एभरेष्ट दैनिक

राप्रपाका नेताविरुद्ध सर्वोच्चमा अपहेलनाको मुद्दा

काठमाडौं, भदौं ७ । राष्ट्रिय प्रजातन्त्र पार्टीका नेताद्वय राजेन्द्र लिङदेन र कुन्तीकुमारी शाहीविरुद्ध अदालतको अपहेलनासम्वन्धी सर्वोच्चमा मुद्दा परेको छ । अधिवक्ताद्वय जनार्दन बञ्जाडे र शिव सुवेदीले बुधबार सर्वोच्चमा अदालतको अपहेलनासम्वन्धी मुद्दा दायर गरेका हुन् । दुबैलाई संविधानको धारा १२८ को उपधारा ४ र न्याय प्रशासन ऐनको दफा १७ को १ को ४ बमोजिम एक वर्ष कैद र १० हजार जरिवाना माग दावी गरिएको छ । सर्वोच्च अदालतले गएको सोमबार राप्रपा प्रजातान्त्रिकलाई निर्वाचन आयोगमा दल दर्ताको पक्षमा फैसला गरेपछि सांसद शाहीले न्याय जसले सक्यो उसले किन्ने गरेको र महामन्त्री लिङदेनले सर्वोच्च पैसा र विदेशीको प्रभावमा चलेको ट्वीट गरेका थिए । अधिवक्ताद्वयले उनीहरुको अभिव्यक्तिले अदालतको अपहेलना गरेको दावी गर्दै मुद्दा दायर गरेका हुुन ।