शेयरमा उतारचढाव किन भयो, लगानीका लागि कुन कम्पनी छन् त सुरक्षित ?

शेयरमा उतारचढाव किन भयो, लगानीका लागि कुन कम्पनी छन् त सुरक्षित ?

तिलक काेइराला

शेयर बजारमा फेरि अन्योल र भागदौडको अवस्था देखिएको छ। बजारमा मूल्य बढेको रापले नयाँ लगानीकर्ता आकर्षित भएर माग पक्ष निकै बलियो बनेको बेला केही लगानीकर्ताहरु खराब र कमजोर कम्पनीमा नचाँहिदो रुपमा उचालिएका कारणले पनि अहिलेको भागदौड र अन्योलको अवस्था सिर्जना हुन सहयोग पुगेको हो। त्यसरी भागदौड गर्नुपर्ने आवश्यकता नै छैन।

सर्वसाधारणमा आईपीओ बिक्री गरेर भरखरै शेयर बजारमा सूचीकृत भएका र नियमनकारी निकायले तोकेको वा कारोबार विस्तारका लागि आवश्यक चुक्ता पूँजी कायम गर्न नसकेर हकप्रद बिक्री गरी पूँजी संकलन गर्न खोजेका कम्पनीहरुमा लगानीकर्ताहरु अनावश्यक ढंगले उचालिएकाले कतिपयलाई अहिले शेयर बजारको घटाई थाम्नै नसक्ने खालको हुन गएको छ।

सस्ता र राम्रा कम्पनीमा संयमित भएर लाभांश र पूँजीगत लाभ दुबैको हिसाब गरी लगानी विविधिकरण गर्नेहरुलाई अहिले कुनै चिन्ता गर्नुपर्ने अवस्था नै हैन। राजनीतिक अवस्था र तरलता भन्ने कुरा जहिले पनि शेयर बजारको सरोकारको विषय हुनसक्छ तर लगानीकर्ताले मुख्य रुपमा हेर्नुपर्ने कम्पनीको अबस्था र आफ्नो जोखिमबहन क्षमता हो। त्यो नहेरी हावा, हल्ला र अफवाहको आधारमा जथाभावी लगानी गर्दा यस्तै भागदौडको सामना गर्नुपर्छ।

पछिल्लो समय जो पूँजी बजारमा छिरे र बजार उनीहरुको लागि नयाँ छ, त्यस्ता लगानीकर्तालाई सेयरको मूल्य जहिले पनि बढ्छ, यहाँ त कहिले पनि मूल्य घट्दैन भन्ने भ्रम परेको हुनसक्छ तर उनीहरुले थाहा पाउनु पर्ने वस्तविकता के हो भने सेयरको मूल्य घटाई र बढाई हुने ठाउँ नै सेयर बजार हो, घटाई र बढाई नै बजारको जीवन्त रुप हो । अरु सेयर बजारमा प्रबेश गर्ने ९० प्रतिशतले गुमाउने तर १० प्रतिशत भन्दा कमले कमाउँने संभावना हुन्छ भनिन्छ तर बृद्धि र बिकास हुँदै गरेको नेपालको सेयर बजारमा सुरक्षित लगानी गर्ने हरेक लगानीकर्ताले कमाउँने संभावना छ । यसलाई मनन् गरेर सस्ता र राम्रा कम्पनी चिनेर लगानी गर्नु भने अनिबार्य छ ।

हालै आईपीओ जारी गरेका र खराब अबस्था पार गर्न नसकी पूँजी बढाएर संकट मोचन गर्न संघर्ष गरिरहेका कम्पनीहरुमा जसरी लगानीकर्ताहरुले आँखा चिम्लेर पैसा खन्याए, अहिलेको संकट आउनमा उनीहरु पनि कारक हुन् । कुनै लाभांश नपाउने र बैंकमा धितो राखेर कर्जा समेत लिन नसकिने कम्पनीको सेयर मध्ये एउटामा पाँच सय र अर्कोमा सातामै दुईसय रुपैयाँको घाटा खानपर्नु भनेको सामान्य लगानीकर्ताका लागि निकै घातक कुरा हो । उनीहरुलाई त्यसरी उचालिएर सेयर किन्नु वा नकिन्नु कसैले भनेको थिएन र अहिलेको घटाईमा त्यस्ता कम्पनीमा डुबेकाहरुलाई उद्धार गर्न कोही पनि आउँदैन ।

