स्थानीय जनताको चाहना : भरतपुरका दर्जनौं आयोजना पूर्ण गर्न रेनु दाहाल नै मेयर बन्नुपर्छ
भरतपुर । सरकारले आगामी वैशाख ३० गतेका लागि स्थानीय तहको निर्वाचनको मिति तोकेसँगै जनतामा आफ्ना जनप्रतिनिधि बारे चासो बढेको छ। सरकारले निर्वाचनको मिति तोकेपछि आम मतदाताले आफ्नो स्थानीय तहमा को उम्मेद्वार बन्ला भन्ने चासो मात्र राखेका छैनन्, अबको उम्मेद्वारबारे आफ्नो अभिमतसमेत राख्न थालेका छन्।
आगामी वैशाख ३० गते एकै चरणमा ७५३ वटै स्थानीय तहको निर्वाचन हुँदैछ। उक्त निर्वाचनमा देशभरिबाट झण्डै २९ हजार जनप्रतिनिधिका लागि लाखौं उम्मेद्वारले प्रतिस्पर्धा गर्दैछन्। सोमबार बसेको मन्त्रीपरिषद बैठकले निर्वाचनको घोषणा गरेपछि दलहरूसमेत निर्वाचनको आन्तरिक तयारीमा लागेका छन्।
निर्वाचनको घोषणासँगै दलहरू निर्वाचन केन्द्रित कार्यक्रमको तयारीमा जुटेका छन् भने मतदाताहरू आफ्नो स्थानीय तहमा को–को उम्मेद्वार बन्लान् भन्ने चासो व्यक्त गर्न थालेका छन्। मतदाताले अघिल्लो कार्यकालमा कुन जनप्रतिनिधिले कस्तो काम गरे भन्ने हिसाबकिताबसमेत गर्न थालेका छन्। अधिकांश जनप्रतिनिधिले आफ्नो कबोल र चुनावी प्रतिवद्धताअनुरूप काम गर्न नसकेको मतदाताको गुनासो छ। तर, भरतपुरको माहौल भने त्यसभन्दा पृथक देखिएको छ।
स्थानीय तहका निर्वाचनमध्ये देशका महानगरबारे चर्चा हुनु स्वाभाविक छ। देशका ६ वटा महानगरमध्ये साँढे चार वर्षको अवधिमा कुन महानगरले के प्रगति ग¥यो यो प्रश्न आम देशबासीको साझा प्रश्न बन्ने गरेको छ। देशको समग्र विकासमा नेतृत्वदायी भूमिका खेल्ने महानगरहरूको विकासको स्थिति हेर्दा भरतपुरबाहेक कुनै पनि महानगरले प्रभावकारी भूमिका खेल्न सकेका छैनन्।
भरतपुर महानगर कार्यसम्पादनका दृष्टिले हरेक वर्ष देशको उत्कृष्ट महानगरमा छनोट हुँदै आएको छ। त्यसको नेतृत्व गरेकी छिन् – माओवादी केन्द्रीय सदस्य रेनु दाहाल। ललिलपुर महानगरले भरतपुरलाई पछ्याउन खोजे पनि अपेक्षित प्रगति देखिएको छैन। अरू महानगरहरूले नगरबासीलाई खास सन्तुष्ट दिन सकेको देखिँदैन। विराटनगर र वीरगञ्जका मेयरहरू सक्रिय नै देखिए पनि परिणाममुखी नजिता देखिएको छैन। काठमाडौं र पोखराका मेयरहरू भने अत्यन्तै सुस्त गतिमा अघि बढिरहेका छन्।
महानगरका मेयरहरूको कार्य सम्पादन कमजोर देखिएका बेला भरतपुरका मेयर रेनु भने अब्बल देखिएकी छिन्। साँढे चार वर्षको अवधिमा भरतपुरमा गरिएको भौतिक एवं मानवीय विकासले इच्छाशक्ति भए स्थानीय जनप्रतिनिधिले धेरै गर्न सक्छन् भन्ने पुष्टि गरेको छ। आफ्नो पार्टीका समर्थकले मात्र होइन, नेपाली कांग्रेस, नेकपा एमाले, राप्रपा लगायतका दलहरूका नेता–कार्यकर्ताले समेत भरतपुर फेरि एकपटक रेनु दोहोरिनुपर्ने मत राखिरहेका छन्।
