एभरेष्ट दैनिक

मोहन बैद्यले भने–‘जनयुद्ध आफैँमा किताब हो’

काठमाडौँ, पुस २९ । नेकपा (क्रान्तिकारी माओवादी)का अध्यक्ष मोहन वैद्यले सशस्त्र द्वन्द्वका क्रममा सहिदबाट भएको बलिदानी त्यत्तिकै खेर नजाने बताउनुभएको छ । सहिद रचना प्रकाशन केन्द्रले आज आयोजना गरेको ‘कालजयी योद्धाहरु’ पुस्तक सार्वजनिकीकरण कार्यक्रममा उनले भने–“जनयुद्ध आफैँमा किताब हो । जनयुद्धले पैदा गरेका विषय सौन्दर्यशास्त्रका लागि पनि अध्ययनको विषय बन्यो ।” चन्द नेतृत्वको नेकपा माओवादीका प्रवक्ता खड्गबहादुर विश्वकर्माले क्रान्तिको पूर्णता बिना सहिदको सपना पूरा हुन नसक्ने बताए । माओवादी केन्द्रका नेता लोकेन्द्र विष्टले सहिद कुनै गुट वा उपगुटको नहुने उल्लेख गर्दै माओवादी आन्दोलनलाई एकीकृत गर्नुपर्नेमा जोड दिए । एकै परिवारबाट पाँचजना सहिद भएको बलिदानीलाई समेटेर ‘कालजयी योद्धाहरु’ पुस्तक तयार पारिएको हो । सो पुस्तकमाथि टिप्पणी गर्दै साहित्यकार अमर गिरीले परिवर्तनपछि सहिदको अवमूल्यन हुँदैआएको दुखेसो पोखे । सो पुस्तक सहिदद्वय कमल भुजेल र सुमित्रा घिमिरेकी एकमात्र छोरी अस्मिता भुजेलले विमोचन गरेकी थिइन । एउटै परिवारका तीर्थ भुजेल, माधव घिमिरे, नारायण घिमिरे, सुमित्रा घिमिरे र कमल भुजेलले द्वन्द्वकालमा विभिन्न ठाउँमा सहादत प्राप्त गरेका थिए ।