अर्को तर्फ संचित घाटा नै करोडौ रहेको, खराब कर्जाको अंश ६०, ७० प्रतिशत, आउने चार पाँच बर्षसम्म लाभांश वितरण गर्न नसक्ने कम्पनीमा दिनहुँ बुर्कुसी मारेर उचालिई सेयर किन्ने लगानीकर्तालाई पनि सान्त्वना दिन सकिन्न । सिमित ब्रोकरको हातबाट एकैचोटी लाखौं लगानीकर्ताको हातमा आफैले सेयर किन्ने र बेच्ने साँचो अर्थात युजर आईडी र पासवर्ड पुग्दा बजारमा नयाँ माहौल सिर्जना भयो । फेसबुक, युट्युबलगायतका सामाजिक संजाल र विभिन्न खाले अनलाईनले प्रबाह गर्ने सूचना, कुसुचना र खबरहरुको भिन्दाभिन्दै प्रस्तुतिले पनि लगानीकर्तालाई तत्कालै उत्तेजित र निराश बनाईदियो । लगानीकर्ता त्यसमा सतर्क बन्न नसक्दा परिणाम अलि चिन्ताजनक बनेको हो । सेयर बजारमा प्रबेश गर्ने हरेकले जान्नु पर्छ कि यो जोखिमको क्षेत्र हो । आफैले अध्ययन, विश्लेषण र निर्णय गरी बजारको चाल बुझेर लगानी गर्न सकिएन भने नराम्रो धोका पाईन्छ ।

बजारमा खेलाडीहरुले खेल्छन् र सोझा सिधाहरु उनीहरुको जालमा परेर फस्नसक्ने संभावना बढी हुन्छ । राजनीति, अर्थतन्त्र, तरलता, ब्याज दर, अन्य क्षेत्रमा लगानी जानसक्ने संभावना, कम्पनीको अबस्थामा फेरबदल, लगानीकर्ताको मनोबिज्ञान, माग र आपुर्तिको अबस्था लगायत धेरै कुराले सेयर बजारलाई प्रभावित बनाईदिन्छ । कथित विश्लेषकहरुको मनगढन्ते विश्लेषणहरु पढेर सुनेर कुद्नेहरुलाई पनि केही भन्न सकिन्न । यदि कोही सेयर बजारको खेलाडी अर्थात कारोबारी बनेर आएको हो भने उसले अहिले कमाएको वा गुमाएको कुरामा धेरै चिन्ता गर्नु आबश्यक छैन, उसले मोलेको जोखिमको भार उसैले लिन्छ ।

यदि सामान्य लगानीकर्ता नव प्रबेशीको रुपमा आएर कमजोर वा खराब कम्पनीमा फस्यो र दुख गरेर कमाएको पैसा गुमायो भने त्यो नियमनकारी निकायहरुको सरोकारको बिषय बन्नुपर्छ । सरकारले ल्याउछु भनेको नीति, नियम पूर्वाधार र प्रविधिको सही समयमा प्रबन्धन नभएकाले बजारमा संकट गहिरिएको हो कि भनेर तत्कालै गर्नुपर्ने काम गरिहाल्नुपर्छ । हामी लगानीकर्ताको तर्फबाट यसमा लगातार पहल भईरहेकै छ । सेयर बजारमा सुरक्षित लगानी गर्न चाहनेहरुलाई अहिले पनि नेपालको सेयर बजार अथाह संभावनाको मैदान हो । बजारको बिकास हुँदै गरेको अवस्था हुँदा सस्ता र राम्रा कम्पनीको सेयरमा दीर्घकालीन लगानी गर्नेहरुले लाभांश र पूँजीगत लाभ हासिल गर्नसक्ने ब्यापक संभावना छ ।

सेयर बजारका कारोबारीहरुका लागि कुनै सुझाव वा सल्लाह आबश्यक नपर्ला तर दीर्घकालीन लगानी गर्नेहरुका लागि कयौं कम्पनीहरु धेरै सुरक्षित छन् । कारोबारी बन्नेले कम्पनीको अबस्था र लाभांश क्षमता मात्र नहेरी पूँजीगत लाभ आर्जनको संभावनालाई धेरै ध्यान दिएका हुन्छन् भने दीर्घकालीन लगानीकर्ताले कम्पनीको अबस्था र लाभांशका साथै पूँजीगत लाभको पाटोलाई पनि उत्तिकै ख्याल गर्नुपर्छ । सेयर कारोबारी अर्थात खेलाडीले कहिल्यै लाभांश नबाँडेका, ऋणात्मक नेटवर्थ भएका, संस्थागत सुशासन नभएका कम्पनीहरुको सेयर मूल्यलाई माग र आपुर्तिमा खेलेर, विभिन्न हल्ला चलाएर मूल्य तलमाथि गरी कमाई गर्छन भने लगानीकर्ताले यस्तो खेलमा नलागी आफु जोखिमबाट बच्न धेरै कुरामा विचार पुर्याउँनै पर्छ । कारोबारी केही दिनमै करोडपति वा रोडपति हुन बेर लाग्दैन तर लगानीकर्ताले सोची विचारी राम्रा कम्पनीमा गरेको दीर्घकालीन लगानी खेर जाने संभावना कम हुन्छ र एकैपल्ट करोडपति बन्ने सपना देख्नु पनि गल्ति हुन्छ ।

