एभरेष्ट दैनिक

ठूला हत्याकाण्ड किन पत्ता लाग्दैन?

काठमाडाैं, चैत ५  । मध्यरात सेना गस्तीमा थियो । नेपालगन्जका सडक सुनसान थिए । सेना त्यही स्थान भएर जाँदै थियो जुन घरको माथिल्लो तलामा एक परिवारका चारजनासहित पाँचजनाको हत्या हुँदै थियो ।घटना २३ फागुन ०६२ को हो । द्वन्द्वको समय भएकाले सेनाले गस्ती गरिरहेको थियो । मध्यरातमा नेपालगन्ज सुनसान हुने गर्थ्यो । सुनचाँदी व्यवसायी दीपक हेमकारको घर पनि बाहिरबाट देख्दा सुनसान थियो । तर, भोलिपल्ट त्यही घरमा पाँचजनाको शव भेटियो । सबैलाई धारिलो हतियारले घाँटी रेटेर हत्या गरिएको थियो । मारिनेहरूको रुद्रघण्टी छिनाइएको थियो । घटनामा दीपककी श्रीमती दीपा मात्र बाँचेकी थिइन् । त्यो दिन उनी घरमा नभई माइतमा थिइन् । घटनामा गुलामदेवी हेमकार (८२), जगदेव हेमकार (६२), सीतादेवी हेमकार (४५), दीपक हेमकार (३२) को हत्या भएको थियो । सबैलाई सुतिरहेकै स्थानमा हत्या गरिएको थियो । सबैको शव ओछ्यानमा नै फेला परेको थियो । घटनामा हेमकार परिवारको पसलमा काम गर्ने १५ वर्षीय रामसनिच्चर चौधरीको समेत हत्या भयो । हत्या भएको रात तीन अपरिचित व्यक्ति घरमा आएको प्रहरीले तथ्य फेला पारेको थियो । संकटकालको वेला नगरको व्यस्त सडकमा रहेको सुनचाँदी पसलको माथिल्लो तलामा घरभित्र पाँचजनाको हत्या गरी ज्वेलर्सबाट नगद र सुनचाँदीसहित करिब २९ लाखबराबरको सम्पत्ति लुटिएको थियो । घटनापछि प्रहरी प्रधान कार्यालयबाटै डिएसपीको कमान्डमा अनुसन्धान टोली खटिएको थियो । घटना भएका वेला जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख प्रहरी उपरीक्षक शिव लामिछाने थिए । जिल्ला प्रहरीले पनि अनुसन्धान गरेको थियो । तर, अनुसन्धान अझै पूरा हुन सकेको छैन । ११ वर्ष बित्दा पनि घटनाका अभियुक्त पक्राउ परेका छैनन् । अपराध अनुसन्धान विभागबाट कुकुरसहितको टोली झिकाएर पनि प्रहरीले हत्यारा पत्ता लगाउने प्रयास गरेको थियो । तत्कालीन भेरी अञ्चल प्रहरी प्रमुख राजेन्द्रसिंह भण्डारीले पनि हत्याको अनुसन्धान गरेका थिए । अहिले घटनाको फाइल प्रहरीले बन्द गरेको छ । जिल्ला प्रहरी कार्यालयबाट प्रहरी निरीक्षकको अर्को टोली पनि अनुसन्धानमा खटिएको थियो । पाँच सय पृष्ठको अनुसन्धान प्रतिवेदन र मिसिल तयार भए पनि दुवै टोलीले घटनाको निष्कर्ष निकाल्न सकेनन् । हत्याको ६ वर्षपछि प्रहरीले चारजनालाई नियन्त्रणमा लिई पुनः अनुसन्धान थालेको थियो । तर, घटनामा उनीहरूको संलग्नताबारे केही पत्तो नलागेपछि प्रहरीले त्यसै छोडेको थियो । तत्कालीन बाँकेका प्रहरी प्रमुख प्रहरी उपरीक्षक उदय तामाङले हत्यारा नेपाल र भारत दुवैतिर भएकाले नियन्त्रणमा लिई अनुसन्धान गर्नुपर्ने बताएका थिए । तर, कोही पनि पक्राउ परेनन् । प्रहरीले अनुसन्धानबाट सो हत्याकाण्डमा परिवारकै केही सदस्य संलग्न रहेको आधार फेला पारेको दाबी गरेको थियो । तर, प्रहरीको यो दाबीको पनि ठोस प्रमाण मिलेन । एक्लै बाँचेकी हेमकार परिवारकी बुहारी दीपा हेमकारप्रति प्रहरीको आशंका थियो । तर, प्रहरीले उनलाई पक्राउ गरेर अनुसन्धानको दायरमा भने ल्याएन । उनी अहिले