रेनुले फेरि मेयरमा दोहोरिनुपर्ने भन्दै उनीमाथि भरतपुरबासीले दवाव बढाएका छन्। लाभका पदमा खास रूचि नराख्ने स्वाभावकी रेनुलाई आफ्नो कार्यकालमा थालेका कामहरू सम्पन्न गर्न फेरि पाँच वर्ष नेतृत्व लिन शुभेच्छुकहरूले दवाव दिइरहेका छन्। निर्वाचनको घोषणापछि माओवादी समर्थक मात्र नभएर भरतपुरको बौद्धिक एवं सामाजिक जनमतसमेत रेनु दोहोरिनुपर्ने पक्षमा देखिन्छ।
मेयर रेनुको कार्यकालमा भरतपुरमा उल्लेख्य काम भएका छन्। चुनावी घोषणापत्रमा उल्लेख गरिएका अधिकांश काम सम्पन्न भए पनि केही आयोजनाहरू निर्माणाधीन छ। त्यसमध्ये निर्माण सम्भव भएका, निर्माणाधीन र निर्माणको चरणमा रहेका यी मुख्य योजना सम्पन्न गर्न रेनुकै नेतृत्व आवश्यक रहेको भरतपुरबासीको अभिमत छ।
महानगरका दर्जनौँ आयोजना
भरतपुर महानगरपालिकाले आफ्नै लगानीमा सञ्चालन गरेको दर्जनौँ आयोजनाहरु तीव्र गतिमा निर्माण भइरहेका छन्। महानगर प्रमुख रेनु दाहालले सातौँ नगरसभामा महानगरकै लगानीमा सञ्चालन भएका आयोजनाहरु तीव्र गतिमा निर्माण भइरहेका जानकारी गराइन्। उनका अनुसार कोभिड १९ का कारण पनि ती आयोजनाहरुले निर्माणमा तीव्रता पाइरहेका छन्।
भरतपुर मेट्रो प्लाजा, गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला, मेयरसँग महिला तथा जोखिममा परेका समुदायसँग मेयर कार्यक्रम, खानेपानी विस्तारका कार्यक्रमलगायतका दर्जनौं आयोजनाहरु निर्माणको अन्तिम चरणमा छन् भने कतिपय आयोजनाहरु निर्माण सम्पन्न भइसकेका छन्।
आफ्नो तीन वर्षको कार्यकालको समीक्षात्मक पत्रकार सम्मेलनमा महानगर प्रमुख दाहालले महानगरकै लगानीमा दर्जनौँ आयोजनाहरु सञ्चालनमा रहेको बताइन्। उनले भनिन्, ‘कतिपय आयोजनाहरु अन्तिम चरणमा पुगेका छन्, बाँकी दुई वर्षको अवधिमा सबै आयोजनाहरु पूरा गर्ने लक्ष्यका साथ दौडिरहेका छौँ।’
महानगरद्वारा सञ्चालित आयोजनाहरु – भरतपुर महानगरपालिकाको आफ्नै योजना र लगानीमा दर्जनौं ठूला आयोजना सञ्चालन भइरहेका छन्। तीमध्ये मुख्य योजना यस्ता छन्।
भरतपुर मेट्रो प्लाजा
भरतपुर महानगरपालिका वडा नं. ३ मा महानगरको स्वामित्वमा रहेको करिव ११ कठ्ठा जग्गामा पीपीपी मोडेलमा बहुद्देश्यीय भवन निर्माणको प्रस्ताव मूल्याङ्कनको अन्तिम चरणमा रहेको छ। निर्माण अवधि ३ वर्ष र सञ्चालन अवधि २७ वर्ष गरी जम्मा ३० वर्षको लागि निजी क्षेत्रलाई निर्माण सञ्चालन तथा हस्तान्तरण विधिबाट निर्माण हुने गरी आगामी १ महिनाभित्र सम्झौता गर्ने गरी तयारी कार्य भइरहेको छ।
अन्तराष्ट्रिय क्रिकेट रंगशाला
देशकै गौरवको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाका लागि महानगरको पहलमा प्राप्त भएको जग्गामा निर्माण कार्य तीव्र रूपमा अगाडि बढेको छ। महानगरपालिकाको सक्रियतामा सञ्चालन भएको धनधान्यांचल महायज्ञको माध्यमबाट करिव रु ७० करोड रकम सङ्कलन गरेको तथा आन्तरिक स्रोतबाट यसै आवमा रु ४ करोड अनुदान स्वरूप उपलब्ध गराएको छ। अन्तर्राष्ट्रिय प्रतियोगिता सञ्चालन गर्न सकिने गरी मैदान तयारी हुँदैछ। यसबाट खेल पर्यटनको विकास हुने अपेक्षा लिइएको छ। धुर्मुस–सुन्तली फाउन्डेसनले हात झिकेपछि रंगशाला निर्माणको कार्यभार पनि महानगरकै काँधमा आएको छ।
