एभरेष्ट दैनिक

छापा मिडियामा डिजिटल युग सुहाउँदो पुनरसंरचना आवश्यक : प्रधानमन्त्री प्रचण्ड

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले डिजिटल मिडियाको तीव्र विकास तथा विस्तारसँगै छापा पत्रकारिताको यात्रा थप चुनौतीपूर्ण बन्दै गएको बताएका छन् । गोरखापत्रको १२३ औँ वार्षिकोत्सवलाई सम्वोधन गर्दै प्रधानमन्त्री प्रचण्डले गोरखापत्रले आफ्नो परम्परागत ढाँचा तथा ढर्रा परिवर्तन गरेर नयाँ ढंगले अघि बढ्नुपर्नेमा जोड दिए । उनले राष्ट्रको इतिहास र सभ्यता जोडिएको यो संस्थालाई अहिलको डिजिटल युग सुहाउँदो बनाउन आन्तरिक सुधार तथा पुनरसंरचना आवश्यक रहेकोमा जोड दिए । नेपाली पत्रकारिताको संस्थागत विकासमा गोरखापत्रको निकै महत्वपूर्ण योगदान रहेको चर्चा गर्दै प्रधानमन्त्री प्रचण्डले भने, पछिल्ला दिनमा गोरखापत्र तथा अन्य प्रकाशनहरूको लेआउट डिजाइनमा भएको परिवर्तनसँगै यसको सामग्रीको प्रस्तुति र गुणस्तरमा देखिएको सुधार स्मरणीय छ, आगामी दिनमा यसलाई थप परिमार्जित र विकसित तुल्याउने जिम्मेवारीसमेत गोरखापत्रमा आबद्ध संचारकर्मी र कर्मचारीको काँधमा छ । प्रधानमन्त्री प्रचण्डले अगाडी थपे, नागरिकलाई निरन्तर सूचना र शिक्षा प्रदान गर्दै आएको गोरखापत्र एउटा पत्रिका मात्र होइन । एउटा युगको जीवन्त प्रतिनिधि हो । आजका मितिसम्म पनि सबैभन्दा विश्वासिलो र सर्वाधिक हेरिने वा पढिने पत्रिका गोरखापत्र हो । शताब्दी लामो यात्रा पार गरिसकेको गोरखापत्रको हाम्रो सामाजिक विकास र संस्कृति प्रबद्र्धनमा महत्वपूर्ण योगदान छ । यो संस्थाले इतिहासका थुप्रै आरोह अवरोह पार गरेको छ । उनले सयमको माग र प्रविधिको गतिअनुसार संस्थाले पनि आफूलाई रूपान्तरण गर्न जरुरी रहेको भन्दै अहिलेको प्रतिस्पर्धात्मक बजारमा आफूलाई अझ खरो रुपमा उतार्न यो संस्थाले अझ जिम्मेवार, व्यवसायिक तथा विश्वसनीय भएर आफूलाई अघि बढाउनुपर्नेमा जोड दिए । सूचनाका लागि मात्र पत्रिका कुर्ने अवस्था नरहेकोले सामग्रीको गुणस्तर र विविधतामा विशेष ध्यान दिनु जरूरी रहेको प्रधानमन्त्री प्रचण्डको भनाई छ । उनले भने, राज्यका सबै कामकारवाही पारदर्शी हुनुपर्छ । राज्यका निकायले गर्ने कार्य सम्पादनका बारेमा जनसमक्ष ल्याउने दायित्व आमसञ्चार माध्यमको नै रहन्छ । नागरिक सुसूचित हुनसक्दा मात्र संघीय लोकतान्त्रिक गणतन्त्र सबल बन्न सक्छ । राज्यका हरेक अङ्ग र निकायलाई कार्यसम्पादनप्रति जिम्मेवार, उत्तरदायी र सबल बनाउन चौंथो अङ्गका रूपमा सञ्चार माध्यमले निर्वाह गर्ने भूमिका महत्वपूर्ण हुनसक्दछ ।