एभरेष्ट दैनिक

कृषकलाई बीउदेखि भकारीसम्म अनुदान

पर्वत, मंसिर १६ । फलेवास नगरपालिकाका छवटा वडाका किसानका लागि करिब रु दुई करोड २५ लाख बजेट विनियोजन गरिएको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत परम्परागत खेती प्रणालीबाट किसानलाई व्यावसायिक बनाउने योजनाका लागि उक्त बजेट विनियोजन गरिएको हो । चालु आवमा विभिन्न अनुदानमा मात्रै करिब रु डेढ करोड खर्च गरिने परियोजनाको जोन एकाइ कार्यालयले जनाएको छ । फलेवास–४ मुडिकुवामा चालु आवका कार्यक्रम सार्वजनिक गर्दै वरिष्ठ कृषि विकास अधिकृत वसन्तकुमार श्रेष्ठले मकै बीउमा अनुदानदेखि भण्डारणका लागि मेटलविनमा समेत अनुदानको कार्यक्रम ल्याइएको बताउनुभयो । भिरालो जमिन खनजोतका लागि मिनी पावरटेलर, मकै चुट्ने र प्रशोधन गर्ने मेसिन, कुटानी र पिसानी मिल, भकारो सुधार, साना तथा मझौला सिँचाइ, माटो परीक्षण, कृषि चुन र रासायनिक मललगायतमा पनि अनुदानको कार्यक्रम छ । किसान समूह तथा सहकारीलाई मागका आधारमा थप अनुदानका कार्यक्रम दिन सकिने जानकारी उहाँले दिनुभयो । “छलफल गरेर मागका आधारमा अरु अनुदानका कार्यक्रम ल्याउन सकिन्छ” उहाँले भन्नुभयो, “नगरपालिका र सम्बन्धित वडास्तरसम्म छलफल गर्छौं ।” थापाठाना, शंकरपोखरी, मुडिकुवा, खानीगाउँ, लिमिठाना र ठानामौलाका किसानलाई अनुदान वितरण गरिने उहाँले बताउनुभयो । किसान कृषिमा अनुदान पाउने भएपछि हौसिएका छन् । पाँचसय हेक्टर जमिनमा मकै जोन कार्यक्रम सञ्चालनमा छ । फलेवास नगरपालिकाका प्रमुख पदमपाणि शर्माले अब जोनलाई सुपरजोनमा स्तर वृद्धि गर्ने तयारी भइरहेको बताउनुभयो ।