खानेपानी आयोजना
नगरबासीलाई शुद्ध र गुणस्तरीय पिउने पानी प्रवाह गर्न व्यवस्थित खानेपानी सञ्जाल निर्माण गरी खानेपानी वितरण प्रणाली व्यवस्थित गर्न महानगरपालिकाको सहलगानीमा शारदानगर खानेपानी आयोजनाका लागि रु ६२ करोड, भरतपुर ११ को जखडीमाई खानेपानी आयोजनाका लागि रु ३७ करोड, दिव्यनगर खानेपानी आयोजनाका लागि रु २६ करोड, पार्वतीपुर खानेपानी आयोजनाको लागि रु १८ करोड, मेघौली खानेपानी आयोजनाको लागि रु १८ करोड, धनगढा खानेपानी आयोजनाका लागि रु २१ र गीतानगर खानेपानी आयोजनाका लागि रु छ करोड, दिव्यनगर खानेपानी आयोजनाको लागि रु तीन करोड ५० लाख, पटिहानी खानेपानी आयोजनाको लागि रु ६ करोड, देवनगर खानेपानी आयोजनाको लागि रू। ३ करोड ५० लाख, शिवनगर खानेपानी आयोजना रु १८ करोड, चौकीडाँडा खानेपानी ९लिफ्टिङ्ग० आयोजना गरी २ अर्ब ४१ करोड भन्दाबढीका आयोजनाहरू सञ्चालनमा छन् भने केही आयोजनाहरू सम्पन्न भइसकेका छन्। यी सबै आयोजना सम्पन्न हुँदा भरतपुरको खानेपानी प्रणाली व्यवस्थित हुने अपेक्षा लिइएको महानगर प्रमुख रेनु दाहालले जानकारी गराइन्।
समुदायसँग मेयर कार्यक्रम
मेयरसँग महिला तथा जोखिममा परेका समुदायसँग मेयर कार्यक्रमअन्तर्गत गर्भवती महिलालाई निःशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराउने कार्यक्रम साथै आर्थिक विपन्न छात्राहरूलाई साइकल वितरण र क्षमता विकासलगायतका कार्यक्रमका लागि कार्यविधि तयार गरी कार्यान्वयनको चरणमा रहेको छ। झन्डै ३०० छात्राहरुलाई साइकल वितरण गरिसकिएको छ।
कृषिमा यान्त्रिकीकरण कार्यक्रम
सामूहिक खेतीतर्फ कृषकहरू आकर्षित गरी कृषि उत्पादनमा वृद्धि तथा रोजगारी सिर्जना हुनुका साथै आयात प्रतिस्थापन हुने विश्वास लिइएको यस कृषि विकासका लागि यान्त्रिकीकरण कार्यक्रम कार्यान्वयन कार्यविधि तयार भएको छ। यसअन्तर्गत कृषकलाई कृषि उपकरण उपलब्ध गराउने लगायतका कार्यक्रमहरू रहेका छन्।
नदी किनारमा आधुनिक विकास
भरतपुर महानगरपालिकाको वडा नं. १ र ३ को नारायणी नदी किनारालाई सीबीच मोडेलमा विकास गरी स्वदेशी तथा विदेशी पर्यटक आकर्षण गरी आर्थिक क्रियाकलापमा वृद्धि गर्ने प्रयोजनका लागि गत आवमा महानगरबाट रु १ करोड रकम खर्च भई फुटपाथ बनेको तथा यस आवमा पर्यटन मन्त्रालयबाट करिब ७ करोडको टेन्डर आह्वान भइसकेको छ।
यातायात कार्यालय स्थापना
यातायात कार्यालयको स्थापनाका लागि महानगरपालिकाको तर्फबाट सम्पूर्ण तयारी कार्य अगाडी बढेको छ। यस कार्यालयको स्थापनाबाट स्थानीय राजश्वमा वृद्धि, स्थानीय आर्थिक क्रियापकलापहरूमा वृद्धि र स्थानीय बासिन्दाले सहज रूपमा सुविधा प्राप्त गर्ने अपेक्षा गरिएको छ।
यसका साथै महानगरले केही मुख्य योजना छनोट गरी काम अगाडि बढाउने तयारी गरेको छ। महानगरले आगामी आर्थिक वर्षबाट प्रारम्भ गर्न लागेका केही योजना यस्ता छन्।
हुलाकी सडक
