जन देखिए पनि त्यसको ग्राफ खासै उक्लेको देखिदैन । २०६२ सालमा उनको दोस्रो कालकाल पुरा भयो । त्यसको केही समयपछि नै उनी २०६२/६३ को पुन:स्थापित संसदबाट रुपान्तरित व्यवस्थापिका संसदको सभासद बने । सांसद र सभासद भएको अवधिमा उनको आर्जन गरेको सम्पत्ति अस्वभाविक रुपमा बढेको अख्तियारले गरेको तथ्यांक विश्लेषणमा उल्लेख छ ।

लामामाथिको पछिल्लो छानविनले करिव १० करोड रुपैंया जग्गामा मात्रै लगानी गरेको भेटिएको अख्तियारको आरोपपत्रमा उल्लेख थियो । बुढानिलकण्ठमा उनको ३ वटा घर रहेको भनी अख्तियारले आरोप लगाएको थियो, जसमध्ये एउटा घरमा उनी बस्थे भने बाँकी दुईमा बौद्ध भिक्षुहरुका लागि विद्यालय सञ्चालन गरेको उनले बयानका क्रममा खुलाएका थिए । उनको ९० लाख रुपैंया मूल्यांकन गरिएको सवारी साधन पनि छानविनमा परेको थियो ।

अख्तियारले २०७२ मंसिरमा विभिन्न सार्वजनिक पदमा रहेका २९ जनाको बैंक लकर रोक्का गरेर सम्पत्ति छानविन गरेको थियो, जसमा लामा पनि एक थिए । लामामाथि अख्तियारले पुस १८ मा पत्र काटेर बोलाएकोमा २० देखि २२ गतेसम्म ४ करोड रुपैंया खाताबाट निकालिएको थियो । त्यसपछि उनको खातामा ६४ लाख रुपैंयामात्रै बाकी थियो ।

लामामाथि छानबिनका क्रममा अख्तियारले दरबारमार्गस्थित इन्भेष्टमेन्ट बैंकमा रहेको लकरबाट गोली बरामद गरेको थियो । त्यसपछि प्रहरीले उनीमाथि हातहतियार तथा खरखजाना ऐन अन्तर्गत फौजदारी मुद्दा चलाएपछि उनी पदबाट निलम्बनमा परेका थिए । सम्पत्ति विवरणमा उल्लेख नगरे पनि लाजिम्पाटस्थित स्टान्डर्ड चाटर्ड बैंकको लकर पनि भेटिएको थियो, लगत्तै छानविन हुनासाथ लकर रित्तो भेटिएको अख्तियार स्रोतले बतायो ।

विशेषको फैसला कस्तो छ ? 

अख्तियारले ल्यारक्याल लामाले सार्वजनिक पदमा रहेको अवधिमा केवल २० करोड ३४ लाख रुपैंयामात्रै बैध आम्दानी गरेको दावी गरेको थियो । विशेष अदालतले भने सम्पत्ति विश्लेषणका क्रममा त्यसबाहेक उनले ८ करोड ७५ लाख रुपैंया समेत आर्जन गरेको र त्यसलाई बेवास्ता गर्न नमिल्ने ठहर्‍याएको छ । जसअनुसार, जग्गा खरिद, बौद्ध धर्मसम्बन्धी पुस्तक विक्री, सिद्धार्थ फाउण्डेसनको नामबाट विभिन्न बैंकबाट काटिएको चेकबाट प्राप्त रकम समेत जोडिनुपर्ने विश्लेषण गरेको छ । यसबाट लामाको कुल बैध आर्जन २० करोड ३४ लाख रुपैंयाबाट बढेर २९ करोड ९ लाख हुन पुगेको छ ।

