साउदीमा ११ युवा अलपत्र, राजदूतले वास्ता नगरेको आरोप
साउदी अरबमा फेरी ११ जना युवा अलपत्र परेका छन् । कम्पनीसँग काम गरेको ज्याला माग्दा निकालिएपछि उनीहरु सहाराविहिन भएका हुन । साउदी अरबको रियाद सहरको ६ नम्बर आवोल हुवा रोडमा रहेका विभिन्न कम्पनीमा काम गर्ने ११ नेपाली युवाका बारेमा प्रकाशित समाचार
अनुसार, दूतावासले समेत उनीहरुलाई सहयोग गरेको छैन । राजदूतले समेत भेट गर्न समय नदिएको उनीहरुको गुनासो छ ।
यसबारेमा थाहा खबर अनलाईनमा उदयपुरबाट बिदूर कटवालले लेखेको समाचार यस्तो छ ।
उदयपुर : साउदी अरबको रियाद सहरको ६ नम्बर आवोल हुवा रोडमा रहेका विभिन्न कम्पनीमा काम गर्ने ११ नेपाली युवा विनातलब कम्पनीबाट निकालिएका छन्।
सात महिनाअघि नेपालका दुई म्यानपावरमार्फत साउदी पुगेका ११ जना नेपाली युवा काम गर्ने कम्पनीमा तलब माग्दा विनाज्याला निकालिएका हुन्। काठमाडौंमा रहेको लक्की म्यानपावर ओभरसिज र एचआरडी ओभरसिजमार्फत साउदी अरबको रियाद सहर पुगेको ६ महिनामा अलपत्र परेको पीडित दिनेश खत्रीले बताए।
‘नेपालका ८ जिल्लाका ११ युवा अहिले नेपाली राजदूतावासनजिकै रहेको रोडमा तीनदिनदेखि रात कटाइरहेका छौं,’ उदयपुर थाहा खबरकर्मीसँग फेसबुक म्यासेन्जर र भाइबरमा कुरा गर्दै खत्रीले भने, ‘हामीलाई ट्राभल डकुमेन्ट मिलाएर नेपाल फर्काइदेऊ भन्दा पनि राजदूतावासले कुनै सुनुवाइ गरेको छैन।’
यसैगरी, साउदीको रियाद सहरको ६ नम्बर आवोल हुवा रोडकै कम्पनीबाटै लखेटिएका उदयपुर घर भएका हेमराज बस्नेतले ६ वटा कम्पनीमा कार्यरत नेपाली विनातलब लखेटिनुपरेको बताए। ‘हामी सबैलाई एउटा कम्पनीमा सम्झौता गरेर साउदीमा पठायो म्यानपावरले अनि अर्कै कम्पनीमा काम लगायो,’ बस्नेतले भने, खान बस्नलाई मात्र पैसा दिने अरु काम गरेको ज्याला माग्न थालेपछि कम्पनीबाटै लखेटिदियो।’ रियाद सहरको ६ नम्बर आवोल हुवा रोडमामा सुतिरहेको फोटो म्यासेन्जरमा पठाउँदै दाङका देव ठाकुरले गएको शुक्रबारदेखि दूतावासको शरण खोज्न बाध्य भएको बताए। उनका अनुसार अलपत्र पर्नेमा अम्बिका प्रसाद भट्टराई र हेमराज बस्नेत उदयपुर, दीपक खत्री खोटाङ, देव ठाकुर दाङ, सन्तोष नेपाली तनहुँ, हरिबहादुर खबास स्याङजा, लालप्रसाद भट्ट मुगु, केशवबहादुर बोहोर र नरबहादुर बोहोरा बैतडी, जगत कसेरा र दीपक विक सुर्खेतका छन्।
पीडितका अनुसार खोटाङ दीपक एचआरडी म्यानपावरमार्फत साउदी गएका हुन् भने अरु सबै लक्की म्यानपावरका स्थानीय दलालमार्फत साउदी पुगेका हुन्। ‘हामी सबैलाई स्थानीय रुपमा एजेन्टको काम गर्ने दलालले ठगेको रहेछ,’ तनहुँका सन्तोष नेपालीले भने, ‘हामी अलपत्र परेकाले नेपाल फिर्ता गरिदेऊ भन्दा म्यानपावरले समेत गाली गर्छ।’ राजदूत महेन्द्र सिंहले भेट नै दिँदैनन् साउदीका लागि राजदूत भएर गएका राजदूत महेन्द्र सिंहले अलपत्र परेका नेपालीलाई भेटै नदिने गरेको पीडित ११ नेपालीले गुनासो गरेका छन्।
