एभरेष्ट दैनिक

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प चीनमा

काठमाडौं, कात्तिक २२ । एसियाको पाँच देशको भ्रमणमा रहेका अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प चीनको बेइजिङ पुगेका छन्। त्यहाँ उनको मुख्य ध्यान चीनसंगको व्यापार तथा उत्तर कोरियासंगको तनाव जस्ता मुद्दाले खिच्नेछ। परमाणु अस्त्रसम्बन्धी कार्यक्रमका कारण प्योङयाङमाथि संयुक्त राष्ट्रसंघले लगाएका सबै प्रतिबन्धहरु कडा रुपमा लागू गराउन बेइजिङले सुनिश्चित गरोस् भन्ने अमेरिकाको चाहना रहेको छ। उत्तर कोरियाका विरुद्ध चीनले अन्य कदमहरु पनि लेओस् भन्ने ट्रम्प चाहन्छन्। उत्तर कोरियामाथि थप दबाब दिन चिनियाँ राष्ट्रपति सि जिनपिङलाई मनाउन ट्रम्पले प्रयास गर्ने बताइएको छ। यसअघि दक्षिण कोरियाली संसद्‍मा बोल्दै ट्रम्पले उत्तर कोरियासँग सबै देशहरुले कुटनीतिक सम्बन्ध कम गर्नुपर्ने र सबै व्यापार तथा प्रविधि सम्पर्क विच्छेद गर्नुपर्ने बताएका छन्। चीनलाई पनि उनले उत्तर कोरियासंगको सम्बन्ध तोड्न भने। राजधानी बेइजीङमा उनका चिनियाँ समकक्षी सि जिनपिङले ट्रम्पको सम्मानमा भव्य स्वागतको आयोजना गर्दैछन्। चीन आगमन अघि ट्रम्पले चिनियाँ राष्ट्रपति सि को एकदम प्रशंसा गरेका थिए र उनको ठूलो राजनीतिक जितपछि उनलाई भेट्न चाहेको बताएका थिए। चिनियाँ कम्युनिस्ट पार्टीको हालै सम्पन्न महाधिवेशनबाट सि ले उनको शक्तिलाई सुदृढ पारेका थिए। त्यसो हुँदा ट्रम्पसँग कुनै पनि सम्झौतामा पुग्ने सम्भावना अब कम हुन सक्ने विश्लेषकहरु बताउँछन्। सि को प्रशंसा गरेपनि ट्रम्पको उनीसंगको सम्बन्धमा तनाव पनि छन्। चीनको व्यापार अभ्यासहरु असमान भएको भन्दै ट्रम्पले चीनको आलोचना गरेका छन्। बिबिसी