हाकिमचोक जगतपुर हुलाकी सडकमध्ये हाकिमचोकबाट पकौडीसम्म हालको ६ मिटर सडकलाई ७ मिटर कालोपत्रे बनाउने र बाँकी ९ किमि सडकखण्डलाई सतहढल निर्माणसमेत गरी स्तरोन्नति गर्ने कार्य भइरहेको छ।
विमानस्थल सुधार
भरतपुर विमानस्थल तोकिएको मापदण्डभन्दा कम भई जोखिमयुक्त भएको र हालको मागलाई धान्न ठूला विमान ल्याउन आवश्यकसमेत भएकोले विमानस्थल विस्तार एवं सुधार गर्नका लागि विगत लामो समयसम्मको प्रयासपछि विभिन्न चरणमा छलफल गरि गति लिएको छ। यसको निर्माण कार्य निकट भविष्यमा हुने विश्वास लिएको छ।
चौबिसकोठी मेघौली सडकखण्ड
चौबिसकोठी रामपुर चनौली मेघौली सडकखण्डमध्ये हाल रामपुर चनौलीखण्ड निर्माण सम्पन्न भएको छ। साथै चनौली–मेघौली सडकखण्डको निर्माण र मर्मत कार्य अगाडि बढिरहेको छ।
भरतपुर सिटी हल
महानगरको गौरवको योजनाको रूपमा रहेको सिटीहल निर्माणका लागि रू.८८ करोड सघन सहरी तथा भवन आयोजनाबाट ठेक्का सम्झौता भई निर्माण कार्य शुरू भइसकेको छ।
पुल्चोक गोन्द्राङ सडक
सडक विभागबाट निर्माणाधिन यस सडकको रु १ अर्ब १२ करोडको ठेक्का सम्झौता भई निर्माण कार्य सुरु भइसकेको छ। यस सडकको निर्माणबाट आधुनिक र व्यवस्थित फुटपाथ सहितको सडक निर्माण हुनुको साथै महानगरको सौन्दर्यमा वृद्धि हुनेछ। साथै सहरी विकास कार्यालयमार्फत् लक्ष्मीनारायण मन्दिर, रानीपोखरी पार्क, विरामी कुरूवा घर, भरतपुर केन्द्रीय बस टर्मिनल गरी रु ३१ करोडको काम अन्तिम चरणमा पुगेका छन्।
स्मार्ट सडकबत्ती
महानगरपालिकाको पहल र २०५ लागत सहभागितामा रु २० करोडको लागतमा निर्माणाधिन यस योजनामा नेपाल विद्युत प्राधिकरणबाट बोलपत्र आह्वान भई सम्झौता भएर सात महिनाभित्र कार्य सम्पन्न गर्ने गरी कार्य प्रारम्भ भइसकेको छ। यस काममा महानगरले राम्रो प्रगति हासिल गरिसकेको छ।
महानगरीय रिङरोड
करिब ९५ किमि महानगरीय रिङ्गरोडका लागि सडक विभागबाट डीपीआर तयार भइसकेको छ। सहरी विकास तथा भवन निर्माण विभागबाट ११।५ किमि सडक निर्माण कार्य सम्पन्न हुने चरणमा छ। सडक विभागबाट यही आव।मा रिङ्गरोड निर्माणका लागि बाँकी खण्ड ठेक्कापट्टा गर्ने गरी आवश्यक कार्य अगाडि बढाइएको छ। रिङ्गरोडको केही खण्ड महानगरको बजेटबाटसमेत स्तरोन्नति गरिएको छ।
भूमिहीनलाई लालपूर्जा बितरण
मेयर रेनुकै पहलमा भरतपुरमा भूमिहीनहरूलाई जग्गाधनी प्रमाणपूर्जा बितरणको काम धमाधम अघि बढिरहेको छ। भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारणमन्त्री शशी श्रेष्ठ, भूमि आयोगका उपाध्यक्ष नहेन्द्र खड्कासमेतको सक्रियतामा भरतपुरमा लालपूर्जा बितरणको कामले तीव्रता पाएको हो। आगामी निर्वाचनअघि नै भरतपुरका सबै भूमिहीनलाई लालपूर्जा बितरण गर्ने रेनुको योजना छ। उनले निर्वाचन आचारसंहिता अघि नै लालपूर्जा बितरणको काम सम्पन्न गर्ने घोषणा गरेकी छिन्।
बजेटमा करका दर हेरफेर गर्नु गम्भीर आर्थिक अपराध होः पूर्वअर्थमन्त्री वर्षमान पुन (भिडियाेसहित)