अहिलेको अबस्थामा हाईड्रो तर्फ गत बर्षको नाफाबाट लाभांश बाँडेका, बृद्धि र बिकास संभव भएका कम्पनीहरुमा लगानी गर्दा दीर्घकालीन लाभ प्राप्त गर्न सकिन्छ । यसमा चिलिमेलाई सबैभन्दा माथि राखेर बिचार गर्दा सानिमामाई, बुटवल पावर, अप्पर तामाकोशी, अपी, अरुण काबेली, अरुण भ्याली, राधी देखि सुधारिदै गरेको नेशनल हाईड्रोसम्मका थुप्रै कम्पनीहरु हुन्सक्छन्, जहाँ भबिष्यमा लाभांश र पूँजीगत लाभको संभावना छ । जगेडा कोष ऋणात्मक भएका, लाभांश क्षमता नभएका र बृद्धि र बिकास संभव नभएका हाईड्रो कम्पनीहरुमा चाँही लाग्नैहुन्न । हकप्रदको लोभमा झन् फस्नै हुन्न ।

सुरक्षित लगानीको अर्को आधार बाणिज्य बैंकहरु हुन् । पाँच सय रुपैयाँ प्रतिकित्ता भन्दा मूल्य कम भएका बाणिज्य बैंकहरुमा लाभांश र पूँजीगत लाभ दुबै हुनसक्छ । लगानी सुरक्षाका हिसाबले पनि यस्ता कम्पनीहरु उपयुक्त छन् । बिकास बैंकमा मुक्तिनाथ, गरिमा, साँग्रिला, कामना सेवा, महालक्ष्मी, लुम्बिनी र ज्योति बिकास बैंक जस्ताको सेयरमा लगानी उपयुक्त हुनसक्छ । यी कम्पनीहरुमा ढुक्कको लाभांशका साथै भोलि बाणिज्य बैंकमा मिसिदा पनि राम्रै स्वापको कारणले फाईदा छ । फाईनान्सहरु तर्फ आईसीएफसी, मन्जुश्री, गुडविल, श्री ईन्भेष्टमेन्ट, पोखरा, गोर्खाज, रिलायन्स, गुहेश्वरी मर्चेन्ट, जानकीमा लगानी उपयुक्त छ किनभने यिनीहरुले चालु बर्षको नाफाबाट कम्तिमा १० प्रतिशत लाभांश वितरण गर्नसक्छन् ।

८० करोड चुक्ता पूँजी भएकाले माग र आपुर्तिको हिसाबले पनि फाईनान्सको सेयर मूल्य बृद्धिमा चाप पर्नसक्छ । सेयर मूल्य सस्तो छ र कुनै बाणिज्य बैंकमा मिसिए भने राम्रै स्वाप प्राप्त गर्नसक्छन् । फाईनान्सहरुको दोस्रो र तेस्रो त्रैमासको नाफामा अभुतपूर्व प्रगति हुने संभावना छ किनभने उनीहरुले सेयर र सम्पति बेचेर धेरै कमाएको अबस्था छ । जीवन र निर्जिवन बीमा तर्फ आफ्नो जोखिमबहन क्षमता हेरी राम्रा कम्पनीहरु छनौट गरेर लगानी गर्दा भबिष्यमा राम्रै हुन्छ । अन्तर्राष्ट्रिय सेयर बजारमा बीमाहरुको सेयर मूल्य माथि नै रहेको देखिदा यहाँ पनि उच्च मूल्य हुनु अस्वभाविक हैन । लघुवित्ततर्फ बाणिज्य बैंकहरु संस्थापक रहि राम्रो पूँजी आधार भएका, बृद्धि र बिकास गर्दै गएका स्वावलम्बन, छिमेक, निर्धन उत्थान, आरएमडीसी, साना किसान, डिप्रोक्स, फस्र्ट माईक्रो, आरएसडीसी जस्ता कम्पनीहरु उपयुक्त छन्, जसबाट लाभांश सुनिश्चित छ, मर्जरमा गएर लामो समय सेयर बन्धक बनाउने संभावना छैन, संस्थागत सुशासन राम्रो छ ।

