एभरेष्ट दैनिक

देशभक्त शक्तिहरू एक ठाउँमा उभिनुपर्छ : वर्षमान पुन 'अनन्त'

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका नेता एवं पूर्वअर्थमन्त्री वर्षमान पुनले तोकिएकै मितिमा निर्वाचन हुनुपर्ने बताउनुभएको छ । स्टार लाइट बचत तथा ऋण सहकारी संस्थाको १७औं वार्षिक साधारणसभालाई शनिबार राजधानीमा सम्बोधन गर्दै उहाँले फागुन २१ गते नै प्रतिनिधिसभा निर्वाचन हुनुपर्ने बताउनुभएको हो । हजारौंको बलिदानबाट प्राप्त राजनीतिक उपलब्धि संकटमा परेकाले मुलुकको निकास निर्वाचनबाट मात्र सम्भव हुने उहाँको भनाइ थियो । उहाँले अन्तर्राष्ट्रिय चलखेल र मुलुकको अस्तित्व नै नामेट पार्न खोज्ने प्रवृत्तिलाई निस्तेज पार्न देशलाई माया गर्ने राष्ट्रियता पक्षधरहरूबीच एकता र सहकार्य जरुरी रहेको पनि बताउनुभयो । ‘हजारौंको बलिदानपछि प्राप्त उपलब्धि खतरामा छ । यस्तो अवस्थामा निर्वाचनले मात्र मुलुकलाई निकास दिन सक्छ,’ उहाँले भन्नुभयो, ‘अन्तर्राष्ट्रिय चलखेल र देशको अस्तित्व नै नामेट गर्न खोज्ने प्रवृत्तिविरुद्ध राष्ट्रिय अस्मिता, अखण्डताका पक्षधर देशभक्त शक्तिहरू एक ठाउँमा उभिनुपर्छ ।’ मुलुकको राजनीति अत्यन्त अस्थिर र तरल अवस्थामा रहेको तथा कहाँ पुगेर स्थिरता कायम हुन्छ भन्ने अनुमान गर्न कठिन रहेको उहाँले औंल्याउनुभयो । ‘अहिले राष्ट्रिय राजनीतिमा अस्थिर, तरल र अनिश्चितजस्तो वातावरण छ । कहाँ पुगेर स्थिरता प्राप्त गर्छ भन्न नसकिने अवस्था छ,’ उहाँले भन्नुभयो । उहाँले राजनीतिसँगै अर्थतन्त्रमा पनि समस्या चुलिएको बताउनुभयो । ०७२ को महाभूकम्प र कोभिड–१९ महामारीबाट प्रभावित अर्थतन्त्र तंग्रिन खोज्दै गर्दा भदौ २३ र २४ मा भएको जेनजी आन्दोलनपछि फेरि सुस्ततामा गएको उहाँले उल्लेख गर्नुभयो । आन्दोलनका क्रममा भएको विस्फोटका कारण निजी क्षेत्रको मनोबल गिरेको उहाँको भनाइ थियो । ‘भूकम्प र कोभिड–१९ को प्रभावबाट अर्थतन्त्र तंग्रिन खोजिरहेका बेला भदौ महिनामा भएको जेनजी आन्दोलनका क्रममा भएका विस्फोटहरूले लगानीकर्ताहरूको मनोबल गिरेको अवस्था छ । तंग्रिँदै गएको अर्थतन्त्र फेरि सुस्ताएको छ,’ उहाँले भन्नुभयो ।