एभरेष्ट दैनिक

सत्ता गठबन्धनको बैठक, आगामी आर्थिक वर्षको बजेटबारे छलफल

काठमाडौं । संसदमा आइतबार प्रस्तुत हुने आगामी आर्थिक वर्षको बजेटका सिद्धान्त र प्राथमिकताका बारेमा सत्तारुढ गठबन्धनको बैठकमा छलफल भएको छ । आज साँझ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकमा संसद्को बजेट अधिवेशन, बजेटमा सरकारका सिद्धान्त र प्राथमिकताका बारेमा छलफल भएको नेकपा माओवादी केन्द्र संसदीय दलका प्रमुख सचेतक हितराज पाण्डेले जानकारी दिए । उनका अनुसार बजेट अधिवेशनमा सांसदलाई कसरी प्रभावकारी बनाउने भन्ने विषयमा छलफल भएको हो ।  प्रमुख सचेतक पाण्डेले प्रधानमन्त्रीले तत्काल विश्वासको मत लिनुपर्ने आवश्यकता नरहेको पनि बताए । शुक्रबार राष्ट्रिय स्वतन्त्र पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लिएको थियो । सरकारलाई समर्थन गर्ने दलले समर्थन फिर्ता लिएमा विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ । तर सत्तारुढ दलहरूले सरकारसँग प्रस्ट बहुमत रहेकाले विश्वासको मत लिइरहनु नपर्ने तर्क गरेका छन् । बैठकमा विषयगत समितिलाई कसरी अघि बढाउने र प्रधानन्यायाधीशको नियुक्तिका बारेमा पनि छलफल भएको उनले बताए । पाण्डेले भने वैठकमा नागरिकता विधेयकलाई कसरी व्यवस्थित गर्ने, संघीय शिक्षा ऐन कसरी अघि बढाउने, निजामती विधेयकलाई कसरी अघि बढाउने र समिति पनि बनाउने भन्ने विषयमा छलफल भयो । बैठकमा सर्वोच्च अदालतको प्रधानन्यायाधीश नियुक्तिको समस्या कसरी हल गर्ने भन्ने विषयमा पनि छलफल भएको छ ।