लगानीको अर्को उपयुक्त क्षेत्र सामुहिक लगानी कोषहरु पनि हुन् । हालै सेयर बजारमा भएको मूल्य बृद्धिले यी कोषहरुको नाफा बढेको छ र आगामी दिनमा राम्रो नगद लाभांश हात पर्नसक्छ । आफुले ठ्रलो जोखिम नलिई ढुक्कको लाभ प्राप्त गर्न सामुहिक लगानी कोषहरु धेरै राम्रो बिकल्प हो । अघिल्ला बर्षहरु भन्दा यस बर्ष सामुहिक लगानी कोषहरुले राम्रो लाभांश वितरण गर्ने संभावना छ । अलि बढी जोखिम लिन चाहनेले नेपाल टेलिकम, शिवम, हिालयन डिष्टीलरी, साल्ट ट्रेडिड., नागरिक लगानी कोष, जलविद्युत बिकास कम्पनी जस्ता कम्पनीहरुमा पनि लगानी गर्नसक्छन् । धेरै चर्चामा रहेका निफ्रा र पुर्नबिमा कम्पनीहरुको बारेमा साधारण लगानीकर्तालाई तत्काल केही सुझाव दिन सकिन्न ।

कोराना कहरले पर्यटन क्षेत्र थला परे पनि होटल क्षेत्रमा ओरियन्टल र तारागाँउमा गरिने लगानी पनि भबिष्यको हिसाबले उपयुक्त छ । सोल्टी होटलको १० रुपैयाँको मूल्य अहिले दुई हजार माथि पुगेको छ भने नयाँ आएको चन्द्रागिरीले आगामी तीन बर्षसम्म लाभांश दिन सक्दैन तर माग र आपुर्तिको सन्तुलन नमिल्दा मूल्य माथि गईरहेको छ । यहाँ उल्लेख गरिएका बाहेकका कम्पनीका सेयरहरुमा कारोबारीहरुका लागि उपयुक्त छन् । कारोबारीहरुले हेर्ने भनेको मूल्य उचालिने, अनेक बहानाबाजी र खेल हुने, खेलाडीहरु लाग्ने कम्पनी नै हुन् तर त्यसमा जोखिमको मात्रा अत्यधिक हुने हुँदा सामान्य लगानीकर्ताहरुका लागि सिफारिस गरिदैन ।

सस्ता सेयर मूल्य रहेका तर राम्रा फरक समूहका कम्तिमा पाँच वटा कम्पनीमा लगानी विविधिकरण गरेर अगाडि बढ्दा अहिलेको जस्तो भागदौडमा सामेल हुनु पर्दैन । अहिले सेयरको मूल्य बेस्सरी घटेर लगानीकर्ताहरु भागिरहेका बेला छानी छानी राम्रा कम्पनीका सस्ता सेयर उठाउँन बिलम्ब गर्नु हुँँदैन । सेयर बजार घटाई लगानी गर्ने मौका नै हो । कम्पनीको अबस्था, प्रतिशेयर आम्दानी, सेयर मूल्य, मूल्य आम्दानी अनुपात, लाभांश क्षमता, माग र आपुर्तिको अबस्था हेरेर नै घटेको बेला सेयर किन्ने हो । नेप्से सूचक हेरेर सेयर किन्ने वा बेच्ने गर्दै नगरौं । सेयरको मूल्य बढेको बेला त बेचेर फाईदा सुरक्षित गर्ने हो । त्यसैले नआँत्तिई, नमात्तिई मौकाको सदुपयोग गरौं । नेप्से सूचक बढेको वा घटेको आतंक र कुनै अफवाहको पछि नलागौं, नभागौं ।

स्पष्टिकरणः यहाँ उल्लेख गरिएका कम्पनीहरुमा लगानी गर्नुभन्दा पहिले लगानीकर्ता स्वयंले गहन अध्ययन, बिश्लेषण गरी आफ्नो लगानी रणनीति र जोखिम बहन क्षमता बलियो बनाउनु अनिबार्य छ ।

(कोइरालाको यो विश्लेषणात्मक लेख मेरोलगानी डटकमबाट साभार गरिएको हो । कोइराला पूँजी बजार बिकास अभियानका संयोजक हुन्, यो सामाग्री उनको ब्यक्तिगत विचार हो )

