एभरेष्ट दैनिक

पत्रकार महासंघ काठमाडौं शाखामा तोडफोड, नयाँ सदस्यता फारम जलाउने प्रयास

काठमाडौँ, माघ १० । नेपाल पत्रकार महासंघ काठमाडौं शाखाको कार्यालयमा तोडफोड प्रयास भएको छ । सोमबार भृकुटी मण्डपमा रहेको कार्यालयमा दुई जना व्यक्तिले कुर्सी फोड्ने प्रयास गरेका हुन् । अहिलेसम्म गोप्य राखिएका ती दुई व्यक्तिले नयाँ सदस्यता फारम जलाउने प्रयास गरेको काठमाडौं शाखाले जनाएको छ । काया्ृलय सचिवलाई जवजस्ती गरेर पत्रकारको नयाँ फारम थुत्न खोजेको उनीहरुले बताएका छन् । उक्त घटनाको पत्रकारितासँग सम्बन्धित संगठनले ध्यानाकर्षण भएको भन्दै विरोध जनाएका छन् । सोमबार जारी वक्तव्यमा भनिएको छ, ‘नेपाल पत्रकार महासंघको नयाँ सदस्यताको आवेदन फारम समेत जबरजस्ती कब्जामा लिएर जलाउने प्रयास गरेकोप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ ।’ प्रेस सेन्टर काठमाडौंका अध्यक्ष गोविन्द शर्मा, नेपाल प्रेस युनियन काठमाडौंका सचिव महेश्वर गौतम, प्रेस सोसाइटी नेपाल तीन नं प्रदेशका संगठन विभाग प्रमुख फणीन्द्र फुयाल, मिडिया नेपालका उपत्यका उपाध्यक्ष रेशम पौडेल र नेपाल पत्रकार मञ्चका कार्यवाहक अध्यक्ष चन्द्रमणि भट्टराईले हस्ताक्षर गरेका छन् । संयुक्त रुपमा जारी गरिएको वक्तव्यमा भनिएको छ, ‘नेपाल पत्रकार महासंघको काठमाडौं शाखामा गुण्डागर्दी शैलीमा तोडफोड तथा कार्यालयको सामानमा आगजनी गर्न खोजिने यस्ता सबैखाले हर्कतमा संलग्न जोसुकै भएपनि उनीहरुको विषयमा छानबिन गरी कारबाही गर्न समेत हामी जोडदार माग गर्दछौं ।’ पत्रकार महासंघको नयाँ सदस्यता आवेदन केन्द्रमा सिफारिस गरिसक्नुपर्नेमा अड्काएर राखि नयाँ सदस्य बन्न योग्य पत्रकारलाई वञ्चित गरेको प्रति पनि आफुहरुको गम्भीर ध्यानाकर्षण भएको उल्लेख छ । सदस्यता सिफारिसका लागि यसअघि नै कार्यदलले अध्ययन गरेर सदस्य बन्न योग्य ठहर्याएका फायल बिभिन्न बहानामा रोकेकोमा ती फायलहरु तत्काल केन्द्रमा सिफारिस गर्न पनि माग समेत गरिएको छ ।