स्थानीय निर्वाचनबारे तिमिल्सिनाका ३० टिप्स्

स्थानीय निर्वाचनबारे तिमिल्सिनाका ३० टिप्स्

काठमाडौं । स्थानीय निर्वाचन २०७९ मा निर्वाचन अभियानमा खटिएका युवा नेता मनहरि तिमिल्सिनाले स्थानीय निर्वाचनका अनुभव र शिक्षाहरू भन्दै सामाजिक संजालमा ३० बुँदा सार्वजनिक गरेका छन् ।

यस्ता छन् तिमिल्सिनाका ३० टिप्स्

१. निर्वाचन जित्न बलियो संगठन चाहिन्छ, आफ्नै तागतमा उभिएर मात्र निर्वाचन जित्न सकिन्छ।
२. मतदाता ठूला कुरा र उपलब्धीभन्दा आफ्नो जीवनमा प्रत्यक्ष लाभ मिल्ने मुद्दामा आकर्षित हुन्छन्।
३. गठबन्धनले संगठित कार्यकर्तालाई निर्देशित गर्न सक्छ। तर, नरम र तटस्थ मतदातालाई सक्दैन।
४. निर्वाचन समीकरणमा मतदाताले परिस्थितिजन्य एकताभन्दा मनोवैज्ञानिक एकता चाहन्छन्।
५. समीकरण सजातीय हुनुपर्छ। मतदाताले समीकरणको औचित्य अन्तर्मनदेखि वोध गर्न सक्नुपर्छ।
६. मतदाताले दलको घोषणापत्र कम हेर्छन्, दलको तागत र उम्मेदवारको छवि बढी हेर्छन्।
७. परम्परागत मुद्दा मतदाताले रूचाउँदैनन्। नयाँपन र विश्वासिलो आधार खोज्छन्।
८. निर्वाचनको बखत मात्र मतदाताबिच पुग्ने तरिकाले अपेक्षित परिणाम निकाल्न सकिँदैन।
९ मतदाताले पाँच वर्षको दौरानमा पार्टी र नेताहरूले आफूहरूप्रति गरेको स–साना व्यवहारको पनि हिसाब राख्छन्।
१०. दल र नेता चुनाव आएपछि गाउँ जाने र मतदाता पासो ढुकेर बस्ने प्रवृत्ति लोकतन्त्रका निम्ति घातक छ।
११. सिद्धान्त र निष्ठा कमजोर हुँदा अन्तर्घात प्रभावी रहन्छ। पार्टीहरूमा आत्मानुशासन कमजोर छ।
१२. उम्मेदवार छनोट गर्दा लोकतान्त्रिक प्रक्रिया अवलम्बन गर्नुपर्छ। त्यसले मात्र निर्वाचनमा एकीकृत तागत पैदा गर्छ।
१३. पार्टीले टिकट दिँदा अर्कोपटक टिकट नपाए पनि पार्टीको उम्मेदवार जिताउन लाग्नेछु भन्ने सहीछाप गराउन आवश्यक देखिन्छ।
१४. पार्टीभित्र सबै नेता–कार्यकर्ताले भविष्य देख्ने नीति–कार्यक्रम चाहिन्छ। आफूले टिकट नपाए ‘भर्सेला परोस्’ भन्ने प्रवृत्ति घातक छ।
१५. मतदाताले बलशाली होइन, आफ्नो सुखदुखमा साथ दिने जनप्रतिनिधि खोज्छन्, लाभको हिसाबकिताब गर्छन्।
१६. स्थानीय निर्वाचनमा भौगोलिक अवस्थिति, उम्मेदवारको सम्बन्धले पनि जीतहारमा विशेष अर्थ राख्दछ।
१७. स्थानीय तहमा निर्वाचन आचारसंहिता अनुगमन र कार्यान्वयन गर्ने शक्तिशाली संयन्त्र चाहिन्छ।
१८.हाम्रो मतदाता शिक्षा कमजोर छ। निर्वाचन प्रणाली र व्यवस्थापनबारे पुनर्विचार गर्नुपर्छ।
१९. जेष्ठ नागरिक र अशक्त मतदातालाई मतदान केन्द्रसम्म ल्याउने व्यवस्था निर्वाचन आयोगले गर्नुपर्छ।
२०. मतदान केन्द्रको व्यवस्थापनबारे आयोगले नयाँ ढंगले सोच्नुपर्छ। घण्टौं उभिएर मतदान गर्ने प्रणाली फेर्नुपर्छ।
२१. आचारसंहिता उल्लंघन गर्ने उम्मेदवारीको २४ घण्टामा उम्मेदवार रद्द हुने कानुनी व्यवस्था चाहिन्छ।
२२. उत्पीडित वर्ग र समुदायलाई आज होइन, भोलिका लागि आशातीत हुनसक्ने शिक्षा र योजना चाहिन्छ।
२३. दलहरूले पार्टी झण्डाभन्दा चुनावी चिन्हलाई नै स्थापित गराउन बढी जोड गर्नुपर्ने देखिन्छ।
२४. विभाजनले नेता–कार्यकर्ताभन्दा मतदाताको मनोविज्ञानमा बढी असर गर्छ। फुटमा संख्याको नभएर मनोविज्ञानको प्रभाव रहन्छ।
२५. उम्मेदवारमा स्थानीय तहको इतिहास, सभ्यता, विशेषता, मनोविज्ञान र सम्भावनाको राम्रो अध्ययन चाहिन्छ।
२६. पार्टीहरूले नेता–कार्यकर्ताको आवधिक कार्यसम्पादन मूल्यांकनको व्यवस्था गरेर नेता जनतातिर फर्काउनुपर्छ।
२७. अधिंकाश निर्वाचित जनप्रतिनिधिहरू आफ्नो कर्तव्य र अधिकारबारे सुसूचित छैनन्। पार्टीहरूले अभिमुखीकरण गर्नुपर्छ।
२८. जनताले सरल र वैज्ञानिक सेवा प्रवाह, सुशासन र जीवनमा आधारभूत परिवर्तन खोजेका छन्। दलहरूले त्यतातर्फ प्राथमिकता दिनुपर्छ।
२९. घोषणापत्रमा ठूलठूला कुरा लेख्ने तर जितेपछि कार्यान्वयन नगर्ने पार्टी र जनप्रतिनिधिलाई नियन्त्रण गर्ने कानुन चाहिन्छ।
३०. पराजित उम्मेदवारले आफूले प्राप्त जनमतको सम्मान गर्दै क्रियाशील भइरहे अर्को निर्वाचनमा जीत उसैको हुन्छ।

