सत्ता गठबन्धन फेरिने हल्ला निराधार– प्रधानमन्त्री
फागुन २१, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बर्तमान सत्ता गठबन्धन फेरिने हल्ला निराधार भएको बताउनु भएको छ । शनिबार साँझ नेपाल टेलिभिजनको ‘सिधा कुरा प्रधानमन्त्रीसँग’ कार्यक्रमको अन्तरवार्तामा प्रधानमन्त्रीले उक्त कुरा बताउनु भएको हो ।
तयारी गरेरै निर्वाचनकाे घाेषणा
न्यूनतम् आवश्यक तयारी गरेर नै निर्वाचनको मिति घोषणा गरिएको हो । ऐनहरु बनेका छन्, अरु केही ऐन पनि पारित गर्नुछ । तर, त्यसले स्थानीय निर्वाचनलाई असर गर्दैन । संसद खुल्ने बित्तिकै बाँकी ऐन पनि पारित हुन्छन् । स्थानीय तहको प्रतिवेदनका सन्दर्भमा पनि पर्याप्त आधार दिएका छौं । कार्यदलको प्रतिवेदन पनि आएको छ । भोलि मन्त्रीपरिषदबाट त्यो प्रतिवेदन पनि पास गरेर कार्यान्वयनमा जान्छ । भोलि हामी सम्पूर्ण सामाग्री निर्वाचन आयोगलाई दिन्छौं ।
प्रदेश र केन्द्रको निर्वाचन एकै दिन गर्न सकिन्छ । स्थानीय निर्वाचनले हामीलाई अनुभव र उत्साह पनि दिन्छ । मौसमका कारण पनि पौष र माघ महिनामा निर्वाचन हुन कठिन हुन्छ । त्यसैले आगामी कार्तिक वा मंसीरभित्र प्रदेश र केन्द्रको निर्वाचन गर्नुपर्छ, गर्न सकिन्छ । २०७४ माघ ७ मा संसदको म्याद थप्ने कुरा कल्पना पनि गर्नु हुँदैन । संविधानले दिएको समयसीमा पालना गर्नैपर्छ । संसदको म्याद थप्ने कुरा म कल्पना गर्न सक्दिनँ ।
संशोधन विद्येयक निर्वाचन अगाडि नै पारित गर्न पहल
प्रधानमन्त्री भएदेखि नै थारु, मधेशी र जनजातिका मुद्दा अधिकतम् सम्बोधन गर्ने मेरो प्रयास हो । मधेशी मोर्चालाई पनि सहभागी बनाएरै निर्वाचनमा गइन्छ, मेरो पुरै कोशिस छ । संशोधन विद्येयकलाई निर्वाचन अगाडि नै पारित गर्न चाहन्छौं, त्यसका लागि सबै राजनीतिक दलसँग सम्वाद जारी छ । त्यसका लागि सम्पूर्ण रुपले कोशिस हुन्छ ।
संशोधन प्रस्तावमा सहमति पनि जारी छ । अहिले गर्ने स्थानीय तहको निर्वाचन हो । स्थानीय तहको निर्वाचनमा मधेशी मोर्चाको चासोलाई सम्बोधन गर्ने कोशिस भएको छ । यसले मधेशी मोर्चाको चासो पनि सम्बोधन हुन्छ । बाँकी कुरा सम्बोधन गर्दै जान पनि सकिन्छ । स्थानीय निर्वाचनसँग सम्बन्धित कुरा टुङ्गाएर बाँकी कुरामा सहमति खोज्दै जान सकिन्छ । यो बिकल्प पनि हामीसँग छ । संशोधन विद्येयक थाती राखेर निर्वाचन गर्ने भनेको होइन । तर, संशोधन प्रस्ताव मतदानमा गएपछि जसरी पनि पारित हुनुपर्छ, केही समय लिएर भएपनि संशोधन प्रस्ताव पारित गरौं भन्ने मेरो प्रष्ट मत हो ।
राप्रपाका नेताहरुले औपचारिक रुपमै संशोधन प्रस्तावको पक्षमा भोट हाल्न सक्दैनौं भनेपछि हामीले संशोधन विद्येयक मतदानमा लान नचाहेको हो । किनकि, त्यसरी जाँदा संशोधन फेल हुन्छ । हामी त्यो चाहँदैनौं ।
राष्ट्रिय सहमतिको सरकार सम्भव छैन
