एभरेष्ट दैनिक

आइसिसी टिट्वेन्टी विश्वकप छनोटमा नेपाल आज कतारसँग भिड्दै

काठमाडौं । ओमानमा जारी ICC T20 विश्वकप एसिया र EAP छनोटमा नेपालले आज कतारसँग खेल्नेछ। ओमान क्रिकेट एकेडेमीमा सोमबार राति ८:४५ बजे नेपाल र कतारबीचको खेल हुनेछ। नेपालले सुपर-६ को दोस्रो खेल खेल्न लागेको हो। पहिलो खेलमा नेपालले आइतबार चिरपरिचित प्रतिद्वन्द्वी संयुक्त अरब इमिरेट्स (UAE) सँग खेलेको थियो। खेलमा नेपालले एक रनको रोमाञ्चक जित निकालेको थियो। समूह चरणको अन्तिम खेलमा जापानलाई पराजित गर्दै सुपर(६ मा छनोट हुँदा २ अंक बटुलेको नेपालको खातामा UAE सँगको जितसँगै ४ अंक भएको छ। UAE विरुद्धको जितसँगै नेपालको विश्वकपमा छनोट हुने सम्भावना बलियो बनेको छ। शीर्ष स्थानको ओमानको पनि ४ अंक नै छ। अब दोस्रो खेलमा नेपालले कतारसँग सोमबार खेल्दा तेस्रो खेलमा बुधबार घरेलु टोली ओमानसँग प्रतिस्पर्धा गर्नेछ। अन्तिम खेलमा नेपालले सामोआसँग शुक्रबार प्रतिस्पर्धा गर्नेछ। सुपर(६ का शीर्ष तीन टोलीले आगामी वर्षको फेब्रुअरी-मार्चमा भारत र श्रीलंकामा हुने ICC T20 विश्वकप २०२६ मा स्थान पक्का गर्नेछन्। शीर्ष तीन टोलीमा परेमा नेपाली टोली लगातार दोस्रो पटक र समग्रमा तेस्रो पटक ICC T20 कपमा छनोट हुनेछ।