एभरेष्ट दैनिक

आरआर क्याम्पसमा पुन: तालाबन्दी

काठमाडौं, फागुन २० । स्ववियु निर्वाचनको नयाँ मिति घोषणा गरेसँगै भएको विवादमा प्रहरी र विद्यार्थीबीच झडप भएपछि अहिले राजधानीको प्रदर्शनीमार्गस्थित रत्न राज्य लक्ष्मी (आरआर)मा पुनः विद्यार्थी संगठनहरुले तालाबन्दी गरेका छन् । आज विहान ११ बजे मात्रै क्याम्पस प्रशासनले प्रहरीको सहयोगबाट ताला फोडेको आरआर क्याम्पसमा बेलुकी ६ बजे पुनः विद्यार्थीहरुले तालाबन्दी गरेका छन् । विद्यार्थीमाथि क्याम्पस प्रशासनले प्रहरी दमन गरी एकलौटी रुपमा स्ववियु निर्वाचनको नयाँ मिति घोषणा गरेको भन्दै विद्यार्थीहरु प्रदर्शनमा उत्रिएका थिए । प्रदर्शनमा उत्रिएका विद्यार्थीहरुमाथि प्रहरीले दमन गरेपछि लामो समय त्यस क्षेत्र तनाव ग्रस्त बनेको थियो । अखिल क्रान्तिकारी विद्यार्थी युनियन, नेवी संघलगायत विद्यार्थीसँगठनहरुले क्याम्पस प्रशासनविरुद्ध तालाबन्दी गरेका हुन् । हाल निर्वाचनका उम्मेदवारसमेत क्याम्पसभित्र छिर्न नदिई प्रशासन कडा प्रहरी सुरक्षा घेराभित्र रहेको क्रान्तिकारीका स्ववियु सभापति उम्मेदवार धु्वराज वाग्लेले जानकारी दिएका छन् । निर्वाचन प्रमुख हरिप्रसाद पराजुली भने विहानैदेखि सम्पर्कविहीन रहेका छन् ।