एभरेष्ट दैनिक

कुखुराको भालेको बन्ध्याकरण !

पाल्पा, माघ १२ । सुन्दा अनौठो लाग्न सक्छ, कुखुराको पनि परिवार नियोजन हुन्छ भन्दा तर यो सत्य घटना हो । कुखुराको भालेमा बन्ध्याकरण सफल बन्दै गएपछि अब अच्चम मान्नु पर्दैन । पाल्पा जिल्ला रामपुर नगरपालिका–१४ बर्दलेका जनार्दन पन्तले कुखुराको भालेको अण्डकोष निकालेर परिवार नियोजन गर्न थालेका छन् । कुखुराको भालेको बन्ध्याकरण गर्ने अभ्यास पाल्पामा नौलो हो । भालेको पछाडिको करङको शल्यक्रिया गरी अण्डकोष निकालेपछि भालेको शिर पोथीको जस्तो हुने र बास्ने भालेको अण्डकोष निकाल्दा बास्न छाड्ने गरेको पन्तको भनाइ छ । भालेको बन्ध्याकरण गर्दा मासुको उत्पादन बढी हुने गर्दछ । कुखुरापालन गर्ने पन्तले कुखुराको परिवार नियोजन गर्दा मासु एक इन्चसम्म बाक्लो हुने र तौल पाँचदेखि सात किलोसम्म बढ्ने बताउँछन् । पहिले कुखुराको अण्डकोष निकाल्न निकै समस्या भएपनि अहिले सहजरुपमा बन्ध्याकरण हुने गरेको उनी बताउँछन् । पन्तको पशुपन्छीसम्बन्धी औपचारिक अध्ययन नभए पनि दाङका ध्रुव बस्नेतसँग फोनमार्फत जानकारी लिई कुखुराको परिवार नियोजन गर्न थालेको बताउँछन् । सुरुसुरुमा केही कुखुरा मरे पनि अहिले कुखुराको शल्यक्रिया सफल भएको उनको दाबी छ । कुखुरा शल्यक्रियापछि चिल्लो हुँदै जाने र यौन क्षमता कमजोर हुँदै जाने उनको दाबी छ । स्थानीय प्रजातिका कुखुरामा मात्र अण्डकोष निकाल्न सम्भव हुने गर्दछ । ब्वायलर प्रजातिका कुखुरामा अण्डकोष निकाल्ने काम भने उनले गरेका छैनन् । पहिले रहरका लागि गरिएको यो काम अहिले अनुसन्धानमूलक भइरहेको उनको भनाइ छ । नेपाली समाजमा मानिस प्रायः कम सन्तानका लागि परिवार नियोजन गर्न रुचाउँछन् । तर पछिल्ला वर्षमा अनुसन्धानका लागि कुकुरलाई तीनमहिने सुईको प्रयोग र बन्ध्याकरण गरिएको पाइए पनि अहिले कुखुरामा भने नौलो मानिएको हो । पाल्पाका ग्रामीण क्षेत्रमा गोरु, बोका, सुँगुर र बङ्गुरको अण्डकोष निकाल्ने चलन रहिआएको बूढापाकाहरु बताउँछन् । अण्डकोष निकाल्दा यौन क्षमता कमजोर भई शान्त स्वभावको बढी हुने हुँदा मासुको उत्पादन बढी हुने जानकारहरु बताउँछन् । करिब पाँच–सात वर्षदेखि कुखुराको शल्यक्रियामार्फत बन्ध्याकरण गर्ने काममा उनले सफलता पाएका छन् ।