एभरेष्ट दैनिक

साँझ ६ बजेसम्मः ६ स्थानमा विजयी, ५९ स्थानमा वाम गठबन्धन अगाडि, संकटमा कांग्रेस

काठमाडौं, प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनको परिणामसँगै नेपाली कांग्रेसको अवस्था दयनीय देखिएको छ । हालसम्म गणना भएका ८० क्षेत्रमध्ये वाम गठबन्धनले ५९ स्थानमा अग्रता हासिल गरेको छ भने ६ स्थानमा वाम उम्मेदवारहरु विजयी भएका छन् । पछिल्लो परिणाम अनुसार, एमालेले पाँच, माओवादी केन्द्रले १ र स्वतन्त्रले १ एक स्थानमा जित हात पारेको छ । त्यसैगरी एमालेले ३८, माओवादी केन्द्रले २१, नेपाली कांग्रेसले ८ र अन्यले ६ वटा क्षेत्रमा अग्रता लिएको छ । नेपाली कांग्रेसको गढ मानिएका कतिपय जिल्लामा कांग्रेस क्लिन स्वीप भएको छ । कांग्रेसलाई राजनीतिकरुपमा नै नैतिक संकट परेको टिप्पणी शुरु भएको छ । पहिलो चरणका जिल्लाहरुको मतगणनासँगै दोश्रो चरणका जिल्लाहरुको मतगणना समेत शुरु भएको छ । अधिकांश पहाडी जिल्लाहरुमा वाम गठबन्धन अगाडि देखिएजस्तै प्रदेश नं. २ मा समेत वाम गठबन्धनले यही अवस्थामा विजय हासिल गर्ने हो भने वाम गठबन्धनले दुई तिहाई बहुमत ल्याउने समेत देखिन्छ । राजधानी काठमाडौं, ललितपुर र भक्तपुरमा भने अहिले कडा प्रतिष्पर्धा चलेको छ । मतगणना हुँदा कांग्रेस र वाम उम्मेदवारहरु अगाडि पछाडि पर्ने क्रम चलिरहेको छ । निकै चासो र चर्चामा रहेका रविन्द्र मिश्र भने अहिलेसम्म अगाडि आउन सकेका छैनन् । आज राती कतिपय जिल्लाको मतगणनाको अन्तिम नतिजा आउने देखिन्छ । पूर्वी पहाडका जिल्लादेखि सुदूरपश्चिमका जिल्लामा समेत वाम गठबन्धनले अग्रता लिएसँगै शनिबार साँझसम्म समग्र अवस्थाका आँकलन गर्न सकिने देखिन्छ । प्रदेश सभातर्फ समेत वाम गठबन्धनकै अग्रता देखिन्छ । हालसम्म वाम गठबन्धनका उम्मेदवारहरु ९ स्थानमा विजयी भएका छन् भने ६३ स्थानमा उनीहरुको अग्रता देखिन्छ । एमालेले ६ र माओवादी केन्द्रले ३ निर्वाचन क्षेत्रमा विजय हासिल गरेका छन् । नेपाली कांग्रेसले भने २ स्थानमा जितेको छ र ८ स्थानमा अगाडि छ । प्रदेशमा दुई जना स्वतन्त्र उम्मेदवा जितेका छन् । ग्राफिकः इकान्तिपुरबाट साभार