लामाले आफ्नो आर्जनबाट शेयर खरिदमा १ करोड ५३ लाख, ऋण सापटी सावा व्याज भुक्तानीमा ४ करोड ६ लाख, १ लाख ६० हजार नगद मौज्दात, घरायसी सामान खरिदमा १५ लाख ५० हजार रुपैंया खर्च देखाएका थिए । छानविन हुनासाथ झिकिएको ४ करोड ४२ लाख रुपैंयालाई विशेष अदालतले अन्यथा भन्न नमिल्ने ठहर्‍याएको छ । बैंक मौज्दात ६४ लाख ६७ हजार, जग्गा खरिदमा १० करोड ८८ लाख, घर निर्माणमा ७ करोड १७ लाख र सवारीसाधन खरिदमा ९० लाख खर्च भएको भनी अख्तियारले आरोप लगाएको थियो ।

विशेष अदालतले यी सबै तथ्यलाई यथावत रुपमा स्विकार्दै घर निर्माणको हकमा ७ करोड १७ लाख रुपैंयालाई अस्विकार गरेको छ । व्यक्तिगत रुपमा घर निर्माण गर्दा ठेकेदारलाई १५ प्रतिशत नाफा र ५ प्रतिशत ठेक्काकर दिन नपर्ने भएकाले २० प्रतिशत लागत घटाउनुपर्ने भनी विशेष अदालतले घर निर्माणको खर्चमा १ करोड ४३ लाख रुपैंया घटाएको छ । यसबाट लामाले गरेको लगानीको खर्च समेत अख्तियारले दावी गरेजस्तो २९ करोढ ७९ लाख रुपैंया नभई त्यसबाट घटेर २८ करोड ३५ लाख रुपैंयामा सीमित भएको छ । ‘२९ करोड ९ लाख रुपैंया कुल बैध आर्जनबाट २८ करोड ३५ लाख रुपैंया व्यय(लगानी) गरेको देखिन आयो’ फैसलाको पूर्णपाठमा भनिएको छ, ‘खर्चको तुलनामा ७४ लाख ३४ हजार रुपैंया बढी आम्दानी देखिएकाले गैरकानुनी सम्पत्ति आर्जन गरी अमिल्दो र अस्वाभाविक जीवनस्तर यापन गरेको भन्ने दावी पुष्टी हुने आधार देखिएन ।’

लामा को हुन् ? 

लामा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल निकट सांसद हुन् । विवादित पृष्ठभूमीका उनी यसअघि २०५८ पुसमा गुम्बा विकास समितीका अध्यक्ष थिए । त्यसपछि उनी माओवादी सिफारिसमा व्यवस्थापिका संसद सदस्य थिए । उनीमाथि दोहोरो नागरिकता लिएको आरोप थियो । विवादित बनेपछि एमाले नेता झलनाथ खनालको प्रधानमन्त्रीत्व कालमा अर्थ राज्यमन्त्री बनेका उनी पदबाट हटाइएका थिए । त्यसपछि उनीमाथि छानविनका लागि सरकारले एक आयोग नै गठन गरेको थियो ।

अख्तियारले २०५८ सालदेखि २०७२ पुस मसान्तसम्म लामाको सम्पत्ति छानबिन गरेको थियो । लामा २०५८ सालदेखि दुईपटक गुम्बा विकास समितीको अध्यक्ष बनेका थिए । संघिय मामिला तथा स्थानीय विकास मन्त्रीले गर्ने राजनीतिक नियुक्तीमा उनले लगातार दुई कार्यकाल काम गरे । २०६२ सालमा उनको दोस्रो कालकाल पूरा भयो । त्यसको केही समयपछि नै उनी २०६२/६३ को पुनस्थापित संसदबाट रुपान्तरित व्यवस्थापिका संसदमा माओवादी सिफारिसमा सांसद थिए ।  त्यसपछि उनी अख्तियारले तीन पटक सार्वजनिक अवस्थामा रहेका बखत उनले गरेको आर्जनको छानविन गरेको थियो ।

उनीमाथि दोहोरो नागरिकता लिएको आरोप थियो । विवादित बनेपछि एमाले नेता झलनाथ खनालको प्रधानमन्त्रीत्व कालमा अर्थ राज्यमन्त्री बनेका उनी पदबाट हटाइएका थिए । त्यसपछि उनीमाथि छानबिनका लागि सरकारले एक आयोग नै गठन गरेको थियो । विशेष अदालतबाट सफाइ पाएपछि २०७३ कार्तिकदेखि उनको सांसद पद निलम्बनबाट फुकुवा भएको छ । -कान्तीपुरबाट