आजकै मितिमा राष्ट्रिय सहमतिको सरकार सम्भव छैन । स्थानीय तहको निर्वाचन सम्पन्न गर्नुअघि अर्को कुनै सरकारको कल्पना गर्न सकिँदैन । गठबन्धन फेरिने बजार हल्ला पनि आएका छन् । तर, ती सत्य होइनन् । स्थानीय निर्वाचनका लागि सरकार सबै लचकता अपनाउन तयार छ । तर, निर्वाचन प्रभावित हुने कुरामा सहमति र लचकता हुँदैन ।
आचारसंहिता उल्लंघन गरेको छैन
शहिद सप्ताह अन्तर्गतको एउटा कार्यक्रममा म गएको हो । त्यो शहिदलाई सम्मान गर्ने कार्यक्रम हो । त्यो निर्वाचन प्रयोजनका निम्ति गरिएको कार्यक्रम होइन । त्यहाँ कुनै कार्यक्रम घोषणा गरिएको पनि छैन । मैले निर्वाचन आयोगको पूर्व स्वीकृति पनि लिएको छु । त्यसैले प्रधानमन्त्रीले निर्वाचन आचारसंहिता तोड्नु भन्नु भ्रामक छ ।
सबैले आफ्नो राजनीतिक गतिविधि शान्तिपूर्ण रुपमा गर्न पाउँछन् । भर्खरै गृहमन्त्रीजीलाई बोलाएर पनि शान्ति सुरक्षा कायम गर्न भनेको छु । सबैले आफ्ना राजनीतिक गतिविधि गर्न पाउँछन्, पाउनुपर्छ । शान्तिपूर्ण रुपमा हुने क्रियाकलापलाई अवरोध नगर्न र शान्तिपूर्ण रुपमै जान सबैलाई अपील पनि गर्दछु ।
राजनीतिक स्थीरता र आर्थिक समृद्धि प्राथमिकतामा
राजनीतिक स्थीरता र आर्थिक समृद्धि मेरो प्राथमिकता हो । अहिले सम्पन्न लगानी सम्मेलन धेरै उत्साहवद्र्धक भयो । धेरै लगानीकर्ताको सहभागिता रह्यो । १४ अरबभन्दा बढीको लगानीको प्रतिवद्धताले नयाँ सन्देश दिएको छ । अब नेपालमा आर्थिक विकासले गति लिन्छ भन्ने यसले प्रष्ट गर्दछ । सबै मिलेर नेपालमा लगानीको वातावरण छ भन्ने विश्वास दिलाएका छौं । सबै राजनीतिक दलले एक मतले अपील गरेका छौं ।
लगानीका लागि नियम कानून प्रभावकारी बनाउनुपर्छ । नियम कानून लगानीमैत्री हुनुपर्छ । दोस्रो राजनीतिक सहमति हो, हामीले लगानीका लागि साझा प्रतिवद्धता व्यक्त गरेका छौं । जनताको उत्साह पनि बढेको छ । अब देशमा लगानीको वातावरण बनेको छ । लगानीको प्रतिवद्धता व्यवहारमा कार्यान्वयन हुन्छ । लगानीको प्रतिवद्धता कार्यान्वयन हुँदैन भनेर शंका गरिरहनु अब आवश्यक छैन । लगानी कार्यान्वयनमा छिमेकीको सकारात्मक सहयोग नै पाएका छौं, कोही पनि यसमा बाधक छैनन् ।
जलविद्युतमा लगानी गर्ने उत्साह बढ्दैछ । नेपालमा आएको लगानी प्रतिवद्धता फिर्ता जाँदैन, बरु बढ्दै जान्छ । नेपालमा मेघा हाइड्रो प्रोजेक्टहरु बन्दैछन्, यसमा विदेशी लगानीको आकर्षण छ । जलविद्युत र पर्यटनमा नेपालमा निकै राम्रो सम्भावना छ, त्यसैले लगानीको प्रतिवद्धता घट््दैन, बरु बढ्छ ।
काठमाडौंमा मेलम्चीको पानी ल्याउने सन्दर्भमा धुँवा, धुलो बढेको छ । म भोलि क्याविनेटमा यस विषयमा कुरा गर्छु । अस्थायी रुपमा कालोपत्रे गर्ने वा अरु केही गर्ने भोलि निर्णय गछौं । हाम्रो कर्मचारीतन्त्र, नियम, कानून र संस्कारमा पनि समस्या छ । अहिले काठमाडौंमा आएको धुँवा, धुलो हटाउन भोलि नै ठोस निर्णय हुन्छ ।
विदेशका नेपालीका लागि सरकार गम्भीर