गएको शुक्रबारदेखि राजदूतको कार्यालय अगाडिको खुला रोडमा बसेर भेट्ने समय माग्दा पनि राजदूत सिंहले नदिएको खोटाङका दीपक खत्रीले बताए। ‘हामीले गरेको फोन उठाउँछन् र भन्छन् चिन्ता नगर केही हुँदैन,’ कुराकानीमा खत्रीले भने, ‘हामीले नेपालको परराष्ट्र मन्त्रालय, वैदेशिक रोजगार विभागले समेत दूतावासमा सहयोग माग्न भनेका छन्, भन्दा फोनै काटिदिन्छन्।’ अहिले सबै आफूहरु धर्नामा बसेको उनीहरु बताउँछन्।
यसैगरी, ११ जनामध्ये अधिकांशले थाहाखबर उदयपुरको कुराकानीमा राजदूतले समेत हेला गरेको बताएका छन्। ‘पीडित अम्बिकाप्रसाद भट्टराईले भने, ‘पराराष्ट्र मन्त्री कृष्णबहादुर महराको नाम लिए कुनै पनि काम नहुने भन्दै धम्की दिने गरेका छन्।’ यस विषयमा साउदीका नेपाली राजदूत महेन्द्र सिंहलाई उनको निजी नम्बर ०५३५८२१५८२ मा उदयपुरबाट सम्पर्क गर्दासमेत फोन रिसिभ गरेका छैनन्। उनको निजी फेसबुक म्यासेन्जरमा यसबारे राखिएको जिज्ञासाको कुनै उत्तर आएको छैन। पीडितहरुले आ–आफ्नो घरमा फोन गरेर आफन्तमार्फत स्थानीय एजेन्टलाई उजुरी गर्न परिवारसँग आग्रह गरेको उनीहरुले बताएका छन्। सबैले १ लाख ७० हजारसम्म एजेन्टलाई बुझाएर साउदी गएको बताएका छन्।
उर्जामन्त्री र राज्यमन्त्रीले डकैती शैली अपनाए : सांसद सापकोटा
काठमाडौं । नेकपा(माओवादी केन्द्र)का सांसद माधव सापकोटाले उर्जा, जलश्रोत तथा सिंचाईमन्त्री दीपक खड्का र उर्जा राज्यमन्त्री पूर्णबहादुर तामाङले डकैतीको शैली अपनाएको आरोप लगाउनुभएको छ। बुधबार सिंहदरबारमा बसेको पूर्वाधार विकास समितिको बैठकमा बोल्दै सांसद सापकोटाले मन्त्री र राज्यमन्त्रीले ४५४ मेगावाटको किमाथांका अरुण परियोजनजामा नियम मिचेर डकैतीको शैलीमा निर्णय गर्ने प्रयत्न गरेको आरोप लगाउनुभएको हो। जगदुल्ला हाइड्रोपावरको विषयमा मन्त्री खड्काले प्रतिष्पर्धी अन्य सात कम्पनीलाई पछि हट्न लगाइ एउटा कम्पनीले मात्रै छनोट गर्ने काम गरेकोमा सांसद सापकोटाले आपत्ति जनाउनुभयो। उहाँले १९०२ मेगावाटको मुगु कर्णाली जलविद्युत परियोजनामा पनि नियम मिचिएको आरोप लगाउनुभयो। सांसद सापकोटाले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङसँग प्रतिशोध साँधेर प्राधिकरणमै मन्त्रीले कार्यकक्ष स्थापना गर्नु देशको बेइज्जती भएको उहाँको भनाई थियो । सरकार र मन्त्रीलाई उत्तरदायी बनाउने काम समितिले गर्नुपर्ने बताउनुभयो। सांसद सापकोटाले कुनै छलफल र परामर्श नगरी होटलमा समितिको बैठक बोलाइएकोप्रति आपत्ति जनाउनुभयो। सरकारले ल्याएको विधेयकमा छलफल गर्न होटल गइरहनु नपर्ने बताउनुभयो। होटलमा बसेर जलश्रोत विधेयक रिराइट गर्नेगरी निर्णय गर्नु आपत्तिजनक रहेको बताउनुभयो ।
पार्टी प्रवेश गर्नेहरुलाई अध्यक्ष प्रचण्डद्वारा स्वागत
