एभरेष्ट दैनिक

स्व.दाहालको सम्झनामा देशैभर श्रद्धाञ्जलि सभाको आयोजना

काठमाडौं, मंसिर ५ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ का सुपुत्र तथा माओवादी पार्टीका युवा नेता प्रकाश दाहालको असामयिक निधनप्रति सिंगो पार्टी तथा वाम गठबन्धनका तर्फबाट गहिरो दुःख व्यक्त गरिएको छ । देशैभरि आज लागि पूर्व निर्धारित वाम गठबन्धनका सबै चुनावी सभामा स्व.प्रकाश दाहालको असामहिक निधनप्रति गहिरो दुःख व्यक्त गर्दै श्रद्धाञ्जलि सभाको आयोजना गरिएको छ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पुत्र वियोगको भारी मन लिएर गृह जिल्ला चितवनमा पुगेका छन् । चितवन ३ मा आज हुने भनिएको वाम गठबन्धनको चुनावी सभामा सहभागी हुन उनी चितवन पुगेका हुन् । उक्त सभामा प्रकाश दाहाललाई श्रद्धाञ्जली दिएपछि सुरु हुने बताइएको छ । सो सभामा अध्यक्ष प्रचण्ड सहभागी भएपनि सम्वोधन नगर्ने बताइएको छ । श्रद्धाञ्जलि सभामा उम्मेदवार तथा पार्टीका नेताहरुले स्व। दाहालको तस्वीरमा माल्यापर्ण गर्दै उनले पार्टीलाई पुर्याएको योगदानको कदर गर्दै देशले इमान्दार र मेहनेती युवा नेता गुमाएको धारणा व्यक्त गरे । यस्तै कञ्चनपुरको १ नम्बर निर्वाचन क्षेत्रकी प्रतिनिधिसभा सदस्य उम्मेदवार बिना मगरका श्रीमान, पार्टी अध्यक्ष प्रचण्डका सुपुत्र तथा पार्टीका केन्द्रीय सदस्य स्व.दाहालको असामयिक निधनले कञ्चनपुर शोकमा डुबेको छ । शोकमा डुबेको कञ्चनपुरको १ नम्बर निर्वाचन क्षेत्र अर्थात् स्व। दाहालको ससुराली गाउँ पुनर्वासमा आज बिहान श्रद्धाञ्जलि सभा आयोजना गरियो । पु्नर्वासको सहिद गेटमा संयुक्त वाम गठबन्धनले आयोजना गरेको श्रद्धाञ्जलि सभामा बोल्ने अधिकांश वक्ताले प्रकाश दाहालको कञ्चनपुरसँग विशेष सम्बन्ध रहेकाले कञ्चनपुर बढी शोकमा डुबेको बताए । कञ्चनपुरको निर्वाचन क्षेत्र नम्बर १ की उम्मेदवार बिना मगरका श्रीमान प्रकाशको निधनले सम्पूर्ण निर्वाचन क्षेत्र नै शोकमा डुबेको निर्वाचन परिचालन समितिका संयोजक तथा माओवादी केन्द्र कञ्चनपुरका जिल्ला संयोजक वीरबहादुर थापाले बताए । १७ वर्षदेखि पार्टीमा सक्रिय स्व। दाहालको आइतबार आकस्मिक हृदयघातका कारण मृत्यु भएको थियो । स्व.दाहालले माओवादी जनसेना, र पार्टीको हेडक्वार्टरमा सक्रिय भूमिका खेलेका थिए । श्रद्धाञ्जलि सभामा पार्टीका नेताले इमान्दार, मेहनेती र मिलनसार स्व। दाहालको निधनले सिंगो देशले जझारू युवा नेता गुमाएको बताए ।