एभरेष्ट दैनिक

फेरि प्रधानमन्त्री हुन्छु : देउवा

भीमदत्तनगर, मंसिर १६ । प्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले प्रतिनिधि र प्रदेशसभामा सेती–महाकालीमा काँग्रेस विजयी भए आफू पुनः प्रधानमन्त्री हुने दाबी गरेका छन् । बेलौरी, झलारी र भीमदत्तगरमा शनिबार आयोजित चुनावीसभालाई सम्बोधन गर्दै उनले आफू एकपटक पुनः प्रधानमन्त्री भएर यहाँको पञ्चेश्वर परियोजना र पश्चिम सेती जलविद्युत् परियोजनाको निर्माण गरेर छाड्ने दृढता प्रकट गरे । “पञ्चेश्वर परियोजनाको निर्माण कार्य थालनी हुने चरणमा छ, पश्चिम सेती ठेक्का नै भइसक्यो,” उनले भने, “यी दुई ठूला परियोजना बने प्रदेश नं ७ मुलुककै धनी प्रदेश बन्छ ।” महाकाली अञ्चल अस्पतालको स्तरोन्नति र मझागाउँ विमानस्थल सञ्चालन गर्ने वाचा गर्दै प्रधानमन्त्री देउवाले महाकाली नदीमा बनिरहेको चार लेनको पुल बनाउने दावी गरे । सुदूरपश्चिमको विकासका लागि आफू जहिले पनि कटिबद्ध भएर लागेको र आगामी दिनमा समेत ठूला योजनाहरु ल्याएर विकास गर्ने उनले दावी गरे । चुनाव सार्न खोज्यो भनेर विपक्षीले अनाहकमा हल्ला फैलाइरहेकामा उहाँले दुखेसो पनि पोख्नुुभयो । सभामा काँग्रेसका केन्द्रीय सदस्य दीलेन्द्रप्रसाद बडू, नारायणप्रकाश साउद र रमेश लेखकलगायतले मन्तव्य राखेका थिए ।