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका नेता तथा प्रतिनिधिसभा सदस्य वर्षमान पुन ‘अनन्त’ ले बजेट निर्माण प्रक्रियामा करका दर हेरफेर गरिएको विषयलाई गम्भीर आर्थिक अपराधको संज्ञा दिँदै तत्काल संसदीय छानबिन समिति गठन गर्न माग गर्नुभएको छ। शुक्रबार प्रतिनिधिसभाको बैठकमा विशेष समय लिएर बोल्दै पूर्वअर्थमन्त्रीसमेत रहनुभएका पुनले वर्तमान अर्थमन्त्रीले संसद्को रोष्ट्रमबाटै करका केही दरहरू हेरफेर गरिएको स्वीकार गरेको दाबी गर्दै त्यसको निष्पक्ष छानबिन हुनुपर्ने बताउनुभयो। उहाँले भन्नुभयो, ‘अर्थमन्त्रीज्यूले संसद्को रोष्ट्रममा उभिएर सात वटा करका दरहरू हेरफेर गरेको कुरा खुला रूपमा स्वीकार गर्नुभएको छ। यो देशको अर्थतन्त्र र सार्वजनिक विश्वासमाथि गरिएको गम्भीर आर्थिक अपराध हो।’ सुरुमा विपक्षी दलहरूले राष्ट्र र जनताको सरोकारसँग जोडिएका विषयमा सामान्य जिज्ञासा मात्रै राखेको भए पनि अर्थमन्त्रीले त्यसलाई गम्भीर रूपमा नलिई अहंकारी शैलीमा जवाफ दिएको पुनको आरोप थियो। उहाँले अर्थमन्त्रीको व्यवहारले संसद्को गरिमा र सार्वभौमिकतामाथि नै प्रश्न उठाएको टिप्पणी गर्नुभयो। ‘अपराध सानो–ठूलो हुँदैन’ वर्तमान अर्थमन्त्रीले विगतमा पनि यस्ता अभ्यास हुने गरेको तर्क गर्दै आफ्नो बचाउ गर्न खोजेको आरोप लगाउँदै पुनले त्यसको कडा प्रतिवाद गर्नुभयो। उहाँले भन्नुभयो, ‘पुरानाले पनि गरे, अघिल्ला वर्षमा पनि भयो भनेर अहिलेको गल्तीलाई वैध बनाउन सकिँदैन। अपराध भनेको अपराध नै हो। चाहे ७३ वटा करका दर हेरफेर गरिएका हुन् वा एउटा मात्रै, त्यसको प्रकृति बदलिँदैन।’ उहाँले विगतका कमजोरी देखाएर वर्तमानमा भएको नीतिगत भ्रष्टाचारलाई ढाकछोप गर्न नहुने धारणा राख्नुभयो। ‘मेरो कार्यकालको पनि छानबिन होस्’ आफू स्वयं पनि पूर्वअर्थमन्त्री रहेको स्मरण गराउँदै पुनले आफ्नो कार्यकालको समेत छानबिन गर्न सरकारलाई खुला चुनौती दिनुभयो। उहाँले संसद्मा भन्नुभयो, ‘म आजको मात्रै कुरा गरिरहेको छैन। दुई वर्षअघि मैले पनि बजेट ल्याएको थिएँ। यदि कसैलाई शंका छ भने मेरो कार्यकालको पनि छानबिन होस्, गत वर्षको पनि होस् र यस वर्षको पनि निष्पक्ष छानबिन गरियोस्। सत्य जे हो, त्यो देशका सामु आउनुपर्छ।’ सभामुखको रुलिङ र विशेष समिति गठनको माग भाषणको अन्त्यमा पुनले संसद्को गरिमा जोगाउन, बजेट निर्माण प्रक्रियामा भएको भनिएको हस्तक्षेपको सत्यतथ्य सार्वजनिक गर्न तथा नीतिगत भ्रष्टाचारको छानबिन गर्न सभामुखबाट तत्काल रुलिङ हुनुपर्ने माग गर्नुभयो। उहाँले करका दर हेरफेरमा बिचौलियाको प्रभाव र चलखेल भएको आशंका व्यक्त गर्दै त्यसबारे सत्य तथ्य बाहिर ल्याउन विशेष संसदीय छानबिन समिति गठन गर्न आवश्यक रहेको बताउनुभयो। करका दर हेरफेरको विषयलाई लिएर विपक्षी दलहरूले संसद्भित्र र बाहिर निरन्तर प्रश्न उठाइरहेका बेला पूर्वअर्थमन्त्री पुनको यो अभिव्यक्तिले उक्त विवादलाई थप राजनीतिक र संसदीय महत्व दिएको छ।
प्रधानमन्त्रीको अभिव्यक्ति गम्भीर राष्ट्रघात भएको नेकपाको ठहर
