एभरेष्ट दैनिक

मुस्ताङमा आन्तरिक पर्यटक बढ्दै

मुस्ताङ । जेनजी आन्दोलन र बाढी–पहिरो जस्ता विपत्तिका कारण पर्यटकीय चहलपहल घट्ने अनुमान विपरीत मुस्ताङमा पर्यटकको भीड बढ्न थालेको छ । धार्मिक र प्राकृतिक सौन्दर्यका कारण देशकै प्रमुख पर्यटकीय गन्तव्यमा पर्ने मुस्ताङमा यो वर्षको पहिलो छ महिनामै तीन लाखभन्दा बढी पर्यटक पुगेका छन् । जिल्ला प्रहरी कार्यालय मुस्ताङका अनुसार वैशाखदेखि असोजसम्म कुल ३ लाख ३४ हजार ७२६ पर्यटकले मुस्ताङ भ्रमण गरेका छन् । तीमध्ये १ लाख ८४ हजार स्वदेशी र १ लाख ५० हजार ३८८ विदेशी रहेका छन् । पर्यटकहरू बेनी–जोमसोम–कोरला सडकमार्ग, पोखरा–जोमसोम हवाईमार्ग र विश्वप्रसिद्ध अन्नपूर्ण पदमार्गको थोरङ्ला पास हुँदै मुस्ताङ पुगेका हुन् । यो अवधिमा असोज महिनामा सबैभन्दा धेरै स्वदेशी पर्यटक पुगेका छन् । असोजमा मात्र ६२ हजार ५३३ स्वदेशी पर्यटकले मुस्ताङ भ्रमण गरेका थिए । तीमध्ये ३४ हजार ५६४ पुरुष र २७ हजार ९६९ महिला थिए । त्यसैगरी सार्क राष्ट्रबाट असोजमा ६ हजार ६८७ (३ हजार ७१२ पुरुष र २ हजार ९७५ महिला) तथा तेस्रो मुलुकबाट १ हजार ४८ (६०८ पुरुष र ४४० महिला) पर्यटकले मुस्ताङ भ्रमण गरेका थिए । गत वर्षको तुलनामा भने यस वर्ष पर्यटक आगमनमा सामान्य कमी आएको छ । प्रहरी नायब उपरीक्षक छिरिङ किप्पा लामाका अनुसार गत वर्षको पहिलो छ महिनामा ३ लाख ५७ हजार २३८ पर्यटक मुस्ताङ पुगेका थिए, जसमा २ लाख २६ हजार ७९० स्वदेशी र १ लाख ३० हजार ४४८ विदेशी थिए । स्थानीय व्यवसायीका अनुसार जेनजी आन्दोलनका कारण केही विदेशी पर्यटकले भ्रमण स्थगित गरेका छन् । आन्दोलनका कारण सुरक्षाको चिन्ताले धेरैले नेपाल भ्रमण रद्द गरेको अनुमान गरिएको छ । मुस्ताङ उद्योग वाणिज्य सङ्घका अध्यक्ष राजु लालचनका अनुसार आन्दोलनका कारण भारतीय र तेस्रो मुलुकका पर्यटक प्रभावित भएका छन् । सोह्रश्राद्धका लागि कागबेनी आउने हिन्दू धर्मावलम्बी पनि सडक अवरोधका कारण रोकिएका थिए । “तर अहिले फेरि पर्यटकको सङ्ख्या बढ्दै जाँदा व्यवसायीहरू उत्साहित भएका छन्,” उनले भने । विदेशी भ्रमण रद्द भएका बेला आन्तरिक पर्यटकको आगमनले स्थानीय व्यवसायीलाई राहत मिलेको छ । मुस्ताङ भित्रिने पर्यटकको विवरण घाँसास्थित चेकपोस्टमा सङ्कलन गरिन्छ, जबकि फर्किने क्रममा लेते प्रहरी चौकीमा तथ्याङ्क राखिने गरिएको छ । मुस्ताङ आउने स्वदेशी तथा विदेशी पर्यटक थासाङ, घरपझोङ, वारागुङ मुक्तिक्षेत्र, लोघेकर दामोदरकुण्ड र ल्होमन्थाङ गाउँपालिकाभित्रका धार्मिक तथा प्राकृतिक स्थलहरूमा पुग्ने गर्छन् । अधिकांश पर्यटक प्रसिद्ध धार्मिक स्थल मुक्तिनाथ मन्दिरमा पुग्ने गर्छन् । त्यस्तै मुस्ताङ हुँदै छिमेकी जिल्ला मनाङको ङिस्याङ गाउँपालिका–९ मा रहेको विश्वकै अग्लो तिलिचो ताल (४,९१९ मि.) पनि पर्यटकको आकर्षण बनेको छ । तिलिचो ताल पुग्न मुस्ताङको बाटो सहज हुने भएकाले धेरै पर्यटक त्यतैबाट जाने गरेको प्रहरीले जनाएको छ । पछिल्लो समय बेनी–जोमसोम–कोरला सडक कालोपत्रे भएपछि दुईपाङ्ग्रे सवारीमार्फत मुस्ताङ पुग्ने पर्यटकको सङ्ख्या पनि उल्लेख्य रूपमा बढेको छ ।