सुदूरपश्चिम, कर्णाली र कोशी प्रदेशमा मतपत्र सहित र निर्वाचन सामग्री ढुवानी भइसक्यो: आयोग

काठमाडौँ । निर्वाचन आयोगले देशभरका सबै निर्वाचन क्षेत्रमा मतपत्र सहित अन्य निर्वाचन सामग्री ढुवानी गर्ने कामलाई तीव्र पारेको छ । हालसम्म सुदूरपश्चिम, कर्णाली र कोशी प्रदेशमा आयोगले मतपत्र ढुवानी गरिसकेको छ । अन्य प्रदेशमा पनि नियमित रूपमा मतपत्र तथा निर्वाचन सामग्री ढुवानीको काम गरिरहेको छ । प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली र समानुपातिक निर्वाचन प्रणालीतर्फको मतपत्र छपाइ यसअघि नै सम्पन्न भइसकेको छ । पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फ ७७ जिल्लाका १६५ निर्वाचन क्षेत्रका लागि दुई करोड तीन लाख २३ हजार मतपत्र छपाइ तथा प्याकिङ गरेर निर्वाचन क्षेत्रमा पठाइएको छ । आयोगले गत माघ २९ गतेदेखि कर्णाली प्रदेशबाट मतपत्र ढुवानी सुरु गरेको थियो । त्यसपछि आयोगले सुदूरपश्चिम, कर्णाली र कोशी प्रदेशमा नियमित रूपमा मतपत्र ढुवानी गरेको थियो । यस्तै, वाग्मती सहित र अन्य प्रदेशमा पनि नियमित रूपमा मतपत्र तथा निर्वाचन सामग्री नियमित रूपमा ढुवानी गरिरहेको छ । आयोगले अन्य प्रदेशमा ढुवानी कार्य जारी रहेको जानकारी दिँदै राजधानी काठमाडौँभित्रका मतदान केन्द्रमा पनि केही दिनमा पुर्‍याइने जनाएको छ । आयोगले मतपत्र बाहेकका अन्य निर्वाचन सामग्री ढुवानी सम्पन्न भइसकेको उल्लेख गरेको छ । मतपत्र छपाइतर्फ आयोगले तोकेको क्यालेण्डर अनुसार जनक शिक्षा सामग्री केन्द्र लिमिटेड सानोठिमीमा गत पुस २२ गतेबाट मतदाता शिक्षा प्रयोजनका लागि छपाइ सुरु भएको थियो । आयोगले १० लाख ९८ हजार २०० नमुना मतपत्र छपाइ गरेको थियो । यस्तै, गत पुस २६ गतेबाट समानुपातिक निर्वाचन प्रणालीतर्फको मतपत्र छपाइ सुरु गरी गत माघ १३ गतेसम्म सम्पन्न गरेको छ । समानुपातिकतर्फ दुई करोड आठ लाख ३० हजार समानुपातिक मतपत्र छपाइ गरेको थियो ।

