एभरेष्ट दैनिक

१३ फिट लम्बाइको अजिङ्गर फेला

उदयपुर, माघ ५ । उदयपुर जिल्लाको पूर्वी क्षेत्रको रामपुर ठोक्सिलास्थित माछापुच्छ्रे् सामुदायिक वनमा हालै १३ फिट लम्बाइ भएको ठूलो सर्प प्रजातिको अजिङ्गर फेला परेको छ । रामपुर ठोक्सिलाको माछापुच्छ्रे् वनको बीचको सखुवाको रुखको फेदको सानो खाल्डामा उक्त अजिङ्गर हालै स्थानीय वन हेरालुले फेला पारेको कुरा जिल्ला वन कार्यालय उदयपुरका प्रमुख श्रीप्रसाद बरालले बताएको छ । फेला पारिएको उक्त अजिङ्गरलाई आफूले रामपुरकै राष्ट्रिय वन बेलकातरी वनमा लगेर छाड्न निर्देशन दिएको र प्रहरी र वनका कर्मचारीले बेलाकातरी वनमा लगेर सुरक्षित स्थानमा छाडेको पनि जिल्ला वन कार्यालयका प्रमुख बरालले बताए । उदयपुर जिल्ला पूर्वकै सबैभन्दा ठूलो वन क्षेत्र भएको जिल्ला हुनाले यस जिल्लाको चुरे महाभारत क्षेत्रमा धेरै अजिङ्गरको वासस्थान समेत रहँदै आएको पनि वन कार्यालयका प्रमुख बरालले बताएको छ । तर यतिको ठूलो अजिङ्गर भेटिएको भने यो पहिलो पटक भएको पनि जिल्ला वन कार्यालयका प्रमुख बरालले बताए ।