तेलको मूल्य यस वर्षैभरि १०० डलर नाघ्ने प्रक्षेपण, विश्व अर्थतन्त्रमा दबाब बढ्ने संकेत

काठमाडौं । विश्व बजारमा कच्चा तेलको मूल्य यस वर्षभरि नै प्रति ब्यारेल एकसय अमेरिकी डलरको हाराहारीमा रहने प्रक्षेपण सार्वजनिक भएको छ । अमेरिकी बहुराष्ट्रिय वित्तीय संस्था जेपी मोर्गनले तेल आपूर्तिमा देखिएको अस्थिरता र मध्यपूर्वी तनावका कारण मूल्य उच्च रहने अनुमान गरेको हो । बीबीसीका अनुसार जेपी मोर्गनले सार्वजनिक गरेको विश्लेषणमा विश्वव्यापी आपूर्ति सहज हुने अवस्था तत्काल नदेखिएकाले कच्चा तेलको मूल्य यस वर्षको बाँकी अवधिभरि प्रति ब्यारेल एकसय डलर आसपास रहने उल्लेख गरिएको छ । बैंकले सन् २०२६ मा पनि औसत मूल्य ९७ डलर रहने प्रक्षेपण गरेको छ । विशेषगरी विश्व ऊर्जा आपूर्तिको प्रमुख मार्ग मानिने स्ट्रेट अफ हर्मुजमा देखिएको अवरोध र आपूर्ति शृंखलामा कायम असहजताले बजारमा दबाब बढाएको विश्लेषण गरिएको छ । विश्वको करिब २० प्रतिशत तेल ढुवानी यही सामुद्रिक मार्ग हुँदै हुने भएकाले यहाँको अस्थिरताले अन्तर्राष्ट्रिय बजारमा सीधा असर पार्ने गरेको छ । मध्यपूर्वमा बढ्दो तनावका बीच युद्ध अन्त्यका लागि इरानले अघि सारेका सर्तहरू स्वीकार गर्न अमेरिका तयार नदेखिएपछि तेल बजार थप प्रभावित बनेको छ । यता, इरानले पनि बाह्य दबाबसामु नझुक्ने अडान दोहोर्‍याउँदै आएको छ, जसले ऊर्जा बजारमा अनिश्चितता झन् बढाएको विश्लेषकहरूको भनाइ छ । यसैबीच, अन्तर्राष्ट्रिय बजारमा ब्रेन्ट क्रुड आयलको मूल्यमा उल्लेखनीय वृद्धि देखिएको छ । पछिल्लो कारोबारमा यसको मूल्य प्रति ब्यारेल ४ प्रतिशतले बढेर १०५.९४ डलर पुगेको जनाइएको छ । अप्रिल ८ मा युद्धविराम लागू भएपछि केही समय स्थिर देखिएको बजार पुनः उकालो लाग्दै प्रति ब्यारेल १०० डलर माथि पुगेको हो । ऊर्जा मूल्यमा आएको तीव्र उतारचढावले विश्वभरका ठूला ऊर्जा कम्पनीहरूको आम्दानीमा पनि उल्लेखनीय वृद्धि भएको छ । साउदी अराम्कोकाले सन् २०२६ को पहिलो त्रैमासिक आम्दानी अघिल्लो वर्षको सोही अवधिको तुलनामा २५ प्रतिशतभन्दा बढीले बढेको जनाएको छ । त्यस्तै, बिपीले आफ्नो नाफा दोब्बरभन्दा बढी भएको प्रतिवेदन सार्वजनिक गरेको छ भने शेललले पनि आम्दानी वृद्धि भएको जानकारी दिएको छ । अराम्कोका प्रमुख कार्यकारी एक अधिकृतले युद्ध अन्त्य भए पनि ऊर्जा बजार तत्काल सामान्य अवस्थामा फर्किन नसक्ने चेतावनी दिएका छन् । उनका अनुसार, “यदि होर्मुज मार्ग तत्काल खुलिहाले पनि आपूर्ति सन्तुलनमा फर्कन समय लाग्नेछ । विश्व ऊर्जा बजार पूर्ण रूपमा सामान्य हुन सन् २०२७ सम्म कुर्नुपर्ने अवस्था आउन सक्छ ।” यता, तेल उत्पादनमा आएको गिरावटले पनि मूल्य बढाउन थप योगदान गरेको देखिएको छ । अाेपीईसीका अनुसार तेल उत्पादनमा दैनिक ८ लाख ३० हजार ब्यारेलले कमी आएको छ । हाल विश्वभर दैनिक करिब २०.०४ मिलियन ब्यारेल तेल उत्पादन भइरहेको छ । विश्व बजारमा तेल र ग्यासको मूल्य निरन्तर उकालो लागिरहँदा यसको असर इन्धन आयातमा निर्भर मुलुकहरू, विशेषगरी नेपालजस्ता अर्थतन्त्रमा थप महँगी र व्यापार घाटा बढ्ने जोखिमका रूपमा देखिएको छ । अन्तराष्ट्रिय सञ्चारमाध्यमहरुकाे सहयाेगमा

