म ती पुराना नेताहरूको भीडमा छैन, सत्ताको भागबन्डाको सम्झौतामा कहिल्यै सामेल हुने छैन : प्रचण्ड
१९ माघ, २०८२
काठमाडौं — नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल 'प्रचण्ड' ले आफूलाई सत्ताको भागबन्डा र पुराना नेताहरूको भीडबाट अलग राखेको स्पष्ट पारेका छन्। आइतबार सामाजिक सञ्जाल फेसबुकमा जारी गरेको भिडियो सन्देशमा उनले भने, “धेरैलाई लाग्न सक्छ कि म पनि अन्य पुराना नेताहरू जस्तै हुँ। तर म स्पष्ट रूपमा भन्न चाहन्छु— म ती पुराना नेताहरूको भीडमा छैन। म त्यस्तो सत्ताको भागबन्डाको सम्झौतामा कहिल्यै सामेल हुने छैन, जसले देशलाई बन्धक बनाइराखेको छ। म फरक छु र यो कुरा प्रमाणित गरेरै छाड्नेछु। मेरो काम र निष्ठालाई आज होइन, आगामी इतिहासले प्रमाणित गर्नेछ।” प्रचण्डले आफूले जीवनमा एउटा व्यक्तिले गुमाउन सक्ने सबै गुमाइसकेको उल्लेख गर्दै थपे, “यो संघर्ष मेरो व्यक्तिगत होइन, हजारौं सहिदहरूको सपना पूरा गर्ने यात्रा हो। आफन्त र कमरेडहरूको बलिदान खेर जाने छैन भन्ने मलाई थाहा छ। परिवर्तन अनिवार्य छ र भएरै छाड्नेछ।” उनले भ्रष्टाचार अन्त्य, पारदर्शिता र बलियो सरकारको मुद्दा जनयुद्धकालदेखि नै उठाउँदै आएको बताए। मुलुकमा राजनीतिक स्थिरता तथा विकासका लागि वर्तमान व्यवस्थाभन्दा प्रत्यक्ष निर्वाचित कार्यकारी प्रणाली उत्तम हुने उनको दाबी छ। “मेरो र युवाहरूको माग समान छ। म तपाईंहरूकै पुस्ताको सोच बोकेर हिँडेको यात्री हुँ। खलनायक बनेर इतिहासको पानामा हराउन चाहन्नँ। देशलाई सही दिशामा नपुर्‍याएसम्म विश्राम लिने छैन,” उनले भने। प्रचण्डले हार नमान्ने अठोट व्यक्त गर्दै थपे, “म हार मान्न तयार छैन। काम सकिएको छैन। नयाँ पुस्तालाई स्वागत गर्छु। तर हरेक चम्किलो वस्तु हिरा हुँदैन, सामाजिक सञ्जालका भ्रमले बहकाउन सक्छ। म स्वतन्त्र चिन्तनका लागि अपिल गर्न आएको हुँ, भोट माग्न होइन।” प्रचण्ड रुकुम पूर्वबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार छन्। फागुन २१ गते प्रतिनिधिसभा निर्वाचन हुँदैछ।
मुग्लिन–नारायणगढ सडकमा बस पल्टिँदा ३८ घाइते
१७ माघ, २०८२

