एभरेष्ट दैनिक

चुनावको लागि प्रधानमन्त्रीको सक्रियता, भेटे प्रमुख निर्वाचन आयुक्त यादवलाई

काठमाडौँ, माघ १० । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवसँग भेट गरेका छन् । वैशाखमा स्थानीय चुनाव गर्ने प्रमुख तीन दलको सहमति भएको दुईदिनपछि निर्वाचन आयोगको तयारी बुझ्न प्रधानमन्त्रीले यादवलाई बालुवाटार बोलाएका हुन् । सोमबार बिहान बालुवाटारमा भएको भेटमा प्रचण्डले ‘२०७४ माघ ८ भित्र तीनै तहको चुनाव हुन्छ, निर्वाचन आयोगको तयारी कस्तो भइरहेको छ ?’ भनेर प्रश्न गरेका थिए । ‘हामी मुख्य तीन दलको बीचमा बैशाखको अन्तिम साताभित्रमा चुनावमा जाने सहमति भइसकेको छ । अरु दलहरुसँग पनि म छलफलमा छु, निर्वाचन आयोगको तयारी कहाँ पुगेको छ ?’ प्रमुख आयुक्त यादवलाई प्रधानमन्त्रीले चुनावसँग सम्बन्धित कानून छिट्टै संशोधन हुने बताए । १८ वर्षसम्म स्थानीय निकाय नहुँदा बेथिती बढेको छ । त्यसैले बैशाख भित्रै स्थानीय तहको चुनाव गराउनुपर्छ । प्रमुख निर्वाचन आयुक्त यादवले चुनावका लागि आयोग आन्तरिक र प्राविधिकरुपमा तयार भइसकेको भन्दै निर्वाचन सम्बन्धी ऐन–कानुनको प्रतिक्षामा रहेको बताएका छन् । राजनीतिक ढिलासुस्तीका कारण चैतमा चुनावको सम्भावना टरिसकेको भन्दै प्रमुख निर्वाचन आयुक्त यादवले कम्तिमा एक सय दिन अगाडि नै आवश्यक कानुन बनाउन प्रधानमन्त्रीसँग अनुरोध गरे । यदि सरकारले निर्वाचनसँग सम्बन्धित ऐन– कानुन नल्याउने हो भने २०७४ माघ ७ भित्र तीनवटै तहको चुनाव गराउन अप्ठेरो हुने बताएका थिए ।