४१ राजनीतिक दलले निर्वाचन आयोगमा बुझाए पार्टीको घोषणापत्र

काठमाडौं । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा होमिएकामध्ये ४१ दलले पार्टीको घोषणापत्र निर्वाचन आयोगमा बुझाएका छन् । आयोगले शुक्रबार (फागुन ८) काठमाडौंमा पत्रकार सम्मेलन गर्दै ४१ वटा दलले पार्टीको घोषणापत्र बुझाएको जानकारी दिएको हो ।  आयोगले फागुन ४ गते अगाडि नै घोषणापत्र बुझाउन भने पनि दलहरूले अहिलेसम्म पनि घोषणापत्र बुझाइरहेको आयोगकी सहायक प्रवक्ता सीता पुनले जानकारी दिइन् । उमेदवारहरूको हकमा भने जिल्ला तहको निर्वाचन कार्यालयमा बुझाउन सक्ने व्यवस्था रहेकाले पूर्ण विवरण आउन बाँकी रहेको उनले बताइन् । सहायक प्रवक्ता पुनले प्रत्यक्षतर्फको १६५ निर्वाचन क्षेत्रको सबै मतपत्र छपाइ सम्पन्न गरी प्याकिङको काम सकिएको र समानुपातिकतर्फ सुदूरपश्चिम, कर्णाली, कोसी प्रदेशमा ढुवानी गरिसकेको जानकारी दिइन् । उनले निर्वाचनका लागि छापिएका नमुना मतपत्रहरू लिएर आयोगका स्वयंसेवकहरूले मतदातालाई मतदान शिक्षा प्रदान गरिरहेको उल्लेख गरिन् । त्यस्तै, निर्वाचन प्रचारप्रसारका लागि उमेदवारले बैंक खाता खोल्नुपर्ने प्रावधान रहेकोमा हालसम्म सात वटा राजनीतिक दल र आठ हजार ८६७ उमेदवारले निर्वाचन बैंक खाता खोलेको रिपोर्ट प्राप्त भएको बताइन् । 

