एभरेष्ट दैनिक

‘अमेरिकामा ट्रम्प आए, अब रूससँगको सम्बन्ध सुध्रियो’

एजेन्सी । मस्को, माघ १३ । रुसी विदेश मन्त्री सर्गेइ लाभरोभले डोनाल्ड ट्रम्पको कार्यकालमा अमेरिकासँग चिसिएको सम्बन्धमा सुधार हुने बताएका छन् । अमेरिकी राष्ट्रपतीय निर्वाचनमा डोनाल्ड ट्रम्प विजयी हुनासाथ उच्चस्तरीय रुसी नेता, अधिकारी तथा आम जनताहरुले अपार हर्ष प्रकट गरेकामा अमेरिकासँगको सम्बन्धमा अपेक्षित सुधार आई सो हर्ष अब यथार्थमा परिणत हुने पनि रुसी विदेश मन्त्री सर्गेइले बताए । बुधबार रुसी संसदलाई दिनु भएको एक सम्बोधनको क्रममा उहाँले रुस र अमेरिकाबीच रहिआएको पुरानो र ऐतिहासिक सम्बन्ध पुनः नयाँ शिरा (न्यु रिसेट) बाट नवीकरण हुनेमा कुनै भ्रम, चिन्ता नरहेको, यस विषयमा कुनै पनि नकारात्मक सोच वा शङ्का राख्नै नपर्ने बताए । विदेश मन्त्री सर्गेइको विशेष शब्द न्यु रिसेटले रुस तथा अमेरिकाबीच रहँदै आएको सम्बन्धलाई एक नयाँ शिराबाट जीवन्तता प्रदान गर्न मार्ग प्रशस्त गर्ने विषयमा सन् २००९ मा तत्कालीन रुसी राष्ट्रपति डिमित्री मेद्भेदेभ तथा निवर्तमान अमेरिकी राष्ट्रपति बाराक ओबामाबीच भएको छलफलले पहिल्याएका तथ्यहरुलाई औँल्याएको छ । तर, उक्त छलफलले निष्कर्ष निकालेका तथ्यहरु विभिन्न कारणबस छोटो समय मै बिलिन भएर गई कार्यान्वयन हुन पाएनन् । रुसी विदेश मन्त्रीको भनाइमा रुसले अमेरिकासँगको सम्बन्ध सुधारको आधार सन् २००९ मा भएको सो छलफल तथा समझदारीलाई बनाउन खोजेको छ । तर, यस विषयमा राष्ट्रपति ट्रम्पले भने मुख खोल्नु भएको छैन । यसअघि, अमेरिका–रुस अन्तर्देशीय सम्बन्धमा व्यापक सुधार ल्याउने तथा रुसलाई अमेरिकाको निकटको मित्र मान्ने आफ्नो अभिलाषा रहेको भनी राष्ट्रपति ट्रम्प विजयी घोषित हुनु भएको केही दिन मै अभिव्यक्ति दिनु हुँदा मस्कोमा यस अभिव्यक्तिको ठूलो स्वागत गरिएको थियो ।