भारतमा बस्छिन् । जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी निरीक्षक एवं मुद्दा फाँट इन्चार्ज वीरबहादुर थापाले हेमकार हत्याकाण्डको फाइल बन्द नभएको बताए । उनले घटनाको अनुसन्धान जारी रहेको दाबी गरे । ‘पुराना मुद्दाका फाइलसमेत हामीले नियमित रूपमा हेरिरहेका छौँ, नयाँ नेतृत्व फेरिँदैमा पुराना मुद्दाका फाइल बन्द हुने कुरा हुँदैन,’ उनले भने । हत्याको दिन दीपा र उनका पति दीपक नेपालगन्जबाट भारत गएका थिए । हेमकार परिवारका अन्य सदस्यले समेत हत्यामा दीपा संलग्न भएको आशंका गरेका थिए । अहिले सो घटनाको फाइल बाँकेका प्रहरी प्रमुख प्रहरी उपरीक्षक टेकप्रसाद राईले हेरिरहेका छन् । नयाँ घटना थपिँदै जाने भएकाले पुराना फाइलमा धेरै समय दिन नसकेको प्रहरीले बताउने गरेको छ । पुराना र नयाँ फाइललाई मिलाएर अनुसन्धान भइरहेको प्रहरीले दाबी गरे पनि पुराना घटनाका फाइललाई प्रहरीले खासै समय नदिने गरेको सर्वसाधारणको भनाइ छ । ‘हेमकार घटनालाई नजिकबाट अनुसन्धान गर्ने कार्य भइरहेको छ,’ प्रहरी उपरीक्षक राईले भने । अदालतको स्रेस्ता फरक पर्दा समस्या अदालतले कैद र जरिवाना फैसला गरेका दोषीको नाम र वतन स्पष्ट खुल्न नसक्दा पक्राउ गर्न समस्या हुने गरेको फैसला कार्यान्वयन विशेष अभियान टोलीका सदस्य एवं प्रहरी नायब निरीक्षक भीमबहादुर खड्काले बताए । उनले फैसलाबमोजिमका व्यक्तिलाई खोज्न जाँदा बसाइँसराइ गरेर अन्यत्र जाने र नाम स्पष्ट नहुँदा पक्राउ गर्न समस्या हुने गरेको बताए । ‘अदालतको स्रेस्तामा कुमार हुन्छ, नागरिकतामा बहादुर र प्रसाद भइदिँदा पहिचान गर्न गाह्रो हुने गरेको छ, पहिचान गर्न नसक्दा दोषीले उन्मुक्ति पाउने र निर्दोषले दुःख पाउने भइराखेको छ,’ उनले भने । खुला सिमानाका कारण अदालतले दोषी करार गरेकाहरू भारतमा गएर लुक्ने गरेकाले पनि फैसला कार्यान्वयनमा समस्या आउने गरेको बाँके जिल्ला अदालतका तहसिलदार नारायण सापकोटाले बताए । उनले भने, ‘दिनभर भारतमा लुकेर बस्ने, रातमा मात्र घर आउँदा पक्राउ गर्न कठिन भएको छ ।’ उनले स्रोतसाधनको कमीका कारण पनि फैसला कार्यान्वयनलाई तीव्रता दिन नसकेको बताए । दोषीलाई पक्राउ गर्न व्यवस्था गरिएको सीमित जनशक्ति, अपर्याप्त साधन र आर्थिक अभावले पनि पक्राउ गर्न नसकिएको उनले बताए । बाँकेमा कैद र जरिवाना भुक्तानमा वृद्धि फैसला कार्यान्वयन विशेष अभियान सुरु भएपछि कैद र जरिवाना भुक्तान हुने क्रम बढेको फैसला कार्यान्वयन विशेष अभियान टोलीका सदस्य डम्मर विष्टले बताए । उनले हालसम्म तीन सय पाँच वर्ष चार महिना एक दिन कैद भुक्तान भएको र अदालतको फैसलाबमोजिम चार करोड ८० हजार दुई सय ६१ रुपैयाँ असुल भएको जानकारी दिए । उनले एक हजार आठ सय ९६ वर्ष नौ महिना साढे ११ दिन जिम्मेवारी सरी आएको र यस आर्थिक वर्षको सात सय ४१ वर्ष ११ महिना २२ दिन गरी दुई हजार ६ सय ३८ वर्ष नौ महिना साढे ५ दिन कैद असुल हुन बाँकी रहेको बताए । उनले तीन करोड ६० लाख ३१ हजार चार सय १३ रुपैयाँ ८० पैसा जरिवाना असुल हुन बाँकी रहेकोसमेत बताए । नेतृत्व फेरबदलपछि प्राथमिकता तल–माथि नेतृत्व फेरबदल