माओ दिवसमा प्रचण्डकाे सन्देश: मालेमावादी विश्वदृष्टिकोणको आलोकमा नयाँ क्रान्तिकारी विचार र कार्यदिशाको विकासमा केन्द्रित बनाैं
११ पुष, २०७८
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले विश्वभरिका सर्वाहारा तथा उत्पीडित जनताकाे आन्दाेलनका लागि माओकाे याेगदान सार्वभाैम भएकाे बताएका छन् । माओ दिवसका अवसरमा शुभकामना दिँदै अध्यक्ष प्रचण्डले क्रान्तिकारी विचारकाे विकनसमा समेत जाेड दिनु भएकाे छ । शुभकामनाकाे पूर्ण पाठ १२९ औं जन्मजयन्तीको अवसरमा विश्व सर्वहारा एवं श्रमजीवी वर्गका नेता कमरेड माओत्सेतुङप्रति उच्च सम्मानसहित भावपूर्ण श्रद्धासुमन अर्पण गर्दछु । यस ऐतिहासिक सन्दर्भमा विश्वभरिका श्रमजीवी वर्गमा हार्दिक शुभकामना व्यक्त गर्दै मालेमावादी विश्वदृष्टिकोणको आलोकमा नयाँ क्रान्तिकारी विचार र कार्यदिशाको विकासमा केन्द्रित हुन हार्दिक अपील गर्दछु । २६ डिसेम्बर १८९३ मा जन्मिनुभएका चिनियाँ क्रान्तिका नायक एवं विश्व सर्वहारा वर्गका नेता माओ माक्र्सवाद–लेनिनवादका सच्चा अनुयायी एवं नयाँ विचार र कार्यदिशाको विकास गर्ने एक सच्चा मालेमावादी नेता हुनुहुन्थ्यो । साम्राज्यवाद र सर्वहारा क्रान्तिको युगमा अर्धसामन्ती र अर्धऔपनिवेशिक चरित्र भएका मुलूकहरूमा क्रान्तिको कार्यदिशा विकासका निम्ति माओले जुन योगदान गर्नुभएको छ, त्यो विश्वभरिकै सर्वहारा आन्दोलनका निम्ति सार्वभौम रहेको छ । समग्रमा दर्शन, राजनीतिक अर्थशास्त्र र वैज्ञानिक समाजवादका क्षेत्रमा माओले गर्नुभएको योगदान माक्र्सवाद–लेनिनवादको तेस्रो र विकसित रूप अर्थात् माओवादका रूपमा संश्लेषित भएको छ । मालेमावादी विश्वदृष्टिकोणको आलोकमा हाम्रो पार्टीद्वारा सञ्चालित महान् जनयुद्ध एवं जनयुद्धको जगमा स्थापित ऐतिहासिक जनआन्दोलनहरूको बलमा नेपालको पुँजीवादी जनवादी क्रान्ति आफ्नै विशिष्टता र मौलिकतासहित मूलभूत रूपमा पूरा भएको छ । जनवादी क्रान्तिका बाँकी कार्यभार पूरा गर्दै समाजवादी क्रान्तिको नेतृत्व गर्न हाम्रो गौरवशाली पार्टीले माओजयन्तीकै अवसर पारेर नयाँ क्रान्तिकारी विचार र क्रान्तिकारी पार्टी निर्माणका लागि ऐतिहासिक आठौं राष्ट्रिय महाधिवेशन गर्दैछ । यस ऐतिहासिक अवसरमा समाजवादी क्रान्तिको सपना बोकेर उच्च बलिदानी गर्नुहुने महान् सहिदहरूप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दछु । सम्पूर्ण बेपत्ता योद्धाहरूप्रति उच्च सम्मान व्यक्त गर्दै घाइते योद्धाहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्दछु । महाधिवेशन प्रतिनिधि, पार्टी नेता–कार्यकर्ता र जनसमुदायमा आजको विश्वका विकसित चुनौती र सम्भावनाको आलोकमा रहेर नयाँ कार्यदिशा विकासको बहसमा सम्पूर्ण रूपले केन्द्रित हुन विशेष अपील गर्दछु ! धन्यवाद । ११ पौष, २०७८ (२६ डिसेम्बर, २०२१) …………………………… पुष्पकमल दाहाल ‘प्रचण्ड’ अध्यक्ष
माओवादीकाे महाधिवेशन ३ बजे उदघाटन हुने
११ पुष, २०७८