एभरेष्ट दैनिक

प्रतिनिधि सभाका सांसदको अब इलेक्ट्रोनिक हाजिरी हुने

काठमाडौं । प्रतिनिधि सभाका सांसदको अब विद्युतीय हाजिरी हुने भएको छ । प्रतिनिधि सभा कार्यव्यवस्था समितिले यो अधिवेशनबाटै इलेक्ट्रोनिक हाजिरीको व्यवस्था गर्ने निर्णय भएको जानकारी दिएको छ । यसअघि सांसदहरूको हाजिरी रजिस्टरमा हुँदै आएको थियो । प्रतिनिधि सभा कार्यव्यवस्था समितिको आजको बैठकले अबदेखि सांसदहरूको हाजिरी संसद्‌को वेबसाइटमार्फत सोही दिन सार्वजनिक पनि गरिने सभामुख देवराज घिमिरेले जानकारी दिए। सांसदहरूको विद्युतीय हाजिरीको व्यवस्था नहुँदा उपस्थित–अनुपस्थित सांसदबारे जानकारी नहुने र कोरम समेत नपुग्नेजस्ता समस्या हुँदै आएको थियो । ई–हाजिरीको बारेमा राष्ट्रिय सभाको सिकाइ र अनुभव पनि लिएर अझै प्रभावकारी बनाउँ, कार्यव्यवस्था बैठकमा सभामुखले भनेका थिए, सदनमा माननीयहरूको उपस्थिति कमजोर छ । सांसद तलबभत्ता खान आए भन्ने आम बुझाइ छ । यो हाम्रो लागि राम्रो होइन । सबै दल र माननीयहरूको ध्यानाकर्षण गराउँछु ।