यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार आज भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ ।
त्यस्तै, आज डलरको खरिद दर १३१ रुपैयाँ २४ पैसा र बिक्री दर १३१ रुपैयाँ ८४ पैसा रहेको छ। युरो एकको खरिद दर १४२ रुपैयाँ ९५ पैसा र बिक्री दर १४३ रुपैयाँ ४१ पैसा रहेको छ।
यस्तैगरी, बेलायती पाउण्ड एकको खरिद दर १६४ रुपैयाँ ५३ पैसा र बिक्री दर १६५ रुपैयाँ २८ पैसा रहेको छ। कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ०० पैसा र बिक्री दर ३६ रुपैयाँ १७ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।
आजका लागि विदेशी मुद्राको विनियमदर : कुन घट्यो, कुन बढ्यो ?
काठमाडौं — नेपाल राष्ट्र बैंकले शनिबार (मंसिर ६, २०८२ / नोभेम्बर २२, २०२५) का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। राष्ट्र बैंकका अनुसार प्रमुख मुद्राहरूको खरिद तथा बिक्री दर यस प्रकार रहेको छ: अमेरिकी डलर (USD): खरिद १४२.८८, बिक्री १४३.४८ युरोपियन युरो (EUR): खरिद १६४.६१, बिक्री १६५.३० बेलायती पाउन्ड स्टर्लिङ (GBP): खरिद १८६.६१, बिक्री १८७.३९ अस्ट्रेलियन डलर (AUD): खरिद ९१.९९, बिक्री ९२.३८ क्यानेडियन डलर (CAD): खरिद १०१.४०, बिक्री १०१.८२ जापानी येन १० (JPY): खरिद ९.११, बिक्री ९.१५ चिनियाँ युआन (CNY): खरिद २०.०९, बिक्री २०.१८ साउदी रियाल (SAR): खरिद ३८.१०, बिक्री ३८.२६ कतारी रियाल (QAR): खरिद ३९.२०, बिक्री ३९.३६ युएई दिराम (AED): खरिद ३८.९०, बिक्री ३९.०६ कुवेती दिनार (KWD): खरिद ४६५.०१, बिक्री ४६६.९७ बहराइन दिनार (BHD): खरिद ३७८.९९, बिक्री ३८०.५८ भारतीय रुपैयाँ (ICR) १०० को खरिद दर १६०.०० र बिक्री दर १६०.१५ रुपैयाँ कायम गरिएको छ। राष्ट्र बैंकले यो दरलाई आवश्यकता अनुसार जुनसुकै बेला संशोधन गर्न सक्ने र वाणिज्य बैंकहरूले आफैंले थोरै फरक दर कायम गर्न सक्ने जनाएको छ।
सुदूरपश्चिम प्रदेशको कूल गार्हस्थ्य उत्पादन चार खर्ब ३० अर्ब
काठमाडौं । सुदूरपश्चिम प्रदेशको कूल गार्हस्थ्य उत्पादन रु चार खर्ब ३० अर्ब बराबर पुग्ने अनुमान गरिएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको सुदूरपश्चिम प्रदेशको आर्थिक गतिविधि अध्ययन २०८१/८२ को वार्षिक प्रतिवेदनअनुसार उक्त आवमा प्रदेशको कूल गार्हस्थ्य उत्पादनको वृद्धिदर तीन दशमलव २८ प्रतिशत हुने संशोधित अनुमान रहेको छ । प्रदेशले चालु आर्थिक वर्षमा देशको कूल गार्हस्थ्य उत्पादनमा सात दशमलव शून्य तीन प्रतिशत योगदान पुर्याउने प्रारम्भिक अनुमान गरिएको छ । बृहत् औद्योगिक वर्गीकरणअनुसार प्रादेशिक कूल गार्हस्थ्य उत्पादनमा सबैभन्दा बढी ३४ दशमलव ७२ प्रतिशत योगदान कृषि, वन तथा मत्स्यपालन क्षेत्रको र सबैभन्दा कम शून्य दशमलव १३ प्रतिशत योगदान प्रशासनिक तथा सहयोगी सेवा क्षेत्रको रहने प्रारम्भिक अनुमान गरिएको छ । आव २०८०/८१ मा पनि कृषि, वन तथा मत्स्य क्षेत्रको योगदान अग्रस्थान (३३ प्रतिशत) र प्रशासनिक तथा सहयोगी क्षेत्रको योगदान अन्तिम स्थान (शून्य दशमलव १३ प्रतिशत) मा हुने संशोधित अनुमान गरिएको थियो । त्यसैगरी, आव २०८१/८२ मा सुदूरपश्चिम प्रदेशको कूल गार्हस्थ्य उत्पादन रु चार चार खर्ब ३० अर्ब र आर्थिक वृद्धिदर उपभोक्ता मूल्यमा तीन दशमलव ३२ प्रतिशत र आधारभूत मूल्यमा दुई दशमलव ७१ प्रतिशत रहने अनुमान गरिएको छ । आधारभूत मूल्यमा प्रदेशको प्राथमिक क्षेत्रको वृद्धिदर दुई दशमलव आठ दुई दशमलव आठ प्रतिशत, द्वितीय क्षेत्रको वृद्धिदर दुई प्रतिशत र तृतीय क्षेत्रको वृद्धिदर दुई दशमलव नौ प्रतिशत रहने अनुमान गरेको छ । समीक्षा वर्षमा प्रमुख कृषि बाली (खाद्य तथा अन्य बाली, तरकारी एवं फलफूल तथा मसला) ले ढाकेको भू–क्षेत्र दुई दशमलव १६ प्रतिशतले वृद्धि भएको छ । यस्ता बालीको उत्पादन दुई दशमलव ७७ प्रतिशतले बढेको छ । प्रमुख खाद्य तथा अन्य बालीमध्ये सबैभन्दा बढी तेलहन र आलुको उत्पादन क्रमशः १८ दशमलव ८९ प्रतिशत र १६ दशमलव ११ प्रतिशतले वृद्धि भएको छ भने फापरको उत्पादनमा सबैभन्दा बढी ७७ दशमलव ८८ प्रतिशतले ह्रास आएको छ । पशुजन्य उत्पादनअन्तर्गत माछा उत्पादन १० दशमलव ३६ प्रतिशत, मासु शून्य दशमलव ७९ प्रतिशत, ऊन उत्पादन तीन दशमलव २७ र अण्डा एक दशमलव ७६ प्रतिशतले बढेको छ । प्रदेशका बैंक तथा वित्तीय संस्थाबाट प्रवाहित कूल कर्जाको १० दशमलव १४ प्रतिशत हिस्सा कृषि क्षेत्रमा प्रवाहित भएको छ । विसं २०८२ असारमसान्तसम्ममा सुदूरपश्चिम प्रदेशमा कृषिमा प्रवाहित कर्जा २०८१ असार मसान्तको तुलनामा ३ दशमलव ४१ प्रतिशतले ह्रास भई रु १५ अर्ब ९६ करोड ४२ लाख पुगेको छ । प्रदेशका अध्ययन नमुनामा समेटिएका उद्योगको औसत क्षमता उपयोग ३४ दशमलव ४७ प्रतिशत छ । समष्टिगत रूपमा मागमा आएको गिरावटले सम्पूर्ण औद्योगिक वस्तुको उत्पादनमा ह्रास आएको देखिन्छ । समीक्षा वर्षको अन्त्यसम्ममा यस प्रदेशका बैंक तथा वित्तीय संस्थाबाट प्रवाहित कूल कर्जाको १६ दशमलव ९७ प्रतिशत हिस्सा उद्योग क्षेत्रमा प्रवाहित भएको छ । सो क्षेत्रमा प्रवाह भएको कर्जा २०८१ असार मसान्तको तुलनामा चार दशमलव ३७ प्रतिशतले वृद्धि भई रु २६ अर्ब ७२ करोड तीन लाख पुगेको छ । उक्त आवमा नमुनाका रूपमा छनोट गरिएका १० होटलको औसत अकुपेन्सी ३६ दशमलव ४० प्रतिशत रहेको छ । यस्तै, घरजग्गा रजिस्ट्रेसन सङ्ख्या ३७ दशमलव ५० प्रतिशतले बढेको छ भने रजिस्ट्रेसन राजस्व ३७ दशमलव ६२ प्रतिशतले वृद्धि भएको छ । गत असार मसान्तसम्म सुदूरपश्चिम प्रदेशमा बैंक तथा वित्तीय संस्थाले सङ्कलन गरेको कुल निक्षेप २०८१ असार मसान्तको तुलनामा १६ दशमलव ३० प्रतिशतले बढेको छ । यस्तै, कर्जा प्रवाह दुई दशमलव ९८ प्रतिशतले वृद्धि भएको छ । यस्तै, यातायात साधनको दर्ता सङ्ख्या अघिल्लो आर्थिक वर्षको तुलनामा ३५ दशमलव शून्य सात प्रतिशतले वृद्धि भएको छ । यस प्रदेशका बैंक तथा वित्तीय संस्थाबाट प्रवाहित कूल कर्जाको ७२ दशमलव ८८ हिस्सा सेवा क्षेत्रमा प्रवाहित भएको छ । सुदूरपश्चिम प्रदेश सरकारको चालु खर्चतर्फ विनियोजन भएको बजेटमध्ये समीक्षा वर्षमा ७५ दशमलव ६६ प्रतिशत खर्च भएको छ भने पुँजीगत खर्चतर्फ विनियोजन भएको बजेटमध्ये ६६ दशमलव ४७ प्रतिशत खर्च भएको छ ।
ग्लोबल आइएमई बैंकले आठ प्रतिशत नगद लाभांश दिने
काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले आफ्ना सेयरधनीलाई करसहित आठ प्रतिशत नगद लाभांश वितरण गर्ने भएको छ । बैंकको १९औँ वार्षिक साधारण सभा बुधबार काठमाडौंमा सम्पन्न भएको हो । सभाले सञ्चालक समितिका अध्यक्ष चन्द्रप्रसाद ढकालले प्रस्तुत गरेकाे वार्षिक प्रतिवेदन तथा एकीकृत वित्तीय विवरण अनुमोदन गर्दै आठ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव सर्वसम्मत पारित गरेको छ । बैंकले आर्थिक वर्ष २०८१/८२ मा सात अर्ब २३ करोड रुपैयाँ सञ्चालन मुनाफा र पाँच अर्ब सात करोड रुपैयाँ करपछिको खुद नाफा आर्जन गरेको जनाएको छ । साधारण सभामा अध्यक्ष ढकालले नेपाल सरकार र नेपाल राष्ट्र बैंकको नीति तथा नियमको पूर्ण पालना गर्दै सेयरधनीलाई उचित प्रतिफल प्रदान गर्न बैंक प्रतिबद्ध रहेको बताए । उनका अनुसार बैंकले आफ्नो व्यावसायिक रणनीतिअनुसार नयाँ व्यावसायिक क्षेत्रको सन्तुलित विस्तार गर्दै जाने योजना पनि अघि सारेको छ । ग्लोबल आइएमई बैंक विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संस्थाबाट अनेक विधामा सम्मानित हुँदै आएको छ । बैंकले बैंक अफ द इयर २०१४, बेस्ट इन्टरनेट बैंक २०१६, बेस्ट बैंक नेपाल २०२४ र २०२५, युरोमनी अवार्ड फर एक्सलेन्स २०२२, २०२४ र २०२५, बेस्ट बैंक इएसजी नेपाल २०२४, र बेस्ट इम्प्लोयर जस्ता प्रतिष्ठित अवार्ड प्राप्त गरिसकेको छ । देशका सबै ७७ वटै जिल्लामा शाखा सञ्जाल विस्तार गरेको ग्लोबल आइएमई निजी क्षेत्रको पहिलो वाणिज्य बैंक हो । बैंकले ३५२ शाखा कार्यालय, ३८४ एटीएम, १५० शाखारहित बैंकिङ सेवा, ६८ एक्सटेन्सन तथा राजस्व सङ्कलन काउन्टर, र तीन वैदेशिक प्रतिनिधि कार्यालयमार्फत एक हजारभन्दा बढी सेवा केन्द्र सञ्चालन गर्दै आएको छ । बैंकले रेमिट्यान्स सेवामार्फत विश्वभरका नेपालीलाई सहज र भरपर्दो आर्थिक सेवा प्रदान गर्दै आएको जनाएको छ ।
साढे ६२ लाखमा १० बैंकको कर्जा गुणस्तर परीक्षण हुने
काठमाडौं । नेपाल राष्ट्र बैंकले १० ठूला वाणिज्य बैंकको कर्जा गुणस्तर परीक्षण (लोन पोर्टफोलियो रिभ्यु) का लागि बंगलादेशी कम्पनी हउलादार युनुस एन्ड कम्पनी चार्टर्ड एकाउन्टेन्ट्ससँग सम्झौता गरेको छ । शुक्रबार गरिएको सम्झौताअनुसार कम्पनीलाई ६२ लाख ५४ हजार ११२ रुपैयाँमा परीक्षणको जिम्मेवारी दिइएको छ । कम्पनीले पाँच महिनाभित्र परीक्षण सकाउनुपर्नेछ । सम्झौता बमोजिम ग्लोबल आईएमई, नबिल, नेपाल इन्भेस्टमेन्ट मेगा, राष्ट्रिय वाणिज्य बैंक, कुमारी, लक्ष्मी सनराइज, हिमालयन, एनएमबी, प्रभु र एनआईसी एसिया बैंकको कर्जा गुणस्तर परीक्षण हुनेछ । अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ)ले नेपाललाई उपलब्ध गराएको विस्तारित कर्जा सुविधाअन्तर्गत १० ठूला वाणिज्य बैंकको कर्जा परीक्षण गर्नुपर्ने शर्त राखेको थियो । त्यसअनुसार राष्ट्र बैंकले दोस्रोपटक आह्वान गरेको टेन्डर प्रक्रियाबाट आर्थिक र प्राविधिक दुवै पक्षमा योग्य ठहरिँदै हउलादार कम्पनी चयन भएको हो । राष्ट्र बैंकका अनुसार छानिएका कम्पनीले १०० मा ७१.३४ अंकको कुल वेटेड स्कोर हासिल गरेको छ ।


