राजावादीविरुद्ध सशक्त प्रतिकार गर्न अध्यक्षा प्रचण्डको निर्देशन
२१ जेठ, २०८२
काठमाडौं — नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजावादी शक्तिहरूको गतिविधिविरुद्ध सशक्त र संगठित प्रतिकार गर्न पार्टीका नेता, कार्यकर्ता तथा युवाहरूलाई निर्देशन दिएका छन्। काठमाडौं उपत्यकामा सुरु गरिएको नेवा–तामसालिङ जागरण अभियानको थानकोटमा आयोजित उद्घाटन कार्यक्रममा बोल्दै उनले राजावादी प्रवृत्तिले देशमा पुनः अस्थिरता सिर्जना गर्न खोजिरहेको भन्दै त्यसविरुद्ध जनस्तरमा व्यापक प्रतिवाद गर्नुपर्ने बताए। उनले भने, “हामी अहिले शान्तिपूर्ण सङ्घर्षमा छौं। तर राजावादीहरूको वितण्डा जसरी देखिएको छ, त्यसको जवाफ दिनुपर्छ। यदि उनीहरूले हामीमाथि प्रहार गर्छन् भने इँटको जवाफ पत्थरले दिनुपर्छ।” उनले गाउँ-गाउँ, टोल-टोलमा युवाहरूलाई सक्रिय भई राजावादी प्रवृत्तिको पर्दाफास गर्न अपिल गरे। प्रचण्डले भिजिट भिसा प्रकरणप्रति पनि गम्भीर चिन्ता व्यक्त गरे। उनका अनुसार, यस प्रकरणमा देखिएको गम्भीरता हेर्दा छानबिन अपरिहार्य छ र त्यसलाई निष्कर्षमा पुर्‍याउन माओवादी केन्द्र प्रतिपक्षसँग समन्वयमा लागिपरेको छ। “सरकारले जबरजस्ती अघि बढ्न खोजेपछि सदन स्थगित भयो,” उनले भने, “तर हाम्रो लडाइँ अझै जारी छ।” कार्यक्रममा उनले पार्टीभित्रका नेताहरुलाई पनि जनमुखी शैली अपनाउन सुझाव दिए। भाषण धेरै गरेर जनतालाई वाक्क बनाउने होइन, छोटो र प्रभावकारी कार्यक्रम मार्फत जनसंवादलाई प्राथमिकता दिनुपर्ने उनले बताए। “मलाई लाग्यो आज भाषण अलि धेरै भयो। भाषण गरेर होइन, सांस्कृतिक कार्यक्रम, जनसंवाद, र प्रत्यक्ष सम्पर्कबाट मात्रै यस्तो अभियान सफल हुन्छ,” उनले भने। माओवादी केन्द्रले यसअघि हुलाकी मार्ग र मध्यपहाडी लोकमार्ग क्षेत्रमा जागरण अभियान सम्पन्न गरिसकेपछि काठमाडौं उपत्यकामा विशेषतः नेवार र तामाङ समुदायलाई लक्षित गरेर यो नयाँ अभियान सुरु गरेको हो। यस अभियानमार्फत समुदायमा जागरण, संगठन विस्तार, र पार्टी विचारको पुनः स्थापनामा ध्यान दिइने पार्टीले जनाएको छ। कार्यक्रममा प्रचण्डले जनताको कुरा बढी सुन्ने र आफ्ना कुरा कम बोल्ने बानी बसाल्न नेताहरूलाई आग्रह गरे। उनका अनुसार, जनताको सहभागिताबिना कुनै पनि अभियान सफल हुन सक्दैन। पार्टीले सञ्चालन गर्ने सबै कार्यक्रमहरू जनअपेक्षा र वास्तविकतालाई सम्बोधन गर्ने खालका हुनुपर्ने उनले उल्लेख गरे।
जनयुद्वको केन्द्र थवाङ पुगे प्रचण्ड
८ जेठ, २०८२
एलन मस्कको अराजकतामाथि अदालतको रोक
२७ माघ, २०८१