विदेशमा बस्ने नेपालीहरुको हितमा सरकारले गम्भीर रुपमा लागेको छ । पासपोर्टको शुल्क घटाउने, बीमा रकम बढाउने लगायतका काममा सरकारले आवश्यक निर्णय गरिसकेको छ । साउदीको जेलमा रहेका रोल्पाका दिलबहादुर घर्ति लगायतको समस्या समाधान गर्ने यथार्थ जानकारी र सुझाव ल्याउन परराष्ट्र सचिवलाई भनेको छु, त्यसमा मेरो कुटनीतिक र राजनीतिक पहल हुन्छ ।
सत्य निरुपण आयोगले निकै मेहेनत गरेर काम गरेको छ । शान्ति प्रक्रियाका महत्वपूर्ण कामहरु अघि बढेका छन् । बाँकी काम पनि छिटै अगाडि बढ्छन् ।
तस्करको नेटवर्क धेरै पुरानो रहेछ । बरु, यो सरकारको पालामा धेरै तस्कर पक्रियौं । मैले लगातार नै कोशिस गरेपछि नै तस्करहरु पक्राउ परेका छन् । हामी तस्करीको मुल जरोमा पुगेर नै त्यसलाई निमिठ्यान्न पार्न खोजेका छौं, त्यसमा सरकार सफल हुँदैछ । यो सरकारको सुशासनकै पहल हो । प्रहरी प्रशासनभित्र असाध्यै इमान्दार राष्ट्रसेवक छन्, एकाध नराम्रा मान्छे भए भन्दैमा सबैलाई दोष दिन मिल्दैन ।
त्रिविको सिनेटमा मैले स्ववियू निर्वाचन गर्नैपर्छ भनेको थिएँ । पछि केही राजनीतिक विवाद भएपछि सत्ता पक्ष र प्रतिपक्षी राखेर कुरा गरें र समाधान खोजें । स्ववियू निर्वाचनले लोकतन्त्रको अभ्यास भएको छ । यसले जागरण र गतिशीलता बढेको छ, सक्रियता बढाएको छ । स्ववियू निर्वाचनले स्थानीय निर्वाचन सम्पन्न गर्न सकारात्मक सन्देश दिएको छ, निर्वाचनका लागि प्रेरणा दिएको छ ।
प्रचण्ड सचिवालयले भन्यो- 'गगनको अभिव्यक्तिमा ओरालो बाटोको मनोदशा राम्रैसँग छचल्कियो'
काठमाडौं । सत्तारुढ नेपाली कांग्रेसका महामन्त्री गगन थापाको अभिव्यक्तिलाई प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको सचिवालयले खण्डन गरेको छ। कांग्रेस महामन्त्री गगन थापाको अभिव्यक्ति गगन थापाको ओरालो बाटोको मनोदशाबाट ग्रसित भएर आएको टिप्पणी गरेका हुन् । आज (बिहीबार) काठमाडौँको कीर्तिपुरमा कांग्रेसको चुनावी सभालाई सम्बोधन गर्दै महामन्त्री थापाले ‘प्रचण्ड’ले प्रधानमन्त्री भइदिनुपर्यो भनेर हप्तामा एकपटक खबर पठाउने गरेको दाबी गरेका थिए। यसैको खण्डन गर्दै प्रचण्डको सचिवालयले वक्तव्य जारी गरेको हो। प्रचण्डका स्वकीय सचिव रमेश मल्लले लेखेका छन्, ‘महामन्त्रीजी ! कीर्तिपुरको निर्वाचनमा नेका (नेपाली कांग्रेस) को ओरालो बाटो तपाईंको मनोदशाबाट राम्रैसँग छचल्किएछ। यति कुरा हेक्का राख्नुस्, माओवादी अब कसैलाई प्रधानमन्त्री बनिदिनुस् भनेर हिँड्दैन, माओवादी नयाँ जनादेशसहित आफैँ प्रधानमन्त्री बन्ने हैसियत बनाउँछ।’
उपनिर्वाचन भ्रष्टाचारको पक्ष र विपक्षको जनमत सङ्ग्रहजस्तै होः प्रचण्ड
