एभरेष्ट दैनिक

६ विद्यार्थी संगठनले भने–‘सडकमा तमासा देखाउने होइन संसदवाट हल खोज’

काठमाडौं, मंसिर १७ । सयुक्त विद्यार्थी संगठनले एमाले लगायतका दललाई सडकमा अस्थिरता मच्चाउन छोडेर संसदबाट समाधान गर्न आग्रह गरेको छ । मंसिर १६ र १७ गते अखिल (क्रान्तिकारी)को केन्द्रीय कार्यालय वागवजारमा वसेको काङ्ग्रेस,माओवादी केन्द्र,मधेसी सहितका ६ विद्यार्थी संगठनहरुको वैठकले सडकमा अस्थिरता मच्चाउन छाडेर संसदमा आई हल खोज्न आग्रह गरेका हुन्। वैठकपछि जारी विज्ञप्तिमा मुलुकमा संविधान संशोधनको विरोधका नाममा केही ठाउँमा अस्थिर,अशोभनीय र अराजनीतिक गतिविधि देखिन थालेको आरोप लगाईएको छ। विज्ञप्तिमा भनिएको छ– ‘संविधान कार्यान्वयनको चुनौतीपूर्ण संक्रमणकालमा न्युनतम लोकतान्त्रिक मान्यता विपरित असहज परिस्थिति ननिम्त्याउन जिम्मेवार राजनीतिक दल एवं पक्षलाई अपिल गर्न चाहन्छौं।’ वैठकमा सहभागी अखिल (क्रान्तिकारी)का अध्यक्ष नरेन्द्र न्यौपानेले भने‘ संविधान संशोधनको प्रस्ताव उपर सडकमा हैन सार्वभौम संसदमा आई व्यापक छलफल,वहस र सहमति गरेर निकास खोज्न जिम्मेवार राजनीतिक शक्तिहरुलाई आह्वान गर्न चाहन्छौं ।’ एमाले निकट अनेरास्ववियु भने बैठकमा उपस्थित भएको थिएन । वैठकमा न्यौपाने सहित नेविसंघ अध्यक्ष नैनसिंह महर,राप्रविसं महासचिव महेश सिंह, मविफो(लोकतान्त्रिक) उपाध्यक्ष पारस चौधरी,तमवि फ्रन्टका संयोजक हरेराम मिश्र,नेराविफेका अध्यक्ष दिपक जोशी लगायतको सहभागीता रहेको थियोे ।