नेप्सेमा ५७.०३ अंकको गिरावट, कारोबार रकममा पनि कमी

काठमाडौं । धितोपत्र दोस्रो बजार मापक नेप्से परिसूचक सोमबार ५७.०३ अंकले घटेर २५८०.७६ विन्दुमा बन्द भएको छ । नेप्से परिसूचकसँगै कारोबार रकम पनि गिरावट आएको छ । यस दिन सात अर्ब ३६ करोड १९ लाख रुपैयाँको सेयर कारोबार भएको छ । आइतबार १० अर्ब ३३ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको थियो । १४ कम्पनीको मात्र सेयर मूल्य वृद्धि भएको छ । २२७ कम्पनीको सेयर मूल्य घटेको छ । तीन कम्पनीको सेयर मूल्य स्थिर रहेको नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले जनाएको छ । घटेको बजारमा आत्मनिर्भर लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य १० प्रतिशतले बढेको छ । हिमालयन हाइड्रोपावरको सेयर मूल्य ९.९९ प्रतिशतले वृद्धि भएको छ । गुडविल फाइनान्सको सेयर मूल्य ९.९१ प्रतिशतले घटेको छ । थ्री स्टार हाइड्रोपावरको सेयर मूल्य पनि ९.३६ प्रतिशतले घटेको छ । १३ वटै समूहको परिसूचक घटेको छ ।

नेप्से परिसूचक २४ सय अंकको बिन्दुमा

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक २४ सय अङ्कको बिन्दुमा पुगेको छ । २७ महिनापछि नेप्से २४ सयको अंकको विन्दुमा पुगेको हो ।  दुई ठुला राजनीतिक दलहरू नेपाली कांग्रेस र नेकपा एमाले मिलेर दुई तिहाइ आसपासको बहुमत सरकार गठन गरेयता नेप्से परिसूचक बढ्दै आएको छ । असार १७ गते मध्यरातमा कांग्रेस र एमालेले सम्झौता गर्ने भएपछि सोही दिन देखि बजार बढेको थियो । त्यसयताका १४ कारोबार दिन मध्ये परिसूचक २ दिन मात्रै घटेको छ ।  २०७८ चैत महिनामा नेप्से परिसूचक २४ सय अङ्कको बिन्दुमा थियो । त्यसयता निरन्तर घटेर १८ सय अङ्कको बिन्दुसम्म आइपुगेको नेप्से परिसूचक यतिबेला निरन्तर बढिरहेको छ । 

सेयर कारोबार बढ्दा नेप्सेपनि उकालो

काठमाडौं । सोमबार सेयरबजार ०.०७ अंकले हरियो भएको छ। सोमबार यो अंकले नेप्से बढ्दा १९८०.३४ विन्दुमा पुगेर रोकिएको छ।  योसँगै बजारमा २ अर्ब ९५ करोड ९४ लाख रुपैयाँको कारोबार भएको छ । सोमबार दिनभरिमा ७३ लाख ४१ हजार कित्ता सेयर बिक्री भएको छ।  नेपाल स्टक एक्सचेन्जका अनुसार आज ९९ कम्पनीको सेयर बढेको छ भने १२८ वटाको घटेको र १७ वटाको उही मूल्यमा कारोबार भएको छ।  सोमबार तीनवटा कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ। पोखरा फाइनान्स र जानकी फाइनान्सको १० प्रतिशतले बढेको छ भने नेपाल फाइनान्सको पनि ९.९८ प्रतिशतले सेयर मूल्य बढेको छ।  लगानीकर्ताहरुको आज ६ प्रतिशतसम्म प्रतिसेयर नोक्सानी भएको छ । आज सर्वाधिक कारोबार भएको पोखरा फाइनान्स कम्पनीको १७ करोड ५४ लाख रुपैयाँको सेयर कारोबार भएको छ। 

नेप्सेमा सामान्य गिरावट

काठमाडौं । साताको अन्तिम कारोबार दिन आज सेयर बजार मापक नेप्से परिसूचक सामान्य घटेको छ । बिहीबारनेप्से ३.२४ अंकले घटेर १९६५.९३ को विन्दुमा झरेको छ ।  आज ३०३ धितोपत्रको ६३ लाख १२ हजार ५५२ कित्ता सेयर दुई अर्ब ३६ करोड ६९ लाख ७५ हजार ५९४ रुपैयाँमा किनबेच भएको छ । १३ वटा उपसमूहमध्ये पाँच वटाको समूहगत सूचक बढ्दा बाँकी आठ वटाको समूहगत सूचक घटेको छ ।  यस दिन मल्टी प्रपोज फाइनान्स कम्पनीको सेयर मूल्य सर्वाधिक ९.९९ प्रतिशतले बढेको नेपाल स्टक एक्सचेन्जले जनाएको छ । त्यस्तै, आज सबैको लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य सर्वाधिक ५.८३ प्रतिशतले घटेको छ ।  

लोकप्रिय