चितवन । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले चितवनमा विभिन्न पार्टी परित्याग गरी माओवादी केन्द्रमा प्रवेश गर्नेहरुलाई स्वागत गर्नुभएको छ। यसरी प्रवेश गर्नेहरुमा नेपाल समाजवादी पार्टीका प्रदेश सदस्यद्वय दीपक घर्ती र चन्द्रबहादुर घर्ती, एमालेका गोपाल बस्नेत, प्रदीप पौडेल र सुशील पण्डित क्षेत्री, चुनबहादुर, काङ्ग्रेसका अरुणकुमार चौधरी, राप्रपाका चित्रबहादुर सोती लगायत रहनभएको छ। सोही अवसरमा भारतीय सेनाका पूर्व क्याप्टेन केबी गुरुङ पनि माओवादी केन्द्रमा प्रवेश गर्नुभएको थियो। अध्यक्ष प्रचण्डले नवप्रवेशीहरुलाई स्वागत गर्दै सबैलाई यथोचित जिम्मेवारी दिन स्थानीय पार्टी नेतृत्वलाई निर्देशन दिनुभयो । उहाँले पार्टीले सुशासन, सामाजिक न्याय र समृद्धिका पक्षमा थालेको अभियानका कारण देशव्यापी जनाकर्षण बढेको बताउनुभयो ।
शिक्षकका माग समेटेर शिक्षा विधेयक पारित हुन्छ : अध्यक्ष प्रचण्ड
गोरखा। पूर्वप्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले शिक्षकहरुले उठाएका महत्त्वपूर्ण एजेन्डा समेटेर विद्यालय शिक्षा विधेयक पारित हुने बताउनुभएको छ। नवज्योति माध्यमिक विद्यालय गोरखा नगरपालिका ७, डण्डीडाँडा, गोरखाको स्वर्ण महोत्सव समापन कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो धारणा राख्नुभएको हो। आफूले सरकारको नेतृत्व गरेको बेला असाध्यै मेहनत गरेर विद्यालय शिक्षा विधेयक ल्याए पनि अझै पारित हुन नसकेको उल्लेख गर्दै उहाँले शिक्षकहरुले उठाएका महत्त्वपूर्ण एजेन्डा समेटेर विधेयक पारित गरिने बताउनुभयो । संविधानमा शिक्षालाई मौलिक हकको रुपमा स्थापित गरिए पनि आवश्यक कानुन र बजेटको अभाव रहेको उल्लेख गर्दै उहाँले राज्यको तर्फबाट पर्याप्त बजेटको व्यवस्था गर्नुपर्ने बताउनुभयो । शिक्षा विधेयक पारित भयो र शिक्षा क्षेत्रमा २० प्रतिशतसम्म बजेट छुट्याउन सकियो भने यो क्षेत्रलाई अघि बढाउन सकिने बताउनुभयो। आफूले निरन्तर देश र जनताका लागि नयाँ थालनी गर्ने गरेको उल्लेख गर्दै उहाँले गणतन्त्र नेपालको पहिलो प्रधानमन्त्री हुँदा मध्यपहाडी लोकमार्गलगायतका केही पूर्वाधार विकासको क्षेत्रमा महत्वपूर्ण थालनी र गरिब किसानको पक्षमा ऋण मोचनजस्ता काम गरिएको उल्लेख गर्दै दोस्रोपटक सरकारको नेतृत्व गर्दा राष्ट्रिय एकता कायम गर्दै संविधान कार्यान्वयन र नेपाललाई लोडसेडिङमुक्त बनाउने अभियानको नेतृत्व गर्न पाउनु गौरवको विषय भएको बताउनुभयो । तेस्रोपटक प्रधानमन्त्री हुँदा सुशासन, सामाजिक न्याय र समृद्धिको अभियान थालिएको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले अब यो अभियान निरन्तर अघि बढ्ने बताउनुभयो । सुशासनलाई उच्च प्राथमिकता दिएर भ्रष्टाचारमा संलग्न जोकोही भए पनि कारवाही गर्नुपर्छ भनेर अभियान चलाउँदा नै भ्रष्ट र बिचौलियाहरुले सरकारबाट हटाएको उल्लेख गर्दै उहाँले राष्ट्रिय अन्तर्राष्ट्रिय रुपमा यति महत्त्वपूर्ण कामको थालनी गर्न गोर्खाली जनताको मतादेश महत्त्वपूर्ण रहेको बताउनुभयो । गोरखा क्याम्पसको निरीक्षण यसैबीच पूर्वप्रधानमन्त्री प्रचण्डले गोरखा ५ स्थित गोरखा क्याम्पसको निरीक्षण गर्नुभएको छ। सो क्रममा उहाँले विश्वविद्यालय शिक्षालाई अनुसन्धानमुखी बनाउनुपर्नेमा जोड दिनुभयो । उहाँले क्याम्पसको भौतिक विकास र दरबन्दी थपका लागि सहयोग गर्ने प्रतिबद्धता पनि व्यक्त गर्नुभयो।