काठमाडौँ । नेपाल–भारत सीमा विवादका विषयमा प्रधानमन्त्री बालेन्द्र शाहले प्रतिनिधिसभामा व्यक्त गरेको अभिव्यक्तिप्रति नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले कडा आपत्ति जनाएको छ। नेकपाले सोमबार जारी गरेको प्रेस विज्ञप्तिमार्फत प्रधानमन्त्रीको भनाइलाई “गैरजिम्मेवारपूर्ण, राष्ट्रिय सार्वभौमसत्ता र भौगोलिक अखण्डतामाथिको प्रहार” भन्दै त्यसलाई गम्भीर राष्ट्रघातको संज्ञा दिएको छ। पार्टीले नेपालको ऐतिहासिक भूमि कालापानी, लिपुलेक र लिम्पियाधुराबारे राज्यको आधिकारिक अडान, ऐतिहासिक प्रमाण तथा जनभावनाविपरीत प्रधानमन्त्रीबाट आएको अभिव्यक्तिले राष्ट्रिय स्वाभिमानमाथि चोट पुर्याएको जनाएको छ। नेकपाले सीमा विवादजस्तो संवेदनशील विषयमा राज्यका कार्यकारी प्रमुखबाट तथ्य र इतिहासलाई तोडमोड गरी अभिव्यक्ति आउनु अत्यन्तै दुर्भाग्यपूर्ण भएको टिप्पणी गरेको छ। विज्ञप्तिमा भनिएको छ, “अन्तर्राष्ट्रिय सीमामा हुने जमिन अतिक्रमण र सीमा क्षेत्रमा हुने जग्गाको भोगचलन वा अदलबदल दुई फरक विषय हुन्। कुनै पनि देशले अर्को देशको स्वामित्वमा रहेको भू–भागमा आपसी सहमति वा कानुनी अधिकारबिना अनधिकृत रूपमा भौतिक कब्जा जमाउने, संरचना निर्माण गर्ने वा सीमा विस्तार गर्ने कार्यलाई अतिक्रमण भनिन्छ। भारतले नेपालको कालापानी, लिपुलेक र लिम्पियाधुरा लगायतका क्षेत्रमा एकतर्फी रूपमा गर्दै आएको अतिक्रमणको ऐतिहासिक तथ्यलाई तोडमोड गरी नेपालले समेत भारतको जमिन कब्जा गरेको भन्नु गम्भीर राष्ट्रघात हो।” ‘सीमा विवाद होइन, अतिक्रमणको विषय’ नेकपाले भारतसँगको सम्बन्धलाई मित्रतापूर्ण र कूटनीतिक मर्यादामा आधारित बनाउनुपर्नेमा जोड दिँदै त्यसका नाममा नेपालको भूमि सम्बन्धी ऐतिहासिक सत्यलाई कमजोर पार्न नहुने बताएको छ। पार्टीका अनुसार कालापानी, लिपुलेक र लिम्पियाधुरा केवल सीमा विवादका विषय होइनन्, ती नेपालको सार्वभौमसत्ता, राष्ट्रिय अस्मिता र स्वाभिमानसँग प्रत्यक्ष जोडिएका विषय हुन्। नेकपाले सन् १८१६ को सुगौली सन्धि, त्यसपछिका नक्सा तथा विभिन्न ऐतिहासिक दस्तावेजले उक्त भूभाग नेपालकै भएको पुष्टि गर्ने दाबी गरेको छ। यस्ता प्रमाणका आधारमा नेपालका सबै राजनीतिक शक्ति, नागरिक समाज र देशभक्त जनसमुदाय एकमत हुँदै आएको अवस्थामा प्रधानमन्त्रीको अभिव्यक्ति राष्ट्रिय सहमतिविपरीत देखिएको पार्टीको भनाइ छ। राष्ट्रिय एकतामाथि आघात पुगेको दाबी नेकपाले सीमा र सार्वभौमसत्ताका विषयमा नेपाली जनताबीच विगतदेखि नै बलियो राष्ट्रिय एकता कायम रहेको उल्लेख गर्दै प्रधानमन्त्रीको भनाइले त्यो एकतालाई कमजोर बनाउने खतरा पैदा गरेको जनाएको छ। पार्टीले राष्ट्रिय हितका सवालमा सरकारको नेतृत्व गर्ने व्यक्तिबाट तथ्यपरक, जिम्मेवार र राष्ट्रहितअनुकूल अभिव्यक्ति आउनुपर्नेमा जोड दिएको छ। “नेपालको भूमि नेपालको हो भन्ने विषय कुनै दल विशेषको मुद्दा होइन, यो