एभरेष्ट दैनिक

यू-१९ एसिया कपमा नेपाल बलियो, बंगलादेशलाई ६ विकेटले हरायाे

काठमाडौं, कात्तिक २० । नेपालको अण्डर नाइन्टिन राष्ट्रिय क्रिकेट टोलीले अन्तिम अभ्यास खेलमा बंगलादेशलाई ६ विकेटले पराजित गरेको छ । एसिया कप क्रिकेट प्रतियोगिताको तयारीमा रहेको नेपालले बंगलादेशमा खेलेका तीनमध्ये सुरुका दुई खेलमा हार बेहोर्दा अन्तिम खेलमा शानदार प्रदर्शन गरेको हो । आइतबार साभरको मैदानमा भएको अन्तिम खेलमा बंगलादेशले टस जितेर पहिले ब्याटिङ्ग गर्दै ७ विकेटको क्षतिमा दुई सय २५ रन बनायो । अनिमुल इस्लामले अविजित रहँदै ८० रन बनाएको इनिङ्समा बहाब आलमले ३, अनिलकुमार शाहले २ तथा कप्तान दिपेन्द्र सिंह ऐरीले १ विकेट लिए । जवाफमा नेपालले म्यान अफ द म्याच मोहम्मद आसिफ शेखको शानदार ९० रनको मद्धतले ४६ ओभर ३ बलमै ४ विकेटको क्षतिमा विजय हासिल गर्यो । नेपालको जितमा जितेन्द्र सिंहको ४५ , दिपेन्द्रको अविजित २७ तथा रोहितकुमार पौडेलको २५ रन महत्वपूर्ण रह्यो । यो जितले नेपालले कार्तिक २३ गतेदेखि मलेसियामा हुने एसीसी युथ एसिया कप क्रिकेटमा दरिलो उपस्थिति जनाउने अपेक्षा गरिएको छ । नेपालको समूहमा बंगलादेशसंगै भारत र मलेसिया रहेका छन् । आठ टोलीलाई दुई समूहमा विभाजन गरी खेलाइने प्रतियोगिताका समूह विजेता र उपविजेता सेमिफाइनलमा पुग्नेछन् । नेपाली टिम सोमबार साँझ स्वदेश फर्कने छ ।