चार महिनामा ८३ हजारभन्दा बढी विदेशी पर्यटक मुस्ताङ  घुमे

मुस्ताङ । सन् २०२६ को सुरुआती चार महिनामा ८३ हजार १४९ विदेशी पर्यटक मुस्ताङ घुम्न आएका छन् । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) जोमसोम कार्यालयका अनुसार यो सन् २०२५ को सोही अवधिकोभन्दा बढी हो। यहाँ सन् २०२६ को जनवरीमा १० हजार ८०३, फेब्रुअरीमा ९ हजार चार, मार्चमा २३ हजार २०४ र अप्रिलमा ४० हजार १३८ जना विदेशी पर्यटक मुस्ताङ भित्रिएको एक्याप कार्यालय प्रमुख राजेश गुप्तले जानकारी दिए। यसअघि सन् २०२५ को सोही अवधिमा ५१ हजार ८९६ जना विदेशी पर्यटकले मुस्ताङ भ्रमण गरेका थिए । त्यस वर्ष जनवरीमा चार हजार ३४६, फेब्रुअरीमा पाँच हजार ३०३, मार्चमा १९ हजार ९५ र अप्रिलमा २३ हजार १५२ जना विदेशी पर्यटक यहाँ आएका थिए । कार्यालय प्रमुख गुप्तका अनुसार सन् २०२५ को पहिलो चार महिनाको तुलनामा सन् २०२६ को पहिलो चार महिनामा ३१ हजार २५३ जना विदेशी पर्यटकको सङ्ख्या वृद्धि भएको हो । यहाँ भित्रिएका विदेशी पर्यटकमध्ये ८० प्रतिशतभन्दा बढी भारतीय पर्यटक रहेका छन्। यहाँ आउने पर्यटकमध्ये अधिकांशले मुक्तिनाथ दर्शन गरी फर्किने गरेको पाइएको छ। पोखरा–जोमसोम हवाईमार्ग र सडकमार्ग हुँदै आउने तेस्रो मुलुकका (सार्कबाहेक) पर्यटकहरू जोमसोम हुँदै उपल्लो मुस्ताङ प्रस्थान गर्ने गरेको एक्यापले जनाएको छ।