हुनासाथ कामको प्राथमिकतासमेत तल–माथि पर्ने हुँदा असफल पुराना घटनाको चाङ बढ्ने गरेको नेपाल प्रहरीका पूर्वडिएसपी कृष्णमान श्रेष्ठ बताउँछन् । नयाँ प्रहरी अधिकारी पुराना फाइल हेर्नुभन्दा आफू कार्यरत रहेसम्म त्यहाँ ठूला आपराधिक घटना हुन नदिन र घटनालाई छिटो किनारा लगाउन चाहने भएकाले पुराना घटना पेन्डिङ हुने गरेको श्रेष्ठले बताए । ‘जसको पालमा घटना भएको हो, त्यसैले उक्त घटनाको किनारा लगाउनुपर्ने कानुन बनेको खण्डमा पुराना मुद्दा पेन्डिङ हुने थिएन,’ उनले भने । नयाँ नेतृत्वले आफ्नो बायोडाटा बढाउन पुरानाभन्दा नयाँलाई प्राथमिकता दिने गरेको पूर्वडिएसपी श्रेष्ठले बताए । उनले नयाँ–नयाँ मुद्दा थपिने भएकाले पुराना मुद्दा प्राथमिकतामा नपर्ने गरेको बताए । घटना पुराना भए प्रत्यक्षदर्शी, प्रमाण र साक्षी हराउने भएकाले पनि अनुसन्धान फितलो भई मुद्दा कमजोर हुने गरेको श्रेष्ठले बताए । ‘घटना पुरानो भएपछि पीडितले समेत प्रहरीलाई दबाब दिँदैनन्, पीडितले दबाब नदिएपछि प्रहरीले पनि वास्ता गर्न छाड्छ,’ पूर्वडिएसपी श्रेष्ठले भने । यस्ता छन् सफल अनुसन्धान अपहरणपछि हत्याकाअभियुक्त पक्राउ जिल्ला प्रहरी कार्यालय बाँकेले बालक अपहरणपछि हत्या आरोपमा नेपालगन्ज–२३ का रंगौ भन्ने रिजवान साईलाई घटनाको साढे दुई वर्षपछि पक्राउ ग¥यो । १४ असोज २०६७ मा नेपालगन्ज–१५ का दुई स्कुले बालक कपिल द्विवेदी र लीलाधर भट्टको अपहरण गरी फिरौती लिएर हत्या गरेको अभियोगमा साईलाई पक्राउ गरेको बाँकेका प्रहरी प्रमुख प्रहरी उपरीक्षक टेकप्रसाद राईले बताए । राईका अनुसार अभियुक्त साई २६ असार २०६९ मा नेपालगन्ज–१० का २२ वर्षीय मुन्नु भन्ने मोहम्मद आमिर अन्सारीको अपहरण गरी नौ लाख रुपैयाँ फिरौती लिएर बेपत्ता बनाउने कार्यमा संलग्न थिए । मुन्नु हालसम्म बेपत्ता छन् । साईकै अगुवाइमा नेपालगन्ज–१ का महेन्द्र शाहीलाई ३ वैशाख २०७० मा अपहरण गरी १० दिनसम्म शरीर बन्धक बनाएको अवस्थामा भारतीय प्रहरीको सहयोगमा उद्धार गरिएको थियो । अभियुक्त साईले भूमिगत तराई जनतान्त्रिक मधेस पार्टीको नाममा सीमावर्ती भारतको रुपइडिहा बजारमा विभिन्न सहयोगीलाई परिचालन गरी अपहरण र चन्दा असुली गर्दै आएका थिए । उनी लागुऔषध चरेसको कारोबारमा भारतमा तीन वर्ष सजाय पाएर छुटेको प्रहरीले जनाएको छ । प्रहरी उपरीक्षक राईले अभियुक्त साईविरुद्ध अपहरण तथा हत्याका छुट्टाछुट्टै तीन मुद्दा र एक अपहरणको गरी चार मुद्दा अदालतमै विचाराधीन रहेको बताए । बाँके इन्द्रपुर–३ का वकिल दर्जी भनिने जियाउल मनिहारलार्ई दुई ग्राम लागुऔषध ब्राउन सुगरसहित १८ असार ०७० मा नेपालगन्जको बसपार्कबाट प्रहरीले पक्राउ गरेको थियो । आफ्नो नाम वकिल दर्जी बताउँदै लागुऔषध कारोबारमा सक्रिय रहेका उनी सोही मुद्दाको अनुसन्धान गर्ने क्रममा मात्र बालक अपहरण र कर्तव्य ज्यान मुद्दाको अभियुक्तसमेत भएको प्रहरीले थाहा पाएको थियो । उनी भूमिगत सशस्त्र समूहमा संलग्न भई जिल्लामा हत्या, अपहरण, चन्दा असुली र फिरौती रकम माग गर्नेलगायत घटनामा संलग्न थिए । प्रहरीको मोस्ट वान्टेड सूचीमा रहेका मनिहारले