समग्र राष्ट्रको साझा अडान हो,” विज्ञप्तिमा उल्लेख छ, “यस्तो संवेदनशील विषयमा प्रधानमन्त्रीले दिएको अभिव्यक्तिले नेपाली जनताको भावना आहत बनाएको छ।” प्रधानमन्त्रीसँग सार्वजनिक स्पष्टिकरणको माग नेकपाले प्रधानमन्त्री शाहसँग आफ्नो अभिव्यक्तिबारे सार्वजनिक रूपमा स्पष्टिकरण दिन माग गरेको छ। पार्टीले राष्ट्रिय हितविपरीत देखिने भनाइ फिर्ता लिन तथा सीमा समस्यामा नेपालको आधिकारिक अडानलाई सम्मान गर्न आग्रह गरेको छ। पार्टीका नेताहरूले सीमा सम्बन्धी विषयमा राजनीतिक दलहरूबीच मतभेद हुन सक्ने भए पनि राष्ट्रिय भूगोल र सार्वभौमसत्ताको प्रश्नमा कुनै प्रकारको सम्झौता स्वीकार्य नहुने बताएका छन्। उनीहरूले सरकारलाई कूटनीतिक माध्यमबाट भारतसँग संवाद बढाउन, तर नेपालको भूमि र राष्ट्रिय हितका विषयमा दृढतापूर्वक उभिन सुझाव दिएका छन्। ‘देशभक्त शक्तिहरू एकजुट हुनुपर्छ’ विज्ञप्तिमार्फत नेकपाले सम्पूर्ण देशभक्त, राष्ट्रवादी र प्रगतिशील शक्तिहरूलाई राष्ट्रिय स्वाभिमान र भौगोलिक अखण्डताको रक्षाका लागि एकजुट हुन पनि आह्वान गरेको छ। पार्टीले सीमा अतिक्रमणको विषयलाई सामान्य राजनीतिक बहसका रूपमा नभई राष्ट्रिय अस्तित्वसँग जोडिएको विषयका रूपमा हेर्नुपर्ने धारणा राखेको छ। नेकपाको भनाइमा नेपालको स्वतन्त्रता, सार्वभौमसत्ता र राष्ट्रिय अखण्डताको रक्षा गर्नु प्रत्येक नागरिक, राजनीतिक दल र राज्य संयन्त्रको साझा दायित्व हो। त्यसैले राष्ट्रिय हितविपरीत देखिने कुनै पनि अभिव्यक्ति वा गतिविधिप्रति खबरदारी गर्नुपर्ने आवश्यकता अझ बढेको पार्टीले जनाएको छ। राष्ट्रिय स्वाभिमानको बहस फेरि केन्द्रमा प्रधानमन्त्री शाहको अभिव्यक्तिपछि नेपालको सीमा, राष्ट्रिय स्वाभिमान र विदेश नीतिसम्बन्धी बहस पुनः राजनीतिक वृत्तमा केन्द्रित भएको छ। विशेष गरी कालापानी, लिपुलेक र लिम्पियाधुरा क्षेत्रलाई लिएर विगतदेखि कायम रहेको राष्ट्रिय सहमति र संवेदनशीलताका कारण यस विषयले व्यापक चर्चा पाएको छ। यसै सन्दर्भमा नेकपाले आफ्नो विज्ञप्तिमार्फत राष्ट्रिय स्वाभिमान, भौगोलिक अखण्डता र सार्वभौम अधिकारको पक्षमा दृढतापूर्वक उभिने प्रतिबद्धता दोहोर्याएको छ। पार्टीले नेपालको भूमि, राष्ट्रिय हित र जनभावनामाथि कुनै प्रकारको सम्झौता स्वीकार्य नहुने स्पष्ट गर्दै सरकारलाई राष्ट्रहितअनुकूल भूमिका निर्वाह गर्न आग्रह गरेको छ।
निमोनियाको आशंकापछि नेपाली कम्युनिष्ट पार्टीका संयोजक प्रचण्ड अस्पताल भर्ना
काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ स्वास्थ्यमा समस्या देखिएपछि अस्पताल भर्ना हुनुभएको छ। प्रचण्डको सचिवालयका अनुसार स्वास्थ्यमा असहजता महसुस भएपछि उहाँलाई आज बिहान मेडिसिटी अस्पताल लगिएको थियो। अस्पतालमा गरिएको स्वास्थ्य परीक्षणका क्रममा चिकित्सकहरूले निमोनियाको शङ्का गरेका छन्। मुख्य स्वकीय सचिव गोविन्द आचार्यले चिकित्सकहरूको सल्लाहअनुसार निमोनियाको आशङ्कामा प्रचण्डलाई मेडिसिटी अस्पतालमै भर्ना गरिएको जानकारी दिनुभयो। स्वास्थ्य अवस्था कमजोर भएका कारण प्रचण्ड शुक्रबार आयोजित गणतन्त्र दिवस समारोहमा समेत सहभागी हुनुभएको थिएन। उहाँको थप स्वास्थ्य परीक्षण तथा उपचार भइरहेको सचिवालयले जनाएको छ।
