एभरेष्ट दैनिक

साना दलका उम्मेदवार किन जमानत नै जोगाउन सक्दैनन ?

कैलाली, कात्तिक १९ । कैलालीमा संविधान सभादेखि स्थानीय तहको निर्वाचनसम्म आइपुग्दा अधिकांश साना दलहरुका उम्मेदवारले जमानत नै जोगाउन नसकेका उदाहरण प्रशस्त छन् । तर पनि उनीहरु निरन्तर चुनावमा भाग भने लिइरहेका छन् । चुनावको नतिजा अघिसम्म साना दलहरुको मोहोल रामै देखिए पनि परिणाम भने त्यस्तो आउदैन । अहिलेसम्म कैलालीमा कांग्रेस, एमाले र माओवादीकै दबदबा छ । चुनावमा धरौटि नै सुरक्षित गर्न नसक्नुको मुख्य कारण ठूला दलका जसरी चुनावमा पैसा खर्च गर्न नसक्नु रहेको साना दलहरुको आरोप छ । ठूला दलहरुले चुनावमा निकै खर्च गर्ने भएकाले अधिकांश साना दलहरुले जित्न नसकेको तथा जमानत नै जोगाउन नसकेको साना दलहरुले आरोप लगाएका हुन् । अहिलेसम्मका धेरै जसो चुनाव ठूला दलहरुले मतदातालाई भोज भतेर तथा पैसा दिनुको मुख्य कारण नै साना दलहरुले चुनाव हार्नु रहेको प्रतिनिधि सभा सदस्यका लागि राष्ट्रिय जनमोर्चा कैलालीबाट निर्वाचन क्षेत्र नं.–४ बाट उम्मेदवारी दिएका लक्षिराम आचार्य बताए । अधिकांश साना दलका उम्मेदवारले चुनावमा आफ्नो जमानत नै जोगाउन सक्दैनन् । तर पनि निरन्तर चुनावमा भाग लिइरहेका छन् । यसका पछाडी थुप्रै कारण देखिन्छन् । यसैको एक एक उदाहरण हो, ठूला दलहरुसंग साना दलले पैसाको बार्गेनिङ गर्नु । साना दलहरु पनि यो आरोप स्वीर्काछन् । यहि गलत प्रवृतिका कारण साना दलहरुले चुनाव हार्नु तथा धरौटी जोगाउन नसक्नु रहेको नया शक्ति नेपालबाट निर्वाचन क्षेत्र नं.–५ प्रतिनिधि सभाका उम्मेदवार नृपबहादुर बोहराले बताए । कतिपय साना दलहरुले भने पार्टिको स्पष्ट ऐजण्डा नहुनु, पार्टिभित्र एकता नहुनु तथा कार्यक्रताको संख्याको कमी हुनुका कारण चुनावमा हार्नु परि रहेको बताएका छन् । चुनावका बेला मतदाता पनि एजेण्डा भन्दा पनि खर्च गर्न सक्ने पार्टीलाई बढि प्राथमिता दिने भएका कारण जमानत नै सुरक्षित गर्न मुस्कील भइरहेको राप्रपाका गंगाराम रानाले बताए । आगामी मंसिरमा हुने चुनावमा पनि साना दलहरुले उम्मेदवारी दर्ता गराएका छन् । अब मतदाता पनि शिक्षीत भइसकेकाले पार्टि भन्दा पनि पात्रलाई चिनेर भोट दिने साना दलहरुको दाबी छ ।