एभरेष्ट दैनिक

एकैपटक ५ स्वस्थ्य शिशु जन्माइन यी महिलाले

काठमाडौं, तपाईले जुम्ल्याहा या तिम्ल्याहा सन्तानको बारेमा त सुन्नुभएको होला । तर एकैपटक पाँचजना बच्चा जन्माएको कुरा सुन्दा पत्यार लाग्ला त ? लाग्दैन नि । तर हालैमात्र एकजना महिलाले एरिजोनाको अस्पतालमा एकैपटक पाँचवटा स्वस्थ्य शिशु जन्माएको समाचारले हामी सबैलाई चकित पार्छ नै । प्रकाशित समाचार अनुसार, डिसेम्बर ४ का दिन सेन्ट जोसेफ एण्ड मेडिकल सेन्टरमा मार्गरेट र माइकल बौडिनेटको घरमा यी पाँच बच्चा जन्मेका हुन । त्यो पनि १७ मिनेटको फरकमा । नवजात शिशुमध्ये ४ छोरी र एउटा छोरा छन् । उनीहरुले शिशुको नाम एभा, क्लो, क्यामिली, इजाबेल र ल्यूक राखेका छन् । तर यो यात्रा त्यति सहज भने थिएन । यसअघि मार्गरेटको दुईपटक मिसक्यारेज भएको थियो । त्यसपछि उनीहरुले फर्टिलिटीको सहारा लिए । यो प्रविधि सफल त भयो तर सोनोग्राफी गर्दा मार्गरेटको पेटमा चारवटा मुटु चलिरहेको कुरा नर्सले जानकारी दिइन । पछि पेटमा ५ शिशु भएको थाहा भयो । पाँचवटा बच्चा पेटमा रहेको सुन्दा आत्तिएको बताउँछिन मार्गरेट । आफूले दुई या ती बच्चासम्म जन्माउन सक्ने मानसिकता बनाउन सक्ने भएपनि पाँच बच्चा जन्माउने कुरा सोचेको पनि थिएन । तर दम्पत्तिले चिकित्सकहरुको पूर्ण रेखेदेखमा यी बच्चा जन्माए । दम्पत्ति भन्छन्– अब पुग्यो, यति धेरै बच्चा छन् । हामी धेरै खुशी छौं ।