एभरेष्ट दैनिक

इरानतर्फ अघि बढ्यो अमेरिकी लडाकू विमानबाहक युद्धपोत

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई परमाणु कार्यक्रमबारे वार्ताको टेबुलमा नआए अघिल्लो वर्षको जुनमा भएको 'अपरेसन मिडनाइट ह्यामर' भन्दा धेरै शक्तिशाली तथा विनाशकारी आक्रमणको चेतावनी दिएका छन्। ट्रम्पले आफ्नो सामाजिक सञ्जाल ट्रुथ सोसियलमा पोस्ट गर्दै लेखेका छन्, 'इरान छिट्टै वार्तामा आएर निष्पक्ष सम्झौता गर्छ भन्नेमा आशावादी छौं। समय घर्किसकेको छ। सम्झौता नभए अर्को आक्रमण पहिलेको भन्दा धेरै खराब हुनेछ।' उनले यूएसएस अब्राहम लिंकन विमानवाहक युद्धपोत नेतृत्वको ठूलो नौसैनिक दस्ता (आर्माडा) इरानतर्फ पठाइएको बताएका छन्। यो दस्ता भेनेजुएलामा पठाइएको भन्दा शक्तिशाली रहेको ट्रम्पको दाबी छ। यो समूह हाल मध्यपूर्व क्षेत्रमा पुगिसकेको विभिन्न सञ्चारमाध्यमले उल्लेख गरेका छन्। गत वर्षको 'अपरेसन मिडनाइट ह्यामर'मा अमेरिकाले इरानका तीन आणविक स्थलहरूमा हमला गरेको थियो, जसले कार्यक्रमलाई ठूलो क्षति पुर्‍याएको अमेरिकी दाबी छ। तर इरानले गोप्य रूपमा कार्यक्रम जारी राखेको आशंका छ। ट्रम्पको यो धम्की इरानमा जारी सरकार विरोधी प्रदर्शन र आर्थिक संकटसँग जोडिएको छ। अमेरिकाले बाह्य दबाब र आन्तरिक विद्रोहको संयोजनबाट इरानी शासनलाई कमजोर बनाउने रणनीति अपनाएको बताइएको छ। इरानले ट्रम्पको धम्कीलाई सार्वभौमिकतामाथिको हस्तक्षेप भन्दै कुनै आक्रमण भए अमेरिकी आधार र इजरायललाई निशाना बनाउने चेतावनी दिएको छ। इरानी अधिकारीहरूले वार्ताका लागि तयार भए पनि दबाबमा नआउने बताएका छन्।