एभरेष्ट दैनिक

पुरानै मूल्यमा धान बिक्री गर्नुपर्दा कृषकहरु आक्रोशित

लोकेश धामी कैलाली, कार्तिक २३ । नेपाल खाद्य संस्थानले पुरानै मूल्यमा धानको मूल्य निर्धारण गरेको भन्दै कैलालीका किसान आक्रोशित बनेका छन् । ढिला गरी भएको धानको मूल्य पनि पुरानै रेटमा निर्धारण हुँदा किसानहरु आक्रोशित बनेका हुन् । अधिकांश किसानले धान बिक्री गरिसकेपछि धानको मूल्य निर्धारण भएको छ । दिनहुँ मंहगी बढिरहेको भएपनि गतवर्षकै मूल्यमा संस्थानले धान खरिद गर्न लागेपछि किसानहरु व्यापारीलाई धान विक्री गर्नुपर्ने बाध्यतामा परेका छन् । अधिकांश किसानले धान बिक्री गरिसकेको र त्यसैमाथि ढिला गरी भएको धानको मूल्य निर्धारणले किसानहरुलाई कुनै फाइदा नपुगेको उनीहरुको गुनासो छ । धान काटेर गहुँ लगाउने बेलासम्म संस्थानले मूल्य निर्धारण नगर्दा अधिकांश किसानले व्यापारीसँग धान बिक्री गरिसकेका छन् । त्यसैमाथि यसवर्ष नेपाल खाद्य संस्थानले गतवर्षकै मूल्य निर्धारण गरेपछि किसानहरु आक्रोशित बनेका छन् । मंगलबार मात्रै संस्थानले धानको मूल्य निर्धारण गरेको छ । महँगी आकाशिएको भएपनि संस्थानले गत वर्षकै दरमा धान खरिद गर्दा मेहनत अनुसारको मूल्य नपाएको धनगढी उपमहानगरपालिका–५ हसनपुरका किसान लोकराज भट्टले गुनासो गरे । नेपाल खाद्य संस्थानले यो वर्ष पनि गतवर्षको जस्तै धान प्रतिक्विन्टल १९ सय ५० रुपैयाँ निर्धारण गरेको छ । गतवर्ष शुरुमा १९ सय ५० भएपनि पछि भने २१ सय रुपैयाँमा खरिद गरेको थियो । बजारमा महंगी बढ्ने आँकलनलाई मध्यनजर गर्दै गतवर्षकै दरमा चामल खरिद गरिहरेको नेपाल खाद्य संस्थान अञ्चल कार्यालय धनगढीका निमिक्त प्रमुख गंगादत्त पन्तले बताए । गतवर्ष संस्थानले ५० हजार क्वीन्टल चामल धान खरिद गरेको थियो भने यो वर्ष ४५ हजार क्विन्टल खरिद गर्ने लक्ष्य राखेको छ । कैलालीको मोहनपुर, टिकापुर सत्ती र भजनीबाट संस्थानले धान खरिद गरिरहेको छ ।