एभरेष्ट दैनिक

सल्यानको सामान्य घटनालाई अतिरञ्जित गरियो, एमालेसँग विवाद छैन– रमेश मल्ल

सल्यान, मंसिर २० । सामान्य विवादलाई अतिरञ्जित गरी विभिन्न सञ्चारमाध्यममा आएका भ्रामक समाचारहरुप्रति नेकपा माओवादी केन्द्रले गम्भीर ध्यानाकर्षण भएकाे जनाएको छ । साथै मतदातालाई प्रभावित गर्न खोजिएको भन्दै त्यसकाे खण्डन गरेको छ । सल्यानको वनगाड कुविन्डे नगरपालिकामा–७ मा माओवादी केन्द्रद्वारा पार्टीको साधारण सदस्य समेत नरहने गरी कारबाही गरिएका कर्णबहादुर बुढाथोकी नेतृत्वकाे एक समूह र वाम गठबन्धनका कार्यकर्ताबीच मंगलबार साँझ सामान्य विवाद भएको घटनालाई विभिन्न सञ्चारमाध्यमले बढाइचढाइ गरी प्रकाशन एवं प्रचारण गरेकाे समाचार सतप्रतिशत झूठो र भ्रामक भएको माओवादी केन्द्रका नेता रमेश मल्लले एभरेष्टदैनिकलाई बताए । ‘मंगलबार साँझ माओवादीबाट अलग भएका बुढाथोकी नेतृत्वकाे स्वतन्त्र समूहका केही व्यक्ति र वाम गठबन्धनका कार्यकर्ताबीच सामान्य विवाद भएको हो ।’, नेता मल्लले भने, ‘मतदानको मुखमा मतदातालाई प्रभावित गर्न र भ्रम सृजना गर्ने उदेश्यले गरिएका प्रचारको हामी जोडदार रुपमा खण्डन गर्दछौं । र यस्ता प्रचारकाेपछि नलाग्न सबैलाई आग्रह गर्दछु ।’ सल्यानमा मात्रै नभएर देशभर माओवादी केन्द्र र नेकपा एमालेबीच कुनै विवाद र असझदारी नरहेकाे परिस्थितिमा हुँदै नभएको घटना र माओवादीबाट अलग रहेका बुढाथोकीलाई उधृत गर्दै आएका समाचार प्रति मल्लले गहिरो खेद व्यक्त गरे । केही सञ्चार माध्यममा मौन अवधिमा नेकपा एमालेका कार्यकर्ताले माओवादी केन्द्रका कार्यकर्तामाथि सांघातिक आक्रमण गरेको समाचार छ । उक्त स्थानमा सांघाति आक्रमण गरेको माओवादी केन्द्रका जिल्ला संयोजक कर्णबहादुर बुढाथोकीले बताए भनिएको छ । आक्रमणमा परि माओवादी केन्द्रका स्थानीय नेता जीवनबहादुर ठकुरी, नरेन्द्र सिंह, पर्मिलसिंह शाह घाइते भएको झूठो र भ्रामक समाचार छ ।