एभरेष्ट दैनिक

नेपालमा हाइड्रोजन उत्पादन गरेर इन्धनका रूपमा गाडीमै हालियो

काठमाडौं । काठमाडौं विश्वविद्यालय (केयू)ले नेपालमै पहिलोपटक हाइड्रोजन उत्पादन गरी इन्धनका रूपमा प्रयोग थालेको छ।काठमाडौं विश्वविद्यालयले आज (आइतबार) आफैँले उत्पादन गरेको हाइड्रोजनलाई इन्धनका रूपमा गाडीमा हालेको हो। गत कात्तिकमा केयूले हुन्डाईको नेक्सो फ्युल सेल हाइड्रोजन एसयूभी गाडी नेपाल भित्र्याएको थियो । हाइड्रोजन गाडीसँगै केयूले रिफ्युलिङ स्टेसन पनि नेपाल भित्र्याएको थियो । केयू अन्तर्गतको हाइड्रोजन ल्याबका प्रमुख प्रा.डा.विराजसिंह थापाले आफ्नै डिजाइनमा कोरियाली प्रविधि प्रयोग गरी रिफ्युलिङ स्टेसन बनाइएको बताए ।  उनका अनुसार सोही रिफ्युलिङ स्टेसनबाट हाइड्रोजन उत्पादन गरी गाडीमा हालिएको हो ।यससँगै अब दैनिक ३० किलोग्रामसम्म हाइड्रोजन उत्पादन गर्नसक्ने रिफ्युलिङ स्टेसन बनाउन सकिने छ । केयूसँग रहेको गाडीले ६ किलोग्राम हाइड्रोजनबाट साढे ६ सय किलोमिटर दुरीको यात्रा गर्न सकिन्छ।  पेट्रोलियमपछि विद्युतीय गाडीको प्रयोग अहिले व्यापक बढ्दो छ । फ्युल सेलमा हाइड्रोजनले अक्सिजनसँग प्रतिक्रिया गरी उर्जा प्रदान गर्छ र पानीलाई बाइप्रोडक्टका रूपमा फाल्छ । त्यसैले हाइड्रोजन अझै स्वच्छ इन्धन मानिन्छ । विद्युत्को माध्यमबाट पानीबाट अक्सिजन छुट्याएर अर्थात् इलेक्ट्रोलिसिस गरी हाइड्रोजन उत्पादन गरिन्छ। जिवाश्म इन्धन र बायोमासबाट पनि हाइड्रोजन उत्पादन गर्न सकिन्छ। नेपालमा व्यावसायिक रूपमा हाइड्रोजनको उत्पादन गर्दै इन्धन, मल बनाउन एवं अन्य औद्योगिक प्रायोजनका लागि प्रयोग गर्नतर्फ पहल गर्नुपर्ने डा.थापाको भनाइ छ । यसअघि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले हाइड्रोजन यातयातलाई प्रमोट गर्नुपर्ने बताउँदै आफु हाइड्रोजन चड्ने बताएका थिए । यससँगै प्रधानमन्त्रीले हाइड्रोजन गाडि चड्छु भन्ने कुरा उनकै कार्यकालमा सफल बन्ने देखिएको छ ।