एभरेष्ट दैनिक

प्रधानमन्त्री देउवालाई दिल्लीमा विदेशमन्त्रीको स्वागत

काठमाडौं, भदौ ७ । पाँच दिने भारत भ्रमणका क्रममा नयाँदिल्ली पुगेका प्रधानमन्त्री शेरबहादुर देउवालाई भारतीय विदेशमन्त्री सुष्मा स्वराजले स्वागत गरेकी छिन् । जम्बो टोलिसहित आज विहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट नेपाल एयरलाइन्सको विमानबाट दिल्ली पुगेका प्रधानमन्त्री देउवालाई इन्दिरा गान्धी अन्तराष्ट्रिय विमानस्थलमा भारतीय विदेशमन्त्री स्वराजले स्वागत गरेकी हुन् । प्रधानमन्त्री देउवालाई स्वागत गर्न भारतका लागि नेपाली राजदूत दीपकुमार उपाध्यायसहित दूतावासका अधिकारीहरु, भारतीय विदेश मन्त्रालयका अधिकारीहरु विमानस्थलमा पुगेका थिए । विदेशमन्त्रीको औपचारिक स्वागतपछि प्रधानमन्त्री देउवा विमानस्थलबाट राष्ट्रपति भवन प्रस्थान गरेका छन्, जहाँ उनी भ्रमण अवधिभर बस्नेछन् । प्रधानमन्त्री देउवाले नयाँदिल्लीस्थित नेपाली दूतावासमा आजै नेपाली समुदायसँग छलफल गर्ने कार्यक्रम छ । साँझ उनले भारतका उद्योगी–व्यवसायीहरूको साझा संस्था एसोसिएटेड चेम्बर्स अफ कमर्स एन्ड इण्डस्ट्री अफ इन्डियाले आयोजना गर्ने कार्यक्रमलाई सम्बोधन गर्नेछन् । तस्वीरः नेपाली दूताबास, दिल्ली