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मंसिर १६ गते हुने उपनिर्वाचन २०८४ को निर्वाचनका लागि आँखिझ्याल हुने बताउनुभएको छ । माओवादी केन्द्र कीर्तिपुरले आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै उहाँले कीर्तिपुर नगरपालिकासहित देशभरका ४४ स्थानमा हुने उपनिर्वाचनले ८४ को चुनावको नतिजा इंगित गर्ने बताउनुभएको हो । ‘यो पटक यो नगरपालिकाबाट दिने सन्देश र ४४ वटा उपनचुनावबाट दिने सन्देश ८४ को लागि आँखीझ्याल हुनेछ । यहाँबाट ८४ कस्तो हुनेछ भन्ने देखिन्छ’– उहाँले भन्नुभयो । अध्यक्ष प्रचण्डले कोही कसैको पनि डर, धाक, प्रलोभन र लोभमा नफसि विकास निर्माणको अभियानमा अघि बढ्न आग्रह पनि गर्नुभयो । अध्यक्ष प्रचण्डले उपनिर्वाचन भ्रष्टाचारको पक्ष र विपक्षबिचमा जनमत सङ्ग्रह भएको बताउनुभयो । उहाँले सरकार पक्षलाई भ्रष्टाचारीको संज्ञा दिँदै भ्रष्टाचारको विपक्षमा उभिएका दलका उम्मेदवारलाई जिताउन आग्रह गर्नुभयो । ‘जनता भ्रष्टाचारको पक्षमा छन् या भ्रष्टाचारका विरुद्ध छन् भन्ने फैसला गर्ने सर्वोच्च अदालत हो, यो निर्वाचन’– उहाँले भन्नुभयो– ‘मलाई विश्वास छ, नेपाली जनता भ्रष्टाचारका पक्षमा हुन सक्दैनन्, भ्रष्टाचारका विरुद्ध छन् ।’ उहाँले नेपाली जनता सुशासन, सामाजिक न्याय, आर्थिक समृद्धिका पक्षमा रहेको भन्दै हेर्दा उपचुनाव भए पनि यथार्थमा भ्रष्टाचारका पक्ष र विपक्षको जनतमसंग्रहजस्तै भएको बताउनुभयो । उहाँले वर्तमान सरकार असंवैधानिक र अप्राकृतिक ढंगले बनेको बताउनुभयो । अहिले सरकारको नेतृत्व गरिरहेकाहरूमा नै भ्रष्टाचारको तिर सोझिएपछि अप्राकृतिक ढंगबाट सरकार बन्न पुगेको स्पष्ट गर्दै उहाँले भन्नुभयो– ‘भ्रष्टाचारविरोधी अभियानको तीर ठूलो ठाउँमा पुग्ने भयो । त्यो अहिले सरकारको नेतृत्व गरेकाहरूकै ठाउँमा पुग्ने भयो। सिधा, सरल छ । यहाँ घुमाएर गर्नुपर्ने कुरा छैन । बेचन झा र प्रतिक थापा पक्राउ परेपछि फरार अभियुक्त गिरफ्तार भइसकेपछि भ्रष्टाचारविरोधी अभियानको सुई कता सोझियो भन्ने बुझ्नुभएकै छ ।’ ‘राजनीतिक परिवर्तन भए पनि जनताको अवस्था परिवर्तनका लागि नयाँ संकल्प, एउटा नयाँ अभियान र एउटा नयाँ आन्दोलन आवश्यक रहेको औल्याउँदै उहाँले थप्नुभयो– ‘म थाकेको छैन । फेरि आन्दोलन गरेर जनताको सुशासन, सामाजिक न्याय र आर्थिक विकासको आकांक्षा पूरा गर्ने वातावारण बनाउन मैले रातदिन देशभरी खटिरहेको छु ।’ मंसिर १६ को निर्वाचनमा माओवादी केन्द्रलाई विजयी बनाउन आह्वान गर्दै अध्यक्ष प्रचण्डले भन्नुभयो– ‘म ऐतिहासिक अपिल गर्न चाहन्छु । यो सामान्य कुरा छैन । यो सामान्य चुनाव जित र हारको कुरा मात्रै छैन । यो नेपाली जनताले जित्ने या नेपालका दलाल विचौलियाहरू, अहिले राज्य केही विचौलियाहरूले चलाउने गरेका छन्,’ उनले भने, ‘मैले त्यही विचौलियाहरूको सेटिङ भत्काउने कोशिस गरेँ । मैले गरेको गल्ती भन्नुहुन्छ भने त्यही हो । पहिला दुई दुई पटक संसद् विघटन संविधान मिचेर गर्दा सेटिङमा भत्काइएको थियो । र यो सेटिङ भत्काउनैपर्छ भनेर हामीले ठूलो ठूलो आन्दोलन गरेका थियौँ । त्यतिबेला साँच्चै त्यो सेटिङ भत्किएको थियो ।’
