एभरेष्ट दैनिक

मलेसियामा श्रमिकको न्यूनतम तलब १७ सय रिंगेट

काठमाडौँ  ।मलेसियाले आफ्नो नागरिकसरह नेपालीसहित विदेशी श्रमिकका लागि न्यूनतम तलब १७ सय रिंगेट (करिब ५३ हजार रुपैयाँ) निर्धारण गरेको छ । मलेसियन प्रधानमन्त्री तथा अर्थमन्त्री अनवर इब्राहिमले शुक्रबार संसद्मा आगामी आर्थिक वर्ष (२०२५) को बजेट पेस गर्दै श्रमिकको न्यूनतम तलब बढाएको घोषणा गरेका हुन् । यो तलबमान आउँदो फेब्रुअरी १ देखि कार्यान्वयनमा आउनेछ ।  यसअघि मलेसियामा श्रमिकको न्यूनतम तलब १५ सय रिंगेट (४७ हजार रुपैयाँ) कायम गरिएको थियो । मलेसियाले नयाँ तलब दुई वर्षपछि बढाएको हो । बढेको तलब घरेलु श्रमिकबाहेक सबै क्षेत्रमा लागू हुने प्रधानमन्त्री इब्राहिमको भनाइ छ । मलेसियाको न्य्नूतम पारिश्रमिक नीतिअनुसार राष्ट्रियताका आधारमा कुनै पनि श्रमिकले पाउने न्यूनतम तलबमा भेदभाव गर्न पाइँदैन । यो सन् १९९७ मा जारी भएको अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ) को समान पारिश्रमिक महासन्धि (१००) अनुसार मिल्दोजुल्दो छ । मलेसियाको रोजगार ऐनले पनि स्थानीय र विदेशी श्रमिकबीच कुनै पनि प्रकारको भेदभावलाई निषेध गरेको छ । नयाँ तलबमान कार्यान्वयनमा आए न्यून तलबमा श्रम गर्न जाने नेपाली श्रमिकलाई सबैभन्दा बढी तलब दिने मुलुक मलेसिया बन्नेछ । अहिले मलेसियामा रहेको आप्रवासी श्रमिकको संख्यामा नेपाली तेस्रो स्थान (१६.१७ प्रतिशत) मा पर्छन् । यहाँ तीन लाख ९९ हजार ६ सय १४ जना नेपाली कार्यरत छन् । जसमा १० हजार ९ सय ५७ जना महिला छन् ।