राष्ट्रिय संकटको घडीमा लोकतन्त्र, स्थायित्व र समृद्धिको नेतृत्व लिन नेकपा तयार

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीले देश जटिल, संवेदनशील र ऐतिहासिक मोडमा उभिएको उल्लेख गर्दै लोकतन्त्रको रक्षा, राजनीतिक स्थायित्वको सुनिश्चितता र समृद्ध भविष्य निर्माणका लागि आफ्नो पार्टी नै सक्षम, जिम्मेवार र विश्वसनीय शक्ति भएको स्पष्ट गरेको छ । पार्टीद्वारा आज आयोजित पत्रकार सम्मेलनमा निर्वाचन प्रचार समितिका संयोजक अग्नि प्रसाद सापकोटाले वर्तमान राष्ट्रिय परिस्थितिमा स्वच्छ, निष्पक्ष र भयमुक्त वातावरणमा निर्वाचन सम्पन्न गर्नु लोकतन्त्रको मजबुतीका लागि अनिवार्य रहेको बताउनुभयो । उहाँले देशलाई संकटबाट बाहिर निकाल्दै स्थायित्व र समृद्धिको मार्गमा अघि बढाउन आफ्नो पार्टी दृढतापूर्वक प्रतिबद्ध रहेको धारणा व्यक्त गर्नुभयो। कठिन परिस्थितिमा पनि निर्वाचनको पक्षमा दृढ अडान पत्रकार सम्मेलनमा जारी वक्तव्यमा देश जटिल र संवेदनशील अवस्थाबाट गुज्रिरहेको उल्लेख गर्दै युवापुस्ताको आन्दोलनपछि उत्पन्न परिस्थितिलाई सामान्य बनाउन पार्टीले जिम्मेवार र इमानदार भूमिका खेलेको बताइएको छ । सरकारले निर्वाचन घोषणा गरेपछि केही राजनीतिक शक्तिहरूले निर्वाचनको विरोध गर्दै लोकतान्त्रिक प्रक्रियामाथि प्रश्न उठाएको अवस्थामा पनि आफ्नो पार्टीले संविधान र जनमतको सम्मान गर्दै निर्धारित समयमै निर्वाचन हुनुपर्छ भन्ने स्पष्ट र दृढ अडान लिएको वक्तव्यमा उल्लेख गरिएको छ । पार्टीले अहिलेको अवस्था आफ्नो निर्णयको सही मूल्यांकन भएको प्रमाण भएको बताउँदै लोकतान्त्रिक प्रक्रियाको निरन्तरताका लागि आफ्नो भूमिका ऐतिहासिक रूपमा महत्वपूर्ण रहेको जनाएको छ । संघर्ष, स्पष्ट विचार र कार्ययोजनाले जनविश्वास सुदृढ पार्टीले विगतदेखि नै जनतासँग प्रत्यक्ष सम्बन्ध कायम गर्दै संघर्ष, विचार र स्पष्ट कार्यदिशासहित अघि बढेको उल्लेख गरेको छ । पार्टीले आफ्ना कमी–कमजोरीहरूलाई आत्मसमीक्षा गर्दै सुधारका लागि स्पष्ट प्रतिबद्धता व्यक्त गरेको र यही कारण देशभर पार्टीप्रति जनविश्वास तीव्र रूपमा बढिरहेको दाबी गरेको छ । पार्टीको नेतृत्वमा भएको बलिदानीपूर्ण संघर्ष र नेपाली जनताको ऐतिहासिक आन्दोलनहरूको परिणामस्वरूप संविधान जारी भएको स्मरण गराउँदै त्यसपछि शासकीय सुधार, निर्वाचन प्रणालीको सुदृढीकरण, उन्नत संघीय लोकतान्त्रिक गणतन्त्र, सुशासन, सामाजिक न्याय र आत्मनिर्भर अर्थतन्त्र निर्माणका एजेन्डाहरूलाई निरन्तर अघि बढाइएको उल्लेख गरिएको छ । उत्पादन वृद्धि, रोजगारी सिर्जना, आर्थिक स्वावलम्बन र राष्ट्रिय समृद्धिको स्पष्ट दृष्टिकोणसहित पार्टीले अघि सारेका एजेन्डाहरू आज राष्ट्रिय सहमतिका साझा एजेन्डा बन्न सफल भएको पार्टीको दाबी छ । लोकतन्त्रविरोधी अतिवादको स्पष्ट र सशक्त विरोध पार्टीले वर्तमान अवस्थामा देशले दुई प्रकारका अतिवादको