बजेटको बीस प्रतिशत शिक्षा क्षेत्रमा लगाउन आवश्यक : अध्यक्ष प्रचण्ड
गोरखा। पूर्वप्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले देश विकासको प्रमुख आधार शिक्षा भएकाले कुल बजेटको बीस प्रतिशत यो क्षेत्रमा विनियोजन गर्नुपर्ने बताउनुभएको छ। सरस्वती माध्यमिक विद्यालय गोरखा नगरपालिका ८, आहाले गोरखाको स्वर्ण जयन्ती उद्घाटन गर्दै उहाले यस्तो धारणा राख्नुभएको हो। आफू प्रधानमन्त्री हुँदा शिक्षा क्षेत्रमा उल्लेख्य बजेट वृद्धि गरिएको उल्लेख गर्दै उहाँले अध्यक्ष प्रचण्डले भर्खरै सम्पन्न पार्टी केन्द्रीय समितिको बैठकले पनि पार्टीको शिक्षा नीति थप प्रष्ट पारिएको बताउनुभयो । आफू प्रधानमन्त्री हुँदा निकै मेहनत गरेर शिक्षा बिधेयक ल्याएको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले यसलाई चाँडोभन्दा चाँडो पारित गर्न जोडबल लगाउने प्रतिबद्धता व्यक्त गर्नुभयो । कुनै पनि देशको शिक्षा प्रणालीले त्यहाँको सभ्यताको निर्धारण गर्ने उल्लेख गर्दै उहाँले सामुदायिक विद्यालयमा पर्याप्त विद्यार्थीसहित गुणस्तरीय शिक्षा प्रदान गर्नु आजको महत्त्वपूर्ण पक्ष भएको बताउनुभयो । पछिल्लो समय धेरै सामुदायिक विद्यालयले प्रगति गरिरहेको उल्लेख गर्दै यसलाई अझै बढाएर लैजानुपर्ने बताउनुभयो । आफूले गणतन्त्र नेपालको पहिलो सरकारको नेतृत्व गर्दा मध्यपहाडी लोकमार्गलगायतका केही पूर्वाधार विकासको क्षेत्रमा महत्वपूर्ण थालनी र गरिब किसानको पक्षमा ऋण मोचनजस्ता काम गरिएको उल्लेख गर्दै उहाँले ‘दोस्रोपटक सरकारको नेतृत्व गर्दा राष्ट्रिय एकता कायम गर्दै संविधान कार्यान्वयन र नेपाललाई लोडसेडिङमुक्त बनाउने अभियानको नेतृत्व गरेको बताउनुभयो । उहाँले सुशासन, सामाजिक न्याय र समृद्धिको अभियानमार्फत सरकारको तेस्रो कार्यकाललाई नयाँ ढंगलेअघि बढाउँदा बिचौलिया र भ्रष्टहरुले सरकारबाट हटाएको बताउनुभयो । सुशासनलाई उच्च प्राथमिकता दिएर भ्रष्टाचारमा संलग्न जोकोही भए पनि कारवाही गर्ने प्रक्रियाको थालनी गरियो, यो नै आम जनताका लागि आशाको दियो बन्न पुग्यो’– उहाँले भन्नुभयो– ‘माथिल्लो तहका नेताहरु, कर्मचारी र बिचौलियामाथिको कारवाहीले सुशासनको जग कायम गर्न मात्रै सहयोग गरेन्, जनतामा पुनः आशा र विश्वास पनि पलाउन थाल्यो । राष्ट्रिय अन्तर्राष्ट्रिय रुपमा यति महत्त्वपूर्ण कामको थालनी गर्न गोर्खाली जनताको मतादेश महत्त्वपूर्ण रहेको औल्याउँदै उहाँले गोरखामो समग्र विकासका लागि सक्दो योगदान गर्ने बताउनुभयो ।