गणतन्त्रको विकल्प थप समृद्ध गणतन्त्र नै हो: राष्ट्रिय सभा अध्यक्ष दाहाल
काठमाडौं । राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले गणतन्त्र दिवस २०८३ का अवसरमा शुभकामना सन्देश जारी गर्दै सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको सुदृढीकरण, संविधानको प्रभावकारी कार्यान्वयन तथा समृद्ध समाज निर्माणमा एकताबद्ध हुन आह्वान गर्नुभएको छ। अध्यक्ष दाहालले नेपाली जनताको ऐतिहासिक सङ्घर्ष, बलिदान र त्यागबाट स्थापित सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको औपचारिक घोषणा भएको दिनलाई ऐतिहासिक उपलब्धिका रूपमा स्मरण गर्दै स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीमा हार्दिक शुभकामना व्यक्त गर्नुभएको हो। वि.सं. २०६५ जेठ १५ गते संविधान सभाबाट निरङ्कुश राजतन्त्रको अन्त्य गरी सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको घोषणा हुनु नेपाली जनताको सार्वभौम अधिकार, लोकतान्त्रिक आकाङ्क्षा र राजनीतिक चेतनाको महत्वपूर्ण उपलब्धि भएको उहाँले उल्लेख गर्नुभएको छ। शुभकामना सन्देशमा अध्यक्ष दाहालले विभिन्न कालखण्डका जनआन्दोलन, लोकतान्त्रिक सङ्घर्ष तथा परिवर्तनका अभियानमा जीवन उत्सर्ग गर्ने सहिदहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्दै आन्दोलनका क्रममा घाइते, अपाङ्ग तथा पीडित भएकाहरूप्रति सम्मान प्रकट गर्नुभएको छ। उहाँले गणतन्त्र केवल शासन प्रणालीको परिवर्तन मात्र नभई नागरिक अधिकार, समावेशिता, सामाजिक न्याय, समान अवसर तथा जनसहभागितामा आधारित लोकतान्त्रिक राज्य व्यवस्थाको आधार भएको उल्लेख गर्नुभएको छ। नेपालको संविधानले परिकल्पना गरेको समृद्ध, समुन्नत र न्यायपूर्ण समाज निर्माणका लागि संविधानको प्रभावकारी कार्यान्वयन, सुशासन, पारदर्शिता तथा दिगो विकासप्रति सबै पक्षको प्रतिबद्धता आवश्यक रहेको अध्यक्ष दाहालको भनाइ छ। अध्यक्ष दाहालले गणतन्त्रको विकल्प पश्चगामी वंशीय शासन प्रणाली हुन नसक्ने उल्लेख गर्दै अझ उन्नत, समृद्ध र जनमुखी गणतन्त्रको निर्माणतर्फ अघि बढ्नुपर्नेमा जोड दिनुभएको छ। संविधानले निर्देशित गरेअनुसार समाजवादउन्मुख आत्मनिर्भर अर्थतन्त्र निर्माण तथा सुशासनसहितको राज्य सञ्चालन अहिलेको प्रमुख आवश्यकता भएको उहाँले बताउनुभएको छ। गणतन्त्र दिवसले सम्पूर्ण नेपालीबीच राष्ट्रिय एकता, आपसी सद्भाव, लोकतान्त्रिक संस्कार तथा संविधानप्रतिको विश्वासलाई थप मजबुत बनाउँदै राष्ट्र निर्माणको साझा अभियानमा प्रेरणा प्रदान गर्ने विश्वास व्यक्त गर्दै अध्यक्ष दाहालले गणतन्त्र दिवस २०८३ को शुभकामना व्यक्त गर्नुभएको छ।

