एभरेष्ट दैनिक

प्रचण्ड र ओलीबीच टेलिफोन वार्ताः पहिलो चरणमा वामगठबन्धनलाई दुई तिहाई मत खसेको अाँकलन

चितवन, मंसिर १२ । मंसिर १० गते आइतबार सम्पन्न भएको पहिलो चरणको निर्वाचनमा वामगठबन्धनलाई दुई तिहाई मत खसेको नेकपा एमालेका अध्यक्ष केपी ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आँकलन गरेको जनाएका छन् । पहिलो चरणमा ३२ जिल्लाको निर्वाचन सकेर दोस्रो चरणका लागि अभियानमा रहेका गठबन्धनका दुई अध्यक्षबीच मंगलबार बिहान टेलिफोनमा आधा घण्टा कुराकानी भएको थियो । ‘आज बिहान कमरेड केपी ओलीसँग मेरो झण्डै आधा घण्टा टेलिफोनमा कुराकानी भएको थियो’, मंगलबार बिहान चितवनको मेघौलीमा चुनावी कोणसभालाई सम्बोधन गर्ने क्रममा अध्यक्ष दाहालले भने, ‘हामीले पहिलो चरणमा दुई तिहाई मत प्राप्त भएको विश्लेषण गरेका छौं र आगामी निर्वाचनमा पनि यहि परिणामलाई कायम राख्नतर्फ हाम्रो प्रयत्न हुनेछ।’ चितवन ३ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार रहेका दाहाल लाहुरेचोकमा डेरा जमाएर चुनावी अभियानमा छन्। मंगलबार बिहान मर्निङवाक सकेर केही कांग्रेस समर्थकलाई पार्टीमा प्रवेश गराएपछि दाहाल मेघौलीमा घरदैलो गर्दैछन्। आइतबार सम्पन्न पहिलो चरणको निर्वाचनमा कसरी वामगठबन्धनको पक्षमा दुई तिहाई मत खस्यो भन्ने दाहालले खुलाएनन् । ३२ जिल्लामा ६५ प्रतिशत मतदाताले गरेको मतदान अहिले बन्द बाकसमा जिल्ला सदरमुकाममा राखिएका छन्। पहिलो चरणको निर्वाचनले वामगठबन्धनलाई उत्साहित बनाएको छ भन्दै दाहालले दोस्रो चरणका लागि थप मेहनत गर्नुपर्ने बताए। अध्यक्ष दाहालले निर्वाचन लगत्तै एमाले र माओवादीबीच पार्टी एकता हुने दोहोर्याउँदै त्यसपछि स्थायीत्व र विकास तर्फको यात्रा तय गर्ने जनाए ।