चुनौती सामना गरिरहेको उल्लेख गर्दै लोकतन्त्रको रक्षा र राष्ट्रिय संस्थाको सम्मान अपरिहार्य रहेको बताएको छ । एकातर्फ सुशासन, पारदर्शिता र अभिव्यक्ति स्वतन्त्रताको माग गर्दै सडकमा उत्रिएका युवाहरूको आन्दोलनलाई दमन गर्ने प्रवृत्ति र अर्कोतर्फ जनभावनाको दुरुपयोग गर्दै राष्ट्रपति भवन, व्यवस्थापिका संसद, सिंहदरबार तथा सर्वोच्च अदालत जस्ता राष्ट्रिय संस्थामाथि आक्रमण गर्ने गतिविधि दुवै लोकतन्त्रका लागि गम्भीर खतरा भएको पार्टीको स्पष्ट धारणा रहेको छ । पार्टीले हिंसा, अराजकता र राजनीतिक स्वार्थका लागि गरिने कुनै पनि गतिविधिलाई अस्वीकार्य ठहर गर्दै लोकतान्त्रिक मूल्य, विधिको शासन र राष्ट्रिय एकताको रक्षा आफ्नो सर्वोच्च प्राथमिकता भएको जनाएको छ । सञ्चारमाध्यमलाई जिम्मेवार पत्रकारिताको आग्रह पत्रकार सम्मेलनमा केही सीमित सञ्चारमाध्यमहरूले भ्रामक र तथ्यहीन सूचना प्रवाह गरी पार्टीको छवि कमजोर बनाउने प्रयास गरेकोप्रति गम्भीर ध्यानाकर्षण भएको उल्लेख गरिएको छ । पार्टीले पत्रकारिताको मूल्य, मर्यादा र नैतिकताको सम्मान गर्दै तथ्यमा आधारित, निष्पक्ष र जिम्मेवार पत्रकारिता गर्न सम्पूर्ण सञ्चारमाध्यमलाई आग्रह गरेको छ । यस सन्दर्भमा नेपाल प्रेस काउन्सिललाई निर्वाचन आचारसंहिताको निष्पक्ष र प्रभावकारी अनुगमन गर्न तथा पत्रकारिताको मर्यादा कायम गर्न सक्रिय भूमिका निर्वाह गर्न अपील गरिएको छ । निष्पक्ष निर्वाचन सुनिश्चित गर्न आयोगको भूमिकामा जोड पार्टीले वर्तमान संवेदनशील परिस्थितिमा निर्वाचन आयोगको भूमिका अझ महत्वपूर्ण भएको उल्लेख गर्दै निष्पक्ष, स्वतन्त्र र भयमुक्त निर्वाचन सुनिश्चित गर्न आयोगले कडा निगरानी, स्पष्ट निर्णय र आचारसंहिताको प्रभावकारी कार्यान्वयन गर्नुपर्नेमा जोड दिएको छ । निर्वाचन प्रक्रियामाथि जनविश्वास कायम राख्न आयोगले कुनै पनि प्रकारको आचारसंहिता उल्लङ्घनलाई कडाइका साथ नियन्त्रण गर्दै सबै दलप्रति समान व्यवहार गर्नुपर्ने पार्टीको धारणा रहेको छ । पार्टीले आयोगले आफ्नो संवैधानिक दायित्व कुशलतापूर्वक निर्वाह गर्दै लोकतन्त्रको सुदृढीकरणमा महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास व्यक्त गरेको छ । विवेकपूर्ण निर्णयका लागि जनतालाई भावनात्मक र ऐतिहासिक आह्वान पार्टीले आफ्नो प्रतिबद्धता, योजना र दृष्टिकोण सार्वजनिक गरिसकेको उल्लेख गर्दै सम्पूर्ण नेपाली जनतालाई देशको भविष्य निर्धारण गर्ने महत्वपूर्ण अवसरका रूपमा आगामी निर्वाचनलाई ग्रहण गर्न आग्रह गरेको छ । जनतालाई सबै राजनीतिक दलहरूको विगत, वर्तमान भूमिका, विचारधारा, कार्यशैली र भविष्यको स्पष्ट दृष्टिकोणको गहिरो मूल्यांकन गरी विवेकपूर्ण निर्णय लिन आग्रह गरिएको छ । इतिहासका उपलब्धिहरूको रक्षा गर्दै लोकतन्त्र, स्थायित्व, विकास र समृद्धिको पक्षमा उभिन पार्टीले सबै नागरिकलाई आह्वान गरेको छ ।

