एभरेष्ट दैनिक

टर्कीको मालबाहक विमान किर्गिजस्तानको विमानस्थल नजिकै दुर्घटना, बत्तीस जनाको मृत्यु

किर्गिजस्तान ,माघ  ३ ।  किर्गिजस्तानको प्रमुख विमानस्थल नजिकै सोमबार एक मालबाहक विमान दुर्घटनामा पर्दा ३२ व्यक्तिको मृत्यु भएको र मर्नेमा चार विमानचालक पनि परेको जानकारी अधिकारीहरूले दिएका छन् । उक्त विमान बाक्लो कुहिरोबीच अवतरण गर्न खोजिँदा जनघनत्व भएको क्षेत्रमा दुर्घटना भएको उनीहरूले बताएका छन् । उक्त विमान स्थानीय समय अनुसार बिहानको ७ः३० बजे डाचा–सु गाउँमा दुर्घटनामा परेको किर्गिजस्तानका आपत्कालीन सेवा मन्त्रालयका एक प्रवक्ताले बताए । मर्नेमा प्रायः सोही गाउँका वासिन्दा भएको जानकारी दिइएको छ । टर्किस एयरलाइन्सको उक्त विमान हङकङबाट किर्गिजस्तानको राजधानी बिस्केक हुँदै इस्तानबुलतर्फ उडेको थियो । दुर्घटनामा १५ घर क्षतिग्रस्त भएको आपत्कालीन सेवा मन्त्रालयले उल्लेख गरेको छ । मन्त्रालयले दुर्घटनाका कारण आगो लागेको र हाल त्यसलाई नियन्त्रणमा लिइएको बताइएको छ । मुलुकको मानस विमानस्थल बन्द गरिएको र साँझसम्मका लागि उडान रद्द गरिएको विमानस्थलका अधिकारीहरूले बताए । रासस