एभरेष्ट दैनिक

इण्डियन प्रिमियर लिग : प्लेअफको दौडबाट बाहिरियो दिल्ली

काठमाडौं । दिल्ली क्यापिटल्स इण्डियन प्रिमियर लिग (आईपीएल) को प्लेअफ दौडबाट बाहिरिएको छ। शनिबार राति पञ्जाबसँग ३१ रनले हार बेहोरेपछि दिल्ली यस सिजनमा प्लेअफको दौडबाट बाहिरिने पहिलो टिम बनेको हो। पन्जाबले दिएको १ सय ६८ रनको लक्ष्य पछ्याएको दिल्लीले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय ३६ रन मात्र बनायो । दिल्लीका लागि ओपनर डेबिड वार्नरले २७ बलमा १० चौका र १ छक्काको सहयोगमा ५४ रनको अर्धशतकीय ईनिङ्स खेले । पहिलो विकेटका लागि अर्का ओपनर फिलिप साल्ट र वार्नरले ३८ बलमा ६९ रनको साझेदारी गरे । साल्टले १७ बलमा ३ चौकाको सहयोगमा २१ रन बनाए । अमन खानले १८ बलमा १ चौका र १ छक्काको सहयोगमा १६ रन बनाए । प्रबिन दुवेले २० बलमा १६ रन बनाए । कुलदिप यादव १० रनमा अविजित रहँदा दिल्लीका अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् । विना विकेट ६९ रन बनाएको दिल्लीले बाँकी ८ विकेट गुमाउँदा ६७ रन मात्र बनाउन सक्यो । पन्जाबका लागि हरप्रित ब्रारले ओभरमा ३० रन खर्चिएर ४ विकेट लिए । राहुल चहर र नाथन एलिसले समान २÷२ विकेट लिए । त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको पन्जाबले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय ६७ रन बनाएको थियो । पन्जाबका लागि ओपनर प्रभसिमरन सिंहले ६५ बलमा १० चौका र ६ छक्काको सहयोगमा १ सय ३ रनको शतकीय ईनिङ्स खेले । आइपीएलमा सिंहको यो पहिलो शतक हो । दोस्रो ओभरमा नै कप्तान शिखर धवनलाई व्यक्तिगत ७ रनमा गुमाएको पन्जाबका चौथो विकेटका लागि साम करनले सिंहसँग मिलेर ५४ बलमा ७२ रनको साझेदारी गरे । करनले २४ बलमा २० रन बनाए । सिकन्दर राजाले ७ बलमा अविजित ११ रन बनाउनु बाहेक अन्य ब्याटरले दोहोरो अंकमा समेत रन बनाउन सकेनन् । दिल्लीका लागि ईशान्त शर्माले २ तथा प्रबिन दुवे,अक्षर पटेल,कुलदिप यादव र मुकेश कुमारले समान १÷१ विकेट लिए। जितसँगै बाह्र खेलमा ६ जित र ६ हारका साथ पन्जाब १० टोली सहभागी लिगको छैटौं स्थानमा उक्लिदै प्लेअफ सम्भावना कायमै राखेको छ । समान १२ खेलमा ४ जित र ८ हारका साथ दिल्ली अंक तालिकाको पुछारमा कायमै रहेको छ ।