सुरुमा आफ्नो घर भारतको रुपइडिहा र नाम वकिल दर्जी बताएका थिए । तर, अनुसन्धानका क्रममा मोस्ट वान्टेड सूचीका फरार अभियुक्त भएको पुष्टि भएको जिल्ला प्रहरी कार्यालय बाँकेले तथ्य फेला पारेको थियो । यसैगरी २८ कात्तिक ०६६ मा इन्द्रपुर ७ स्थित देवीप्रसाद राढको रहरबारीमा खजुराखुर्द–१ का गंगाराम पासी र मुन्नु भन्ने मुन्ना यादवलाई धारिलो हतियार प्रहार गरी हत्या गरेको घटनामा समेत मनिहार संलग्न थिए । गुन्डा नाइकेले गरे आत्मसमर्पण नेपालगन्ज उपमहानगरपालिका–८ का २९ वर्षीय चेतन मानन्धरको हत्यामा संलग्न भएको आरोपमा अदालतले चार वर्ष कैद सजाय फैसला सुनाएका नेपालगन्ज–५ का सोहनसिंह ढकाल (रिगल) ले ६ कात्तिक ०७१ मा आत्मसमर्पण गरे । रिगलले अदालतको आदेश पालना गरेको प्रहरीसमक्ष बयान दिएको बताइएको छ । फरार अभियुक्त ढकाल घटनापछि भारत बस्दै आएका थिए । पक्राउ पर्नुभन्दा केही दिनअघि मात्रै उनी नेपाल आएका थिए । १५ जनाको समूहले २८ असार ०७१ मा नेपालगन्ज–८ का मानन्धरलाई धम्बोझी चोकनजिक सुर्खेतरोडमा लखेट्दै खुँडा प्रहार गरी हत्या गरेका थिए । सो घटनामा संलग्न मुख्य अभियुक्त रिगलसहित १३ जना हाल कारागारमा छन् । जेल सजाय भुक्तानीका लागि अदालतमा आफै‌ हाजिर अवैध चोरीसिकारी गरेको अभियोगमा अदालतले ६ महिना जेल सजाय सुनाएका नैनसिंह सार्की, मुन्नु चौधरी र भिखुलाल थारू ६ फागुनमा कैद भुक्तानीका लागि बाँके जिल्ला अदालतमा आफै‌ हाजिर भए । उनीहरूलाई अदालतले ६ महिना जेल सजाय तोकेको थियो । सवारी ज्यान मुद्दामा ६ दिन जेल सजाय पाएका बलबहादुर थारू पनि कैद र जरिवाना भुक्तानीका लागि फागुनमै अदालतमा हाजिर भए । जिल्ला अदालतले फैसलाबमोजिम बक्यौता बुझाउन समय–समयमा सूचना जारी गरेपछि कैद र जरिवाना भुक्तान गर्न बाँकी रहेकाहरू आफैँ अदालतमा आउने गरेको बाँके जिल्ला अदालतका तहसिलदार नारायण सापकोटाले बताए । ‘फागुन महिनामा मात्र कैद भुक्तानीका लागि अदालतमा पाँचजना आफँै हाजिर भएका छन्, कैद र जरिवाना भुक्तानीका लागि आफैँ आउनेलाई अदालतले विशेष छुट व्यवस्था गरेकाले कैद भुक्तानीका लागि आफैँ हाजिर हुन आउने गरेका छन्,’ उनले भने । फैसला कार्यान्वयन विशेष अभियान सुरु भएपछि कैद र जरिवाना भुक्तान हुने क्रम बढेको बाँके जिल्ला अदालतले जनाएको छ । जिल्लामा फैसला कार्यान्वयन विशेष अभियान टोलीले सक्रियता देखाएपछि कैद र जरिवाना भुक्तान हुने क्रम बढेको हो । माघ मसान्तसम्म तीन सय पाँच वर्ष चार महिना एक दिन कैद भुक्तान भएको र अदालतको फैसलाबमोजिम चार करोड ८० हजार दुई सय ६१ रुपैयाँ जरिवाना असुल भएको फैसला कार्यान्वयन विशेष अभियान टोलीका सदस्य एवं बाँके जिल्ला अदालतका नायब सुब्बा डम्मर विष्टले बताए । उनले एक हजार आठ सय ९६ वर्ष नौ महिना साढे ११ दिन जिम्मेवारी सरी आएको र यस आर्थिक वर्षको सात सय ४१ वर्ष ११ महिना २२ दिन गरी दुई हजार ६ सय ३८ वर्ष नौ महिना साढे पाँच दिन कैद असुल हुन बाँकी रहेको बताए । उनले तीन करोड ६० लाख ३१ हजार चार सय १३ रुपैयाँ ८० पैसा जरिवाना असुल हुन बाँकी रहेकोसमेत बताए । यो खबर अाजको नयाँ पत्रिकामा छ ।