झापा–४ मा नेकपाका उम्मेदवार चुडालको स्पष्ट प्रतिबद्धता: शिक्षा, स्वास्थ्य, कृषि र पूर्वाधारमार्फत समृद्ध क्षेत्र निर्माण गर्ने संकल्प

झापा । प्रतिनिधि सभा सदस्य निर्वाचन–२०८२ अन्तर्गत झापा क्षेत्र नं. ४ बाट नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का उम्मेदवार पुरुषोत्तम चुडाल (राजु) ले समग्र क्षेत्रको दिगो विकास, जनताको आधारभूत अधिकारको सुनिश्चितता र समृद्ध भविष्य निर्माण गर्ने स्पष्ट मार्गचित्रसहित आफ्नो प्रतिबद्धता–पत्र सार्वजनिक गरेका छन् ।  उनले श्रमजीवी जनताको अधिकार सुनिश्चित गर्ने ऐन कानुन निर्माणदेखि शिक्षा, स्वास्थ्य, कृषि, पूर्वाधार, उद्योग, पर्यटन, सूचना प्रविधि र सामाजिक न्यायका क्षेत्रमा ठोस योजना अघि सार्दै आफू निर्वाचित भए क्षेत्रको विकासलाई तीव्र गतिमा अगाडि बढाउने प्रतिबद्धता व्यक्त गरेका छन् ।  शिक्षा र स्वास्थ्यलाई पहिलो प्राथमिकता उम्मेदवार चुडालले झापा गाउँपालिकामा स्नातक तह अध्ययनका लागि बहुमुखी क्याम्पस स्थापना गर्ने, कन्काई, सतासी र शिवगञ्जका बहुमुखी क्याम्पसहरूको स्तर उन्नति गर्ने तथा कन्काई बहुमुखी क्याम्पसलाई शैक्षिक हबका रूपमा विकास गर्ने योजना अघि सारेका छन् ।  झिलझिलेस्थित गणेशमानसिंह स्मृति अध्ययन प्रतिष्ठानलाई सामुदायिक अस्पतालका रूपमा विकास गर्दै मेडिकल कलेज सञ्चालनमा ल्याउने पहल गरिनेछ । साथै, क्षेत्रका नगर अस्पतालहरूको स्तर उन्नति, सामुदायिक विद्यालयहरूको भौतिक तथा प्राविधिक सुधार, अंग्रेजी र नेपाली दुवै माध्यमबाट गुणस्तरीय शिक्षा र ‘एक शिक्षक एक ल्यापटप’ कार्यक्रममार्फत डिजिटल शिक्षालाई विस्तार गरिनेछ । सडक, पुल र पूर्वाधारमा व्यापक विस्तार क्षेत्रका सबै सडक सञ्जालको स्तरोन्नति गर्दै उत्तर–दक्षिण जोड्ने सडकहरू कालोपत्रे गरिनेछ । २८ वटै वडाका बजारलाई व्यवस्थित, स्वच्छ र आधुनिक बनाइनेछ भने कन्काई र कुञ्जीबारी छोटी भन्सारको स्तर उन्नति गरिनेछ । कन्काई नदी, विरिङ्ग नदी लगायतका स्थानमा आवश्यक पुल निर्माण गरिनेछ भने सुरुङ्गा बजारस्थित एसियन हाईवेमा आकाशे पुल निर्माणका लागि पहल गरिनेछ । जीर्ण विद्यालय भवनहरू हटाई आधुनिक सुविधा सम्पन्न भवन निर्माण गरिने योजना पनि प्रतिबद्धतामा समेटिएको छ । कृषि आधुनिकीकरण र किसानलाई प्रत्यक्ष सहयोग कृषिलाई आधुनिक, यान्त्रिक र व्यवसायिक बनाउने लक्ष्यसहित कन्काई सिंचाई आयोजनाको स्तरोन्नति, डिप बोरिङ्ग र ट्युबवेल अनुदान, कृषि क्याम्पस सञ्चालन तथा अनुसन्धान केन्द्र स्थापना गरिनेछ । किसानलाई गुणस्तरीय बीउ, मलखाद, कृषि यन्त्र, तालिम र