सुत्केरी हुन सदरमुकाम पुग्नुपर्ने बाध्यता

सुत्केरी हुन सदरमुकाम पुग्नुपर्ने बाध्यता

राँझा, पुस १२ ।

बाँकेको जानकी गाउँपालिकाका तीनवटा वडामा प्रसूति केन्द्र सञ्चालन नहुँदा गर्भवती महिला सुत्केरी हुन सदरमुकाम नेपालगञ्ज पुग्नुपर्ने बाध्यता रहेको छ ।

मधेशी र मुस्लिम समुदायको बाहुल्यता रहेको यो गाउँपालिकाको आधाभन्दा धेरै गर्भवतीले सहजरुपमा प्रसूति सेवा पाउन नसकेको गाउँपालिका स्वास्थ्य शाखा संयोजक गिरबहादुर गुरुङले बताए ।

छ वटा वडामध्ये गाउँपालिका–३ इन्द्रपुर, वडा नं ४ खजुराखुद्र्ध, र वडा नं ५ बेलहरीस्थित स्वास्थ्य चौकीमा प्रसूति सेवा केन्द्र सञ्चालन हुन सकेको छैन । गाउँपालिका स्वास्थ्य शाखा संयोजक गुरुङले प्रसूति केन्द्र भवन र स्रोत साधनको अभावमा सेवा सञ्चालन गर्न नसकिएको बताउनुभयो । प्रसूति केन्द्र नहुँदा मातृशिशु सुरक्षामा चुनौती थपिएको उनको भनाइ छ ।

इन्द्रपुर स्वास्थ्यचौकीमा भवन निर्माण भएपनि आवश्यक पूर्वाधार र जनशक्ति नहुँदा सेवा सञ्चालन गर्न सकिएको छैन । वडा कार्यालयमार्फत पटक पटक माग पेश गरे पनि सुनुवाइ नभएको स्वास्थ्यचौकी प्रमुख गगनसिंह साउँदले जानकारी दिनुभयो । खजुराखुर्दमा भवन समेत छैन ।

बेलहरी स्वास्थ्यचौकीमा प्रसूति केन्द्रको भवन बनेको चार वर्ष भयो तर सञ्चालनमा आउन सकेको छैन । तत्कालीन जिल्ला विकास समितिको सहयोगमा प्रसूति केन्द्रको भवन निर्माण भए पनि झ्याल र ढोका तोडफोड भएका कारण प्रयोगविहीन बनेको स्वास्थ्यचौकी प्रमुख टामलाल बेल्वासेको भनाइ छ ।

प्रसूति सेवा केन्द्रमा गाउँपालिका कार्यालय

जानकी गाउँपालिका कार्यालय दुई वर्षदेखि वडा नंं ४ खजुराखुर्दस्थित स्वास्थ्यचौकीको प्रसूति सेवा केन्द्रबाट सञ्चालन हुँदै आएको छ ।

प्रसूति सेवा केन्द्रको भवनमा गाउँपालिका कार्यालय बसेपछि सेवा सञ्चालन गर्न नसकिएको वडा नं ४ का अध्यक्ष विश्रामकुमार बर्माले बताए । “प्रसूति केन्द्र भवन बनाइदिने सहमति भएको हो तर निर्माण हुन सकेको छैन”, उनले भने ।

गाउँपालिकाले उक्त भवनमा अहिले तला थपेर कार्यालय सञ्चालन गर्दै आएको छ । गाउँपालिका अध्यक्ष रामनिवासयादवले गाउँपालिकाको केन्द्र स्पष्ट भइनसकेकाले तत्काललाई कार्यालय सञ्चालनको लागि स्वास्थ्यचौकीको भवन उपयोग गर्नुपरेको बताए ।

अन्य वडामा प्रसूति सेवा केन्द्र सञ्चालनको लागि यो वर्ष बजेट विनियोजन नभएकाले आगामी आर्थिक वर्षमा आवश्यक बजेट छुट्टाइने उनको भनाइ रहेको छ। रासस

अझै तीन हप्ता डेंगुको जोखिम कायमै

काठमाडौं । काठमाडौं उपत्यकासहित देशका ७५ जिल्लामा फैलिएको डेंगुको जोखिम अझै केही दिन कायम रहने देखिएको छ ।  इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको तथ्याङ्क अनुसार पुसदेखि हालसम्म देशभर ११ हजारभन्दा बढीमा डेंगु सङ्क्रमण पुष्टि भएको छ भने छ जना सङ्क्रमितको मृत्यु भएको छ । डेंगु सङ्क्रमण सबैभन्दा बढी कास्की जिल्लामा पुष्टि भएको छ । डेंगुको सङ्क्रमणको खतरा कायमै रहेकाले थप सजकता अपनाउन चिकित्सकको आग्रह छ । यही तरिकाले बढ्दै गएमा दशैँमा डेंगु भयावह हुन सक्ने विज्ञको आकलन छ । लामखुट्टे वयस्क भइसकेकाले लामखुट्टेको टोकाइबाट बच्ने उपाय अपनाउन चिकित्सकहरुको सुझाव छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको किटजन्य शाखाका प्रमुख डा.गोकर्ण दाहालले अझै २०/२२ दिन डेंगुको जोखिम कायमै रहने हुँदा सचेत रहन आग्रह गर्नुभयो    उहाँ भन्नुहुन्छ,“अबको २०-२२ दिनसम्म डेंगुको जोखिम कायमै रहन्छ, त्यसपछि बिस्तारै यसको जोखिम कम हुँदै जानेछ । त्यसैले यो समयमा सचेत रहन सबैलाई आग्रह छ ।”