उपनिर्वाचन : कीर्तिपुरको चुनावी सभालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्ड
काठमाडौं । मंसिर १६ गते हुने उपनिर्वाचनलाई लक्षित गर्दै नेकपा (माओवादी केन्द्र) कीर्तिपुर नगरपालिकाले चुनावीसभा आयोजना गर्ने भएको छ । माओवादी केन्द्र कीर्तिपुर नगरपालिकाले एक पोस्टर सार्वजनिक गर्दै मंसिर १३ गते २ः३० बजे कीर्तिपुर नःगाउँ दोबाटोमा चुनावी सभा गर्ने जनाएको छ । सभालाई माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड मेयर पदका उम्मेदवार प्रा.डा.शिवशरण महर्जन लगायतले सम्बोधन गर्ने बताइएको छ । कीर्तिपुरका सबै वडामा भइरहेको उम्मेदवारसहितको घरदैलो कार्यक्रममा व्यक्त जनमत एवं माओवादी उम्मेदवारप्रति विभिन्न राजनीतिक दल र व्यक्तिवाट प्राप्त समर्थनका कारण माओवादीको जित सुनिश्चित भएको माओवादी केन्द्रले जनाएको छ। माओवादी कीर्तिपुर नगर समितिका अध्यक्ष धनबहादुर महर्जनका अनुसार मंगलवार एकीकृत समाजवादीवाट मेयरका उम्मेदवार भानु रिजालले आफ्नो उम्मेदवारी निस्क्रिय पार्दै महर्जनलाई मतदान गर्न अपिल गरेका छन् । सरल स्वभावका मर्हजनलाई जिताउन विगतमा टुटफूटभएका विप्लव नेतृत्वको माओवादीसहित विभिन्न समूह सक्रिय भएका छन् । करिव ४३ वर्षदेखि कीर्तिपुरमा प्राध्यापन, समाजसेवा, विकास निर्माण र जनताका कामहरुमा संलग्न रहँदै आएका शिवशरण महर्जनको व्यक्तित्वका कारण निर्वाचन जित्नेमा पार्टी ढुक्क रहेको माओवादी केन्द्र कीर्तिपुरले जनाएको छ ।
बक्यौता नतिर्ने उद्योगको बैंक र सेयर खाता रोक्का गर्न प्राधिकरणको पत्राचार(पत्रसहित)
काठमाडौं । डेडिकेटेड तथा ट्रंक फिडरमा लाइन नकाट्न निर्देशन पाएपछि नेपाल विद्युत् प्राधिकरणले बक्यौता उठाउने उद्योगहरूको बैंक खाता, सेयर रोक्का गर्न पत्राचार गरेको छ । नियमन आयोगले लाइन नकाटी अन्य विकल्पबाट बक्यौता उठाउन पत्रचार गरेपछि प्राधिकरण बैंक खाता रोक्का, सेयर कारोबार गर्न नपाउनेलगायत विकल्पमा गएको हो । प्राधिकरणले नेपाल राष्ट्र बैंक, धितोपत्र बोर्ड, कम्पनी राजिस्ट्रार कार्यालयमा खाता तथा सेयर खरिदबिक्री रोक्काका लागि पत्राचार गरेको छ । पत्रमा प्राधिकरणले खाताबाट रकम झिक्न नपाउने, सेयर निष्कासन गर्न नपाउने माग गरेको छ यस्तै, प्राधिकरणले रिलायन्स स्पिनिङ मिल्सको ७५ करोड ३६ लाख ८४ हजार ३३५ रुपैयाँ विद्युत् खरिद सम्झौताबमोजिम भुक्तानी हुने रकमबाट असुल गर्न पियोर इनर्जीलाई पत्राचार गरेको छ । प्राधिकरणले ३४ वटा उद्योगको २०७२ माघदेखि २०७५ वैशाखसम्मको बक्यौता बाँकी रहेका उद्योगहरूको विवरणसहित पत्राचार गरेको हो । प्राधिकरणका अनुसार, उक्त अवधिको जम्मा ६ अर्ब ४० करोड ९२ लाख ४० हजार ७०१ रुपैयाँ बाँकी छ । ३४ बाहेकका अन्य उद्योग भने किस्ताबन्दीमा आइसकेको प्राधिकरणले जनाएको छ ।