एभरेष्ट दैनिक

माओवादीको मुख्य नेतृत्वले ७७ वटै जिल्लामा जनता र कार्यकर्तासँग अन्तरक्रिया गर्ने

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अब पार्टीको मूल नेतृत्व जनतामाझ जाने बताएका छन् ।आज बिहान खुमलटारस्थित निवासमा वाईसीएलका नेता-कार्यकर्ताहरुसँगको भेटमा ‘प्रचण्ड’ले जनताको बलमा मात्रै सुशासन र समृद्धिको लडाई लड्न सकिने धारणा राखेका हुन् । भ्रष्टाचार विरुद्ध लड्दालड्दै सरकारबाट हटाएको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले जनताका पक्षमा दृढताका साथ लड्न पार्टीलाई सुदृढ बनाउनुपर्ने बताएका हुन् । आफू नेतृत्वको सरकारले भ्रष्टाचारका ठूला फाइल खोल्दै जाँदा त्यो मन नपराउनेहरुले सरकारविरुद्ध षडयन्त्र गरेको उनको भनाइ छ। ‘मेरो नेतृत्वको सरकारले सुशासनको पक्षमा राम्रो काम गर्दै आएको थियो तर कतिपयलाई त्यो मन परिरहेको थिएन। त्यसैले सरकार गिराइयो,’ ‘प्रचण्ड’को भनाइ उद्धृत गर्दै वाईसीएलका अध्यक्ष सुवोध सेर्पालीले भने, ‘राम्रो काम गर्दागर्दै सरकारबाट हटाइए पनि सुशासनको पक्षमा लागिरहन्छौँ।’ आफू नेतृत्वको सरकारले जनपक्षीय काम गरेको बताउँदै ‘प्रचण्ड’ले त्यसको मूल्यांकन जनताले गरेको बताए । उनले पार्टी सुदृडिकरण गर्न र जनतामाझ रहेर सुशासन र समृद्धिको पक्षमा सरकारलाई खबरदारी गर्न पार्टी जनतामा जान जरुरी रहेको भन्दै अब मुख्य नेतृत्व ७७ वटै जिल्ला पुगेर जनतासँग अन्तरक्रिया गर्ने बताए । अध्यक्ष प्रचण्डले भने 'अब पार्टीलाई सुदृढ गर्ने अभियानमा जान्छौं र जनताको माझमा रहेर पार्टी बनाउँने अभियानमा लाग्छौं । माओवादी केन्द्रको मूल नेतृत्व नै ७७ वटै जिल्लामा जाने र जनता कार्यकर्ता र सुवेच्छुकहरुसँग परामर्श गर्दै पार्टीलाई सुदृढ गर्छौं।' सो अवसरमा अध्यक्ष ‘प्रचण्ड’ले सरकारले गरेका राम्रा कामबारे कार्यकर्ता र जनतालाई बुझाउने काममा भूमिका खेल्न युवाहरूलाई आह्वान गरे।