एभरेष्ट दैनिक

कांग्रेसकै कार्यकर्ताले गरे पूर्वसांसद बिष्टमाथि दूव्र्यवहार, बिनाको पक्षमा माहोल बन्दै

कञ्चनपुर, कात्तिक २१ । चुनाब जितेर गएपछि निर्वाचन क्षेत्रमा कुनै काम नगरेको भन्दै नेपाली कांग्रेसका स्थानीय नेता र कार्यकर्ताले कञ्चनपुर क्षेत्र नम्बर १ का निवर्तमान संसद एवम् कांग्रेस उम्मेदवार दिवानसिंह विष्टमाथि दूर्व्यवहार गरेका छन । अघिल्लो संसदीय चुनाव जितेर गएपछि कार्यकर्तालाई बिर्सेको भन्दै फेरि उम्मेदवार बनेर आएका कञ्चनपुर क्षेत्र नम्बर १ का कांग्रेस उम्मेदवार दिवानसिंह विष्टलाई कांग्रेसकै कार्यकर्ताले अपमानित गरेका छन् । कांग्रेसका केन्द्रीय नेता रमेश लेखक र एनपी सावद सहभागी बेलडाडी गाउँपालिकाको चवन्नीमा भएको कार्यक्रममा कांग्रेसका स्थानीय नेता कार्यकर्ताले दिवानसिंह विष्टसँग सांसद जितेर गएपछिको ५ वर्षको हिसाबकिताव माग गरेका छन् । चुनाव जितेर गएपछि स्थानीय कार्यकर्तालाई बिर्सिएको भनेर उम्मेदवार दिवानसिंह विष्टलाई गालीगलौच गर्र्दै कांग्रेस कार्यकर्ताले आसन्न प्रतिनिधिसभा निर्वाचनमा वाम गठबन्धनकी उम्मेदवार विना मगरलाई जिताउने घोषणा गरेका छन् । कांग्रेसका केन्द्रीय नेता सहभागी कार्यक्रममै विना मगरलाई जिताउने चर्चा चलेपछि कांग्रेस नेता आश्चर्यचकित भएका थिए । कार्यकर्ता र जनताको हितमा काम नगर्ने व्यक्तिलाई फेरि कांग्रेसले उम्मेदवार बनाएपछि कांग्रेसभित्र असन्तुष्टि बढेको छ । चुनावी प्रचारप्रसारका क्रममा कांग्रेसले बेलडाँडीमा आयोजना गरेको आमसभामा उम्मेदवार दिवानसिंह विष्टले बोल्न सुरु गरेपछि कार्यकर्ताले आक्रोशित हुँदै नारावाजी गरेका थिए । यसअघि जितेर गएपछि क्षेत्रको विकासमा गरेका कामको विवरण दिन कार्यकर्ताले माग गरेपछि दिवानसिंह विष्टले केही बोल्न नसकेको कांग्रेसका एक कार्यकर्ताले बताए । कांग्रेसभित्र तीब्र असन्तुष्टि बढेपछि वाम गठबन्धनकी उम्मेदवार विना मगरको पक्षमा जिताउने माहौल बन्दै गएको छ ।