थप ८१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि, ५४ जना संक्रमणमुक्त

काठमाडौं । पछिल्लो २४ घण्टामा थप ८१ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १३०६ जनामा गरिएको परीक्षणमा सो संख्यामा संक्रमण पुष्टि भएको हो । यस्तै मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ५४ जना संक्रमणमुक्त भएका छन् । हाल देशभर ३७० जना सक्रिय संक्रमित रहेका छन् भने काठमाडौँमा १ जना संक्रमित भेन्टिलेटरमा रहेका छन् । यस्तै आईसीयूमा ३ जना उपचाररत छन् ।

कोरोनो सङ्क्रमण देखिएमा अनिवार्य आइसोलेशनमा बस्न मन्त्रालयको आग्रह

काठमाडौं । देशभर हरेक दिन कोरोना भाइरस संक्रिमतहरुको संख्या बढ्दै गएकाले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सङ्क्रमण देखिएमा सात दिनसम्म अनिवार्य आइसोलेशनमा बस्न आग्रह गरेको छ । मन्त्रालयले कोरोना भाइरस सङ्क्रमणको कारणले ज्वरो र सास फेर्न कठिनाइ भएको अवस्थामा सात दिनसम्म अनिवार्य आइसोलेशनमा बस्न आग्रह गरेको हो । मन्त्रालयका सहप्रवक्ता डा समीरकुमार अधिकारीका अनुसार कुनै पनि लक्षण नरहेको, पाँच दिनसम्म आइसोलेशनमा बसेको वा पाँच दिनभन्दा बढी बसेको, २४ घण्टाभित्र ज्वरोको औषधि नखाई नै ज्वरो कम भएको भए भने आइसोलेशनमा बस्नुपर्दैन । सात दिनसम्म आइसोलेशनमा बसेर आठौँ दिनमा बाहिर निस्केपनि अरु मानिसको सम्पर्कमा नजानसमेत आग्रह गरिएको छ । मन्त्रालयले आइसोलेशनमा रहेकाले मिलेसम्म छुट्टै शौचालय भएको प्रशस्त हावा आउने छुट्टै कोठामा बस्ने तथा नाक, मुख र चिउडो छोपिने गरी मास्क लगाउने र प्रयोग गरिएको मास्कको उचित व्यवस्थापन गर्ने तथा बेला बेलामा साबुन पानीले हात धुन आग्रह गरेको छ ।  

पुरुषका लागि गर्भनिरोधक चक्की बनाउने प्रयास सफल

पुरुषका लागि गर्भनिरोधक चक्की बनाउने प्रयास सफल भएको छ । विशेषज्ञहरुले पुरुषले प्रयोग गर्न मिल्ने गर्भनिरोधक चक्की प्रारम्भिक मानवीय सुरक्षा परीक्षणमा पहिलो सफलता प्राप्त भएको जनाएका छन् । दिनको एकपटक खानु पर्ने चक्कीमा शुक्राणु उत्पादन बन्द गर्ने हर्मोन राखिएको छ । अहिलेसम्म पुरुषका लागि कण्डम वा भ्यासेक्टोमी मात्रै गर्भनिरोधक साधनका रुपमा उपलब्ध छन् । विशेषज्ञहरुले यो चक्कीको प्रयोग हुन थालेपछि पुरुषका लागि तेस्रो विकल्प बन्ने जनाएका छन् । तर, डाक्टरहरुले यो चक्की बजारमा आउन अझै एक दशक लाग्ने जनाएका छन् । एलए बायो मेड तथा युनिभर्सिटी अफ वासिङ्गटनका अनुसन्धानकर्ताका अनुसार गर्भनिरोधक चक्की खान छोडेपछि शुक्राणुको उत्पादन पूर्ववत् अवस्थामा फर्किने देखिएको जनाएका छन् । स्वस्थ पुरुषमा हरेक समय नयाँ शुक्राणुहरु उत्पादन भइरहेका हुन्छन् । यसको उत्पादनलाई रोक्नका लागि हर्मोनकै प्रयोग गर्नुपर्ने हुन्छ । तयार पारिएको चक्कीले शुक्राणुको उत्पादन त्यसको डोजले कायम रहुन्जेल मात्रै रोकिने विज्ञले बताएका छन् । महिलाका लागि भने ५० वर्षअघि देखि गर्भनिरोधक चक्की प्रयोग हुँदै आएको छ । तर पुरुषका लागि चक्की बनाउँदा त्यसका कारण यौन चाहना र लिंगको उत्तेजनामा कमी आउने समस्या मुक्त बनाउनु पर्ने भएकाले समय लागेको विशेषज्ञहरुले बताएका छन् ।

लोकप्रिय