अनुदान उपलब्ध गराउनुका साथै पानी तान्ने मोटर निःशुल्क उपलब्ध गराउने व्यवस्था गरिनेछ । सुकुम्वासी समस्या समाधान र सामाजिक न्याय भूमिहीन, दलित, सुकुम्वासी र अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाण–पत्र उपलब्ध गराउन अधिकार सम्पन्न आयोग गठन गरिनेछ । महिला, बालबालिका, ज्येष्ठ नागरिक र अपाङ्गता भएका व्यक्तिका लागि प्रत्येक वडामा सामुदायिक भवन, स्वास्थ्य सेवा, कानुनी परामर्श र सामाजिक सुरक्षा कार्यक्रम सञ्चालन गरिनेछ । युवा, उद्योग र रोजगारी सिर्जनामा जोड प्रत्येक वडामा खेलमैदान र व्यायामशाला निर्माण, क्षेत्रीय खेलकुद कार्यक्रम आयोजना र युवालाई बिनाधितो व्यवसायिक कर्जा उपलब्ध गराउने योजना अघि सारिएको छ । कम्तिमा एक पालिका एक ठूलो उद्योग स्थापना गर्ने, लगानीकर्तालाई सस्तो ब्याजमा ऋण उपलब्ध गराउने र उद्योग व्यवसायको सुरक्षा सुनिश्चित गर्ने नीति अपनाइनेछ । विद्युतीय सवारी साधनको पहुँच विस्तार गरी वातावरणमैत्री यातायात प्रणालीलाई प्रोत्साहन गरिनेछ । पर्यटन, संस्कृति र प्रविधिमैत्री समाज निर्माण धार्मिक तथा पर्यटकीय स्थलहरूको विकास, धार्मिक महोत्सव आयोजना र चुरे क्षेत्र संरक्षण गर्दै पर्यटन प्रवर्द्धन गरिनेछ । सार्वजनिक स्थल, विद्यालय र बजारमा निःशुल्क इन्टरनेट सुविधा उपलब्ध गराउँदै प्रविधिमैत्री समाज निर्माण गरिनेछ भने ई–पेमेंट प्रणालीमार्फत सेवा प्रवाहलाई सहज बनाइनेछ । ऊर्जा, वातावरण र विपद् व्यवस्थापनमा विशेष योजना बिजुली नपुगेका बस्तीमा विद्युत विस्तार, ३० युनिटसम्म निःशुल्क विद्युत उपलब्ध गराउने पहल, नदी नियन्त्रणका लागि तटबन्ध निर्माण र जङ्गली जनावरबाट हुने क्षति न्यूनीकरणका कार्यक्रम सञ्चालन गरिनेछ । सामुदायिक वन संरक्षण, जडीबुटी उत्पादन तथा निर्यात प्रवर्द्धन र जलवायु परिवर्तन न्यूनीकरणका लागि वैज्ञानिक योजना लागू गरिनेछ । श्रमिक र बौद्धिक सम्पत्तिको संरक्षण श्रमजीवी मजदुरहरूको दुर्घटना बिमा, सामाजिक सुरक्षा कोषमा अनिवार्य सहभागिता र विदेशबाट फर्किएका युवाको ज्ञान र सीपलाई विकासमा उपयोग गर्ने विशेष योजना लागू गरिनेछ । उम्मेदवार चुडाल ले आफ्नो प्रतिबद्धता–पत्रमार्फत झापा क्षेत्र नं. ४ लाई शिक्षा, स्वास्थ्य, कृषि, उद्योग, पर्यटन र पूर्वाधारका क्षेत्रमा नमूना क्षेत्रका रूपमा विकास गर्ने स्पष्ट दृष्टिकोण प्रस्तुत गरेका छन् । स्थानीय स्रोत, जनशक्ति र आधुनिक प्रविधिको उपयोगमार्फत समृद्ध, आत्मनिर्भर र आधुनिक झापा निर्माण गर्ने उनको प्रतिबद्धता यतिबेला मतदातामाझ आशाको केन्द्र बन्न पुगेको छ ।  

लोकप्रिय