तेलकाे मूल्य वृद्धिसँगै विश्व आर्थिक अवस्था थप चुनौतीपूर्ण बन्ने अनुमान

काठमाडाैँ । अन्तर्राष्ट्रिय मुद्रा कोषकी प्रमुख क्रिस्टालिना जर्जिएभाले पश्चिम एसियामा जारी युद्ध सन् २०२७ सम्म लम्बिएमा विश्व अर्थतन्त्रमा अझ गम्भीर प्रभाव पर्न सक्ने सम्भावना औंल्याएकी छिन्। वासिङ्टन डी.सी.मा आयोजित एक कार्यक्रममा बोल्दै उनले तेलको मूल्य प्रति ब्यारेल १२५ अमेरिकी डलरसम्म पुग्न सक्ने र यसले मुद्रास्फीति थप बढाउने सङ्केत गरिन्। उनका अनुसार यस्तो परिस्थितिमा मुद्रास्फीति मात्र बढ्ने होइन, भविष्यमा मूल्य स्थिर रहने विश्वास समेत कमजोर हुन सक्ने देखिन्छ। अन्तर्राष्ट्रिय मुद्रा कोषले वर्तमान अवस्थालाई ‘प्रतिकूल परिदृश्य’ अन्तर्गत राखिसकेको छ, जसमा दीर्घकालीन द्वन्द्व, तेलको उच्च मूल्य र बढ्दो मुद्रास्फीति दबाबजस्ता पक्षहरू समावेश छन्। गत अप्रिलमा सार्वजनिक गरिएका तीन सम्भावित परिदृश्यहरूमध्ये ‘सन्दर्भ पूर्वानुमान’, ‘प्रतिकूल परिदृश्य’ र ‘कठोर परिदृश्य’ समावेश रहेका छन्। प्रतिकूल परिदृश्यअनुसार सन् २०२६ मा विश्व आर्थिक वृद्धि २.५ प्रतिशतमा सीमित हुने तथा मुद्रास्फीति ५.४ प्रतिशतसम्म पुग्ने अनुमान गरिएको छ । अझ गम्भीर ‘कठोर परिदृश्य’ लागू भएमा आर्थिक वृद्धि दर २ प्रतिशतमा झर्ने र मुद्रास्फीति ५.८ प्रतिशतसम्म पुग्ने सम्भावना व्यक्त गरिएको छ। त्यस्तै, छोटो अवधिको द्वन्द्व रहने अनुमान गरिएको ‘सन्दर्भ पूर्वानुमान’ मा आर्थिक वृद्धि ३.१ प्रतिशत र मुद्रास्फीति ४.४ प्रतिशत रहने अपेक्षा गरिएको थियो । तर वर्तमान परिस्थितिलाई हेर्दा यस्तो सकारात्मक परिदृश्य क्रमशः टाढिँदै गएको संकेत गरिएको छ।

काँकरभिट्टाबाट १६ अर्ब ८१ करोडको पेट्रोलियम पदार्थ आयात

झापा । चालु आर्थिक वर्ष २०८२/८३ को चैत मसान्तसम्म पूर्वीनाका काँकरभिट्टाबाट १६ अर्ब ८१ करोड ३६ लाख ३० हजारको पेट्रोलियम पदार्थ आयात भएको छ । मेची भन्सार कार्यालयका सूचना अधिकारी तथा भन्सार अधिकृत ईश्वरकुमार हुमागाईंका अनुसार सो अवधिमा पेट्रोल, डिजेल, एलपी ग्यास, एटीएफ, कोइलालगायत वस्तु आयात भएका छन् । पेट्रोलियम पदार्थ आयातबाट चालु आवको नौ महिनामा सात अर्ब ४४ करोड ७८ लाख १८ हजार राजस्व संकलन भएको उनले जानकारी दिए । कार्यालयको तथ्यांकअनुसार उक्त अवधिमा सात अर्ब ७५ करोड ९४ लाख मूल्यबराबरको ८३ हजार ४४८ किलोलिटर पेट्रोल आयात भएको छ । त्यसैगरी, पाँच अर्ब ८७ करोड १८ लाख मूल्यबराबरको ५५ हजार २४ किलोलिटर डिजेल आयात भएको छ । त्यसैगरी, एक अर्ब ९० करोड ५९ लाख मूल्यबराबरको १९ हजार १३६.६९३ मेट्रिक टन एलपी ग्यास, ५७ करोड ५१ लाख मूल्यबराबरको पाँच हजार ९८८ किलोलिटर एटीएफ तथा ७० करोड १२ लाख मूल्यबराबरको ३४ हजार ५२४.४९० मेट्रिक टन कोइला आयात